BIZMANDU
www.bizmandu.com

राजनीतिको गोलचक्करमा नेप्से, कृषि बैंकको सेयरले बजारलाई तल झर्नबाट बचायो

२०६९ माघ २

राजनीतिको गोलचक्करमा नेप्से, कृषि बैंकको सेयरले बजारलाई तल झर्नबाट बचायो
राजनीतिको गोलचक्करमा नेप्से, कृषि बैंकको सेयरले बजारलाई तल झर्नबाट बचायो

काठमाडौं । राजनीतिको अन्यौलमा मंगलवार नेप्से सूचक पनि अल्मलियो, बजार खुलेको केही समय माथि चढेको नेप्से सूचक मध्यान्तरमा तल झरेको थियो, तर बजार हरिया बत्तीसहित बन्द भयो । साधरणसभा पछि आधा दर्जन बैंकमा नयाँ सञ्चालकहरु चयन भएका छन्, त्यसको प्रभाव बैंकिङ्ग समूहको सूचकमा पर्यो । ग्लोबल आइएमई, माछापुच्छे्र्र बैंकको सेयर मूल्य मंगलवार माथि चढ्यो । पुँजीका आधारमा देशको सबैभन्दा ठूलो बाणिज्य बैंक कृषि विकासमा नयाँ रणनीतिक साझेदार ल्याउने खबरले पनि नेप्सेलाई माथि लैजान ठूलो मद्दत गर्यो ।
मंगलवार कृषि विकास बैंकको सेयरमा ठूलो वृद्धि भएपछि त्यसको असर समेत बैकिङ्ग सूचकमा पर्यो । मंगलवार बैकिङ्ग सूचक २.३१ अंकले माथि चढ्यो । नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्यमा पनि ठूलो वृद्धि भयो । यसले इन्सुरेन्स समूहको सूचक ८.९६ अंकले माथि चढ्यो । नेपाल टेलिकमको सेयर मूल्य तल झरेपछि अन्य समूहको सूचक ५.८७ अंकले तल झरेर बजार बन्द भयो ।
मंगलवार कृषि विकास बैंकको सेयर २४ रुपैयाँले बढ्यो , यसअघि प्रतिकित्ता २४० मा कारोवार भएको कृषिको सेयर १० प्रतिशतले वृद्धि भएर २६४ रुपैयाँमा पुग्यो । कृषि विकास बैंकमा सरकारको सेयर कम गरेर विदेशी रणनीतिक साझेदार ल्याउने खबरले यो साता बजार तातेको थियो ।
एशियन लाइफ इन्सुरेन्सको सेयर मूल्य मंगलवार १५ रुपैयाँले झरेर २४० मा कारोवार भयो भने विश्व विकास बैंकको नौ रुपैयाँले घटेर १४१ मा र सिटि डेभलपमेन्ट बैंकको नौ रुपैयाँले नै बढेर १७२ रुपैयाँमा कारोवार भयो । नागरिक लगानी कोषको सेयरमा मंगलवार ठूलै झट्का लाग्यो, प्रतिकित्ता १६०२ रुपैयाँ पुगेको कोषको सेयर १६० रुपैयाँले घटेर १४४२ मा कारोवार भयो । डिप्रोक्स विकास बैंकको सेयर पनि १२ रुपैयाँ घटेर ३२२ मा र एभरेष्ट बैंक २० रुपैयाँ बढेर १४०० मा कारोवार भयो ।
आगामी आर्थिक वर्षभित्र दश ठूला बाणिज्य बैंकका रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा रहेको ग्लोबल बैंकको सेयर मंगलवार २६ रुपैयाँले बढेर प्रतिकित्ता ४२६ रुपैयाँमा कारोवार भयो । हिमालयन बैंकको भने १० रुपैयाँ घटेर ७९० मा कारोवार भयो । माछापुच्छ्रे बैंकको सेयर पनि मंगलवार ११ रुपैयाँ बढेर कारोवार भयो । सोमवार बैंक व्यवस्थापनले दोस्रो त्रैमासको अन्तिमसम्म बैंकले २५ करोड रुपैयाँ मुनाफा गरिसकेको सार्वजनिक गरेको थियो ।
नेपाल बैंकको सेयर जुन रफ्तारमा बढेको थियो त्यही रफ्तारमा झर्ने क्रम मंगलवार पनि जारी रह्यो । बैंकको मंगलवार ५० रुपैयाँले सेयर मूल्य तल झरेपछि प्रतिकित्ता ९५० मा कारोवार भयो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य १६ रुपैयाँले बढ्यो । बैंकको प्रतिकित्ता ८३० पुगेको छ, गत साता बैंकले साधरणसभाबाट लघुवित्त बैंकको कारोवार लगायतका थुप्रै कारोवार गर्ने घोषणा गरेको थियो । नेरुडे लघुवित्त संस्थाको बुक क्लोजका कारण सेयर ७५ रुपैयाँले तल झरेर ३१५ मा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्सको सेयरमा मंगलवार उछाल आयो । इन्सुरेन्सको सेयर ११२ रुपैयाँले बढेर प्रतिकित्ता १६३२ मा कारोवार भयो । इन्सुरेन्सले बीमा समितिलाई ५० प्रतिशत बोनस सेयर र शत प्रतिशत लाभांस वितरणको सिफारिश गरेको छ । अधिकांश ठूला इन्सुरेन्सले लाभांस घोषणा गरिसके पनि नेपाल लाइफको लाभांस घोषणा गर्न बाँकी छ ।
नेपाल एसबीआईको सेयर मूल्य ११ रुपैयाँले बढेर ८६२ मा कारोवार भयो भने स्ट्याण्डर्ड चार्टड बैंकको १२ रुपैयाँले घटेर २०५३ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life