BIZMANDU
www.bizmandu.com

आम्दानीको २० प्रतिशत लिने गरी सिंहले रोयल सबलिज गरे, कम्पनी भारतीय समूहको जिम्मा

२०७० भदौ ५

काठमाडौं । ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहले रोयल क्यासिनो ‘सब लिजमा’ दिएका छन् । याक एन्ड यतिमा रहेको क्यासिनो व्यवस्थापन गर्न नसकेपछि ‘सब लिज’मा दिएका हुन् । क्यासिनो उच्च स्रोतका अनुसार भारतीय नागरिक राकेश जैनले सब लिजमा लिएका हुन् ।

‘सब लिजमा लिने सम्झौंता भइसकेको छ, जैन समूहले व्यवस्थापन हेर्न थालिसकेको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार क्यासिनोबाट आउने आम्दानीको बीस प्रतिशत सिंहले पाउनेछन् भने ८० प्रतिशत जैन समूहले पाउने तय भएको छ । जैन समूहको नेतृत्व गरेर मनोज सुवेदी आएका छन् । सुवेदी ह्यात होटलमा रहेको तारा क्यासिनोका पूर्व महाप्रवन्धक हुन् ।
व्यवस्थापन राम्रोसँग नहेरेका कारण सिंहले कर्मचारीको सञ्चय कोषमा कट्टी गरेको रकम समेत राख्न सकेका थिएनन् । कर्मचारीको सुविधामा ध्यान दिन नसकेकोले अधिकांश कर्मचारी असन्तुष्ट थिए । स्रोतका अनुसार कम्पनीले झन्डै दुई वर्षको सञ्चय कोषको रकम जम्मा गर्न बाँकी छ । क्यासिनोमा आपूर्ती भएको सामानको करोडौ रुपैयाँ भुक्तानी गर्न समेत बाँकी छ ।
‘क्यासिनोमा चाहिने खाद्यान्न लगायतका सबै सामाग्रीको उधारो रकम पनि धेरै छ,’ क्यासिनोका एक कर्मचारीले भने, ‘उधारो रकमले पनि सिंह समस्यामा थिए ।’ नेपालमा रहेका क्यासिनोमध्ये रोयल चल्तीको क्यासिनो मानिन्छ । रोयल क्यासिनोमा अहिले पनि राम्रै कमाई छ । स्रोतका अनुसार औसतमा रोयल क्यासिनोबाट सबै खर्च कटाएर अहिले पनि मासिक न्युनत्तम पनि एक करोड नाफा हुन्छ ।
‘राजबहादुरले व्यवस्थापन गर्न नसकेर मात्रै क्यासिनो समस्यामा परेको हो,’ ती कर्मचारीले भने, ‘राजस्व छल्न पनि क्यासिनोमा कमाई छैन भनेर सञ्चालकहरुले उन्मुक्ती पाउने गरेका छन् ।’ फराकिलो क्षेत्रफल ओगटेको सुविधा सम्पन्न क्यासिनो भएकोले पनि रोयललाई विदेशीले रुचाउँथे । क्यासिनोमा ६ सय कर्मचारी कार्यरत छन् । सरकारले क्यासिनोमा नेपालीलाई प्रवेशमा कडाई गरेपछि क्रमश क्यासिनो ओरालो लागेको छ ।
राजबहादुरले दुई वर्ष अघि राधेश्याम सर्राफसँग दश करोड रुपैयाँमा रोयल क्यासिनो खरिद गरेका हुन्,, क्यासिनोमा अहिले दैनिक १५ लाख रुपैयाँको खर्च छ ।

Tata
GBIME
Nepal Life