BIZMANDU
www.bizmandu.com

तल्लो हेवा खोला जलविद्युत अबको वर्ष दिनमा निर्माण हुने, नाकावन्दीले लागत २० करोड बढ्यो

२०७३ साउन २२

तल्लो हेवा खोला जलविद्युत अबको वर्ष दिनमा निर्माण हुने, नाकावन्दीले लागत २० करोड बढ्यो
तल्लो हेवा खोला जलविद्युत अबको वर्ष दिनमा निर्माण हुने, नाकावन्दीले लागत २० करोड बढ्यो

काठमाडौं । अवरोध नआए पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेवा खोलामा निर्माणधिन तल्लो हेवा जलविद्युत आयोजनाको निर्माण एक वर्ष भित्र सकिने भएको छ।

Tata
GBIME
Nepal Life

विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण आयोजना प्रभावित भएको आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोका अध्यक्ष सिताराम तिम्सिनाले बताए।  
 
त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा भदौदेखि बन्द भएको आयोजनाको काम फागुनदेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताए। 
 
२०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य थियो। हाल पाँच हजार ३०० मिटर टनेलमध्ये चार हजार मिटर टनेल निमार्ण भैसकेको छ। बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्ण सम्पन्न गर्ने कम्पनीको योजना छ। 

काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने अध्यक्ष तिम्सिनाले जानकारी दिए। प्राइम बैंकको ऋण र माउन्टेन हाइड्रो नेपालको इक्वीटी लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । कम्पनीले सुरुमा  तीन अर्ब ६६ करोड लगानी लाग्ने प्रक्षेपण गरे पनि भुकम्प र नाकावन्दीले आयोजनाको लागत २० करोड बढ्ने भएको छ। 
 
आयोजनाको काम सुरु हुनुभन्दा अगाडि कम्पनीले स्थानीयवासीसँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसार सिँचाइ, पिउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयवासीले आयोजनाको काममा अवरोध पुर्याउँदै आएका छन्। 
 
आयोजना निर्माणको क्रममा फिदिम–४, स्थित डाँडा सामुदायिक वन, फिदिम– ५, स्थित देउराली सामुदायिक वन र स्थानीयवासीको गरी १२ हेक्टर जग्गा अतिक्रमण भएको छ । 
 
कम्पनीले उक्त जग्गाको मुआब्जा अझै पनि उपलब्ध नगराएको स्थानीय सरोकार समितिका अध्यक्ष प्रेमप्रसाद लिम्बूले बताए। रासस