BIZMANDU
www.bizmandu.com

टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग

२०६९ असार २७

टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग
टुट्यो दोस्ती, छुट्यो पाटर्नरशिप: ४५ करोड नाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट रामेश्वर अलग

काठमाडौं । वार्षिक करिव ४५ करोड रुपैयाँको मुनाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट लगानीकर्ता रामेश्वर थापा बाहिरिने भएका छन् । साढे चार वर्ष अघि कान्तिपुरबाट विनोदराज ज्ञवाली छुट्टिएपछि थापा २४ दशमलव ६ प्रतिशत सेयर हिस्सेदार बन्दै कान्तिपुरमा प्रवेश गरेका थिए ।
थापा बाहिरिने भएपछि अहिले चार्टड एकाउन्टेन्ट बिष्णु कुमार अग्रवालको नेतृत्वमा चार जना चार्टड एकाउण्टेण्टले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिरहेका छन् । थापा र सिरोहिया दुवै जनाले वरिष्ठ अधिवक्ता सुशिल पन्तलाई ‘आरविटेटर’का रुपमा नियुक्त गरेको स्रोतले जानकारी दियो ।
थापा कान्तिपुरबाट बाहिरिएपछि सिरोहियाले पनि सिम्रिक एअरमा भएको आफ्नो २५ प्रतिशत सेयरबाट हात झिक्ने भएका छन्, त्यसैकारण अहिले कान्तिपुरको मात्रै होइन, सिम्रिक एअरको पनि सम्पत्ति र दायित्वको मूल्याङ्कन भैरहेको छ, स्रोतले भन्यो ।
चालु आर्थिक वर्षको हिसाव किताव आउन केही दिन बाँकी छ, यो हिसाव किताव आएको एक सातामा थापा र सिरोहिया छुट्टभिन्न भएको खबर आउनेछ, स्रोतले बतायो । थापा र सिरोहियाको व्याक्तिगत टकरावका कारण कान्तिपुरमा दुईजनावीच केही महिनादेखि मनमुटाव बढेको थियो ।
थापाले कान्तिपुरमा आफू पनि सेयर साझेदार भएको र, केही कर्मचारी नियुक्ति बढुवा र सरुवा गर्न पाउनुपर्ने अधिकार माग्दै आएका थिए । आफ्ना निकटस्थहरुसँग उनी एक चौथाईको सेयरधनी भए पनि आफूले कान्तिपुर रेडियोमा समेत एक जनालाई समेत सरुवा गर्न नसक्ने अवस्थामा छु भन्थे । उता सिरोहिया भने थापाजी राम्रो मान्छे हो तर उहाँले कान्तिपुरको ब्राण्डलाई ‘मिस युज’ गर्नुभयो भन्ने आरोप लगाउँथे ।
कान्तिपुर अहिले नेपालको सबैभन्दा ठूलो र बढी मुनाफा गर्ने कम्पनी हो । कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै एक अर्ब ३५ करोड रुपैयाँको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ । यसको अर्थ कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै ४२ देखि ४६ करोड भित्र मुनाफा गर्छ ।
कान्तिपुरको कारोवार नेपाली मिडियामा दोस्रो स्थानका लागि लडिरहेका गोरखापत्र, नागरिक र अन्नपूर्णभन्दा तेब्बर छ । यी तीन ठूला दैनिकको वार्षिक कुल कारोवार ३५ देखि ४० करोड रुपैयाँको हाराहारीमा छ ।
कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँ तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
कान्तिपुरका अहिले एक लाख ४५ हजार ग्राहक छन् भने एक किलो सुन अफरले ८० हजार ग्राहक थपिएका छन् । थापालाई विदा गरेपछि कान्तिपुरमा नयाँ लगानीकर्ता आउने सम्भावना छ । स्रोतका अनुसार सिरोहियाले कान्तिपुर पब्लिकेशनमा पनि लगानी  गर्न गैरआवासिय नेपाली उपेन्द्र महतोलाई आग्रह गरेका थिए । तर महतोले पत्रिकामा लगानी नगर्ने स्पष्ट गरेपछि उनले अर्को लगानीकर्ता खोजिसकेका छन् । तर स्रोतले नयाँ लगानीकर्ताका वारेमा भने स्पष्ट पारेन ।
यसअघि स्थापनाकालदेखिका साझेदार विनोदराज ज्ञवालीले कान्तिपुरबाट ७५ करोड रुपैयाँ लिएर हिंडेका थिए । त्यतिवेला कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरिएको थियो । कानूनी रुपमा भने ज्ञवालीले कान्तिपुरबाट २५ करोड रुपैयाँ मात्र लिएका थिए । २५ करोडमध्ये आठ करोड रुपैयाँ लगानी र १७ करोड रुपैयाँ मुनाफा भन्दै त्यति मात्रको लाभकर तिरेका थिए । थापा कान्तिपुरमा प्रवेश गर्दा ३५ करोड रुपैयाँका हाराहारीमा लगानी गरेका थिए ।

Tata
GBIME
Nepal Life