BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्थापित बर्खास्त, योगेश्वरकृष्णलाई नियुक्त

२०६९ माघ ५

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्थापित बर्खास्त, योगेश्वरकृष्णलाई नियुक्त
काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्थापित बर्खास्त, योगेश्वरकृष्णलाई नियुक्त

काठमाडौँ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितलाई बर्खास्त गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले उनको स्थानमा योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि आयुक्त नियुक्त गरेको छ । स्थापित काठमाडौंको मुहार फेर्ने योजनासहित नौ महिना अघि आयुक्त नियुक्त भएका थिए । तर काठमाडौं महानगरपालिकाको मेयर हुँदा देखाएको छवी पछिल्लो नौ महिनामा देखाउन नसकेपछि उनीदेखि प्रधानमन्त्री असन्तुष्ट थिए ।
सरकारले बिहिवारको मन्त्रिपरिषद् बैठकबाट तनहुँ जलविद्युत् आयोजनाका लागि वार्ता गर्न टोली गठन गरेको छ । त्यसैगरी  मानव अधिकारको उल्लङ्घनको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको रिहाइका लागि सबै उपाय अवलम्बन गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले लामाको रिहाइका लागि कूटनीतिक पहल गर्ने, धरौटीमा रिहा हुने भए धरौटीको व्यवस्था गर्ने तथा बहस पैरवी गर्नुपर्ने भए सोवापत आवश्यक रकम निकासा दिने निर्णय गरेको छ । बैठकले केन्द्रीय तथ्याङ्क विभागबाट सञ्चालन हुने वार्षिक घरपरिवार सर्वेक्षण कार्यक्रममा खटिने कर्मचारीलाई दैनिक रु ५०० का दरले खर्च दिने निर्णय गरेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय मुद्रोकोषले सुन बिक्री गर्दा प्राप्त भएको नाफा सबै देशलाई वितरण गर्ने सन्दर्भमा नेपालको हिस्सामा परेको दुई लाख १० हजार एसडिआर गरिबी निवारण कोषमा राख्न बैठकले सहमति जनाएको छ । सरकारले सिङ्गापुरका लागि अवैतनिक वाणिज्यदूत एमएन सोनीलाई सेवामुक्त गरी सो स्थानमा मधुसूदन मुल्जीभाइ पटेललाई नियुक्ति गरिएको छ भने थाइल्यान्डको फुकेट सहरका लागि थाइ नागरिक प्रानी साकुलपिपाटोनालाई अवैतानिक वाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गरिएको छ ।

Tata
GBIME
Nepal Life