BIZMANDU
www.bizmandu.com

​विमानस्थल कुकुरकाण्ड : ब्यारेकहुँदै कुकुर रनवेमा पुगेको खुलेपछि सेनालार्इ सचेत गरार्इयो

२०७३ माघ ३

काठमाडौं । क्लोज सर्कटिट टेलिभिजन (सिसीटिभी) को फुटेजमा डोमेस्टिक एयरपोर्टको रनवे नजिकै रहेको नेपाली सेनाको व्यारेकको गेटवाट कुकुर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेमा छिरेको खुलेपछि विमानस्थल कार्यालयले आइन्दा यस्तो नहोस् भन्दै सेनालाई सचेत गराएको छ।
 

आइतबार रनवेमा तीन वटा कुकुर आउँदा ३ सय ४० यात्रु बोकेको एयर एसियाको जहाज झन्डै दुर्घटनामा परेको थियो। ‌जहाजलाई कोटेश्वरमाथीबाट ओभरसुट गराएर दुर्घटनाबाट जोगाइएको थियो।
 
एयर एसियाको डी ७१९२ नम्बरको जहाजलाई आपतकालीन  ओभरसुट गरेर ३९ मिनेट आकाशमा होल्ड गरिएको थियो। जहाज कोटेश्वर नजिकै आइपुग्दा कुकुर देखिएपछि विमानस्थलको टावरले आकाशतिर मोडिएको थियो।
 
विमानस्थल कार्यालयले घटनाको कारण पहिल्याउन सिसिटिभीको फुटेज झिकाएर अनुसन्धान गर्दा कुकुर सेनाको ब्यारेकको ढोकाबाट रनवेमा पुगेको देखिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
 
विमास्थलको रनवेमा कहिले बाँदर त कहिले चरा पुग्दा समस्या आएपछि रोक्न सिकारीको समेत व्यवस्था गरेको थियो । ठाकुरका अनुसार विमानस्थलको वरिवरी बस्ने सिकारिले राम्रोसँग काम नगर्दा समस्या आएको देखिएको छ।
 
'नेपाली सेनालाई सचेत गराउँदै कुकुर छिर्न नदिन भनेका छौं' ठाकुरले भने 'विमानस्थलमा रहेका सिकारीले राम्रोसँग काम नगरेका कारण यो समस्या आएको हो।'
 
उक्त स्थान वरपरवाट कुकुर छिरेपछि फेरि यस्ता समस्या आइलाग्ने भन्दै सुरक्षा अवस्थालाई कडा बनाएको उनले बताए।
 
अनुसार सो घटनामा अहिलेसम्म कसैलाई कार्वाहि गरिएको छैन। सबै कर्मचारीलाई सचेत गराएको र फेरि यस्ता घटना दोहोरिए कार्वाहिको दायरामा ल्याउने उनले बताए।
 
एयरपोर्टको रनवेमा कहिले पिच उप्किने त कहिले चराचुरुङ्गीले अवरोध गर्ने गरेका छन्। विमानस्थलको यस प्रकारको लापरवाहिले विदेशी एयरलाइन्स तथा यात्रुको सुरक्षा बारम्बार जोखिममा पर्ने गरेको एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाल (एओएएन) का महासचिव मनोज कार्कीले बताए।
 
देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको यस्तो हालतले नेपालको युरोपियन युनियनको कालोसूचिबाट हट्ने योजनामा बाधा पर्ने उनले बताए।
 

Tata
GBIME
Nepal Life