BIZMANDU
www.bizmandu.com

गलैँचा बुन्न सिक्दै सर्लाहीका महिला, घरमै बसी कमाउने सीपले बिपन्न बर्ग आत्मनिर्भर बन्दै

२०७५ जेठ २४

वीरगंज।साना व्यवसाय,परामर्श तथा तालिम केन्द्र श्रीपुर वीरगंजले  तीन महिने गलैँचा बुनकर तालिम सञ्चालन गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालय ईभेन्ट परियोजना अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १६ परवानीपुरको तीनघरे र बागमती नगरपालिकामा ४० जना गरी १०० जनाको लागि तालिम आयोजना भएको हो ।

Tata
GBIME
Nepal Life

केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तवका अनुसार तीनघरे टोलमा २०/२० जनाको तीन वटा समुह बनाई वैशाख ५ गते देखि घरमै बसेर फुर्सदको समयलाई सदुपयोग गर्ने गरी विहान १० बजे देखि ४ बजेसम्म विपन्न वर्गका महिलाहरुको लागि यस्तो तालिम आयोजना भएको हो ।

विपन्न वस्ती तीनघरेमा दलित, जनजाती तथा पिछडिएका महिलाहरुको छनौट गरी शुरु गरिएको तालिममा उत्साहप्रद सहभागीता रहेको प्रशिक्षक शेर बहादुर योञ्जनले बताए । अन्तराष्ट्रिय स्तरमा नेपाली गलैँचाको माग दिनप्रतिदिन बढदै जाँदा विपन्न महिलाहरुलाई आत्मविश्वासी र स्वरोजगार बनाउन तालिमको उदेश्य रहेको उनले बताए ।

उनले करिब अढाई महिना तालिम सकेको र अबको १५ दिनपछि महिलाहरुले गलैँचा बुन्ने अर्डर पाउने बताए । शुरुमा कठिन लागेको तालिम सिक्दै जाँदा गलैँचा बुन्ने काम सहज लाग्न थालेको सहभागी खिल कुमारी कार्कीले बताइन्।

घरपरिवारमा आम्दानी बढाउन र छोराछोरी पढाउँदै केही गर्ने सोचले तालिममा सहभागी भएको उनको भनाई छ । गलैँचा बुन्ने सीप सिकेर १५ दिनमा ९ हजार मज्जाले कमाउन सकिने प्रशिक्षकको योञ्जनले प्रष्ट पारे ।

९० सेन्टिमिटर चौडा  र २ सय सेन्टिमिटर लम्बाईको १ पिस गलैँचाको नेपालमा ९ हजार ज्यालादारी पाउँछ, एक पिस गलैँचा बुन्न करिब १५ दिन लाग्छ,उनले भने ।

गलैँचा उद्योगले घरमै बुनेको गलैँचा खरिद गर्ने गरेकोले बजारको झन्झट पनि नरहेको उनले बताए । गलैँचा बुन्ने मेशिन, औजार तथा कच्चा पदार्थ सबै गलैँचा उद्योगहरुले सम्झौता अनुसार नै उपलब्ध गराउने गर्छ ।

यसैबीच, तीनघरेमा संस्थाले २० जनाको लागि सिलाईकटाई तालिम पनि सञ्चालन गरेको बताएको छ।सिलाई कटाई तालिमबाट पनि ग्रामीण भेगका महिलाहरुलाई आत्मनिर्भर एवं स्वरोजगार बनाउने संस्थाको लक्ष्य छ ।