BIZMANDU
www.bizmandu.com

वर्ल्डकप फिभर: हाइटेक र ठूला स्क्रिन उपभोक्ताको रोजाइमा, ३२ इन्चमाथिका टिभी दोब्बर बिक्री


वर्ल्डकप फिभर: हाइटेक र ठूला स्क्रिन उपभोक्ताको रोजाइमा, ३२ इन्चमाथिका टिभी दोब्बर बिक्री
वर्ल्डकप फिभर: हाइटेक र ठूला स्क्रिन उपभोक्ताको रोजाइमा, ३२ इन्चमाथिका टिभी दोब्बर बिक्री


काठमाडौं। वर्ल्डकप नजिकिँदै गर्दा ठूला स्क्रिनका टेलिभिजन सेट किन्नेहरु बढेका छन्। वर्ल्डकप सुरु हुनु हप्ता दिन बाँकी रहँदा फुटबलप्रेमीहरु ठूला टेलिभिजन सेट किन्ने हतारोमा छन्।

Tata
GBIME
Nepal Life

महाबौद्धमा टेलिभिजनबारे बुझ्न आउनेहरु ह्वात्तै बढेको  सिल्भर शो इम्पेक्सका विक्रेता अमरलाल शाक्यले बताए।‘उपभोक्ताहरु  ठूला स्क्रिन र एलइडी टेलिभिजन किन्न आइरहेका छन्।’-उनले भने।

चाइनिज टेलिभिजनमा रोआ, ब्राण्डेड टेलिभिजनमा एलजी, सामसुङ, सोनी लगायतका विभिन्न ब्राण्डका टेलिभिजनको इन्च अनुसारको मूल्य १५ हजार रुपैयाँदेखि ७२ हजार माथी रहेको उनले जानकारी दिए। पहिलाको तुलनामा ग्राहकले अहिले सस्तो दरमा टेलिभिजन पाइरहेकाले पनि किन्नेहरु बढेको उनको भनाई छ।  

अघिपछिको तुलनामा टेलिभिजनको ब्यापार निकै राम्रो भएको  शर्मिला इरन्टरप्राइजेजकी विक्रेता शर्मीला श्रेष्ठले बताइन्। 'अघिपछि आठवटा टेलिभिजन बिक्री हुन्थ्यो, आजभोलि दैनिक १६ वटा टेलिभिजन बिक्री हुँदै आएको छ।'-उनले भनिन्। विश्वकप हेर्नकै लागि  ग्राहकले ३२ इन्च देखि माथिका टेलिभिजन खरिद  गर्न आएको उनले जानकारी दिइन्।

बजारमा स्काइ वर्थ, पानासोनिक, सोनी, सामसुङ लगायत ब्राण्डका टेलिभिजन १६ हजार रुपैयाँदेखि एक लाख २५ हजारसम्म पर्ने उनले जानकारी दिइन्। उनका अनुसार ३२ इन्चको स्काइवर्थ टेलिभिजनको मूल्य २५ हजार रहेको छ भने ५५ इन्चको स्काइवर्थ टेलिभिजनको मूल्य ९५ हजार रुपैयाँ रहेको छ। टेलिभिजन खरिद गर्दा ग्राहकले १५ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट पाउनसक्ने उनले बताइन्।

विश्वकपकै लागि भनेर ३२ इन्च , ४० इन्च र ५५ इन्चका टेलिभिजन  दैनिक आठवटासम्म बिक्री भइरहेको खाँडादेवी इलेक्ट्रोनिक्सका बिक्रेता प्रदीप श्रेष्ठले बताए। टिसिएल, सामसुङ, हिमस्टार लगायतका ब्राण्डका टेलिभिजन बढी बिक्री हुँदै आएको उनले जानकारी दिए।

ग्राहकले विश्वकप हेर्नकालागि हाइटेक टेलिभिजन बढी खरिद गर्ने गरेको एवन एलेक्ट्रोनिक्सका विक्रेता उमेश गिरीको अनुभव छ।  उनका अनुसार विश्वकप नजिकिँदै गर्दा टेलिभिजनका साथै प्रोजेक्टरको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ। आठ हजार पाँच सय रुपैयाँदेखि ४५ हजारसम्म मूल्यका प्रोजेक्टर दैनिक तीनवटा बिक्री हुने गरेको बारे उनले बताए।
 

आर वन इलेक्ट्रोनिक्समा ४९इन्च, ५० इन्च र ६५ इन्चका सिजी, सामसुङ, यासुदा , एलजी लगायतका ब्राण्डका टिभीको माग बढेको बिक्रेता राजेश गौतमले जानकारी दिए। अघिपछि दशवटासम्म टेलिभिजन बिक्री भइरहेकोमा विश्वकपकै कारण दैनिक २०वटा सम्म ३२ इन्च माथीका टिभी बिक्री भइरहेको उनले जानकारी दिए।

दैनिक आठ देखि १०वटा हाइसेन्स टिभी बिक्री भइरहेको  बरुण ट्रेडर्सका बिक्रेता लिशन वरुणले बताए।  हाइसेन्स फिफा वर्ल्डकप २०१८ प्रायोजन गर्ने टिभी कम्पनी हो।  

२० इन्च देखि ६५ इन्च सम्मको हाइसेन्सको मूल्य १३ हजार नौ सय रुपैयाँदेखि एक लाख ६७ हजार रुपैयाँसम्म रहेको उनले जानकारी दिए। उनका अनुसार यो मुल्य वर्ल्डकप अफर अन्तर्गत रहेको  र वर्ल्डकप अवधिभर लागू हुनेछ।

वर्ल्ड कपको समयमा हरेक टिभीको खरिदमा ग्राहकले एक वर्षको वारेण्टीका साथै थप दुई वर्षको फ्रि सर्भिसको सुविधा समेत दिएको बिक्रेताले जनाएका छन्।