.JPG)
काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् । बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा पाउने छन् ।
कोषले निर्माण लागत बढेको भन्दै कर्जा रकमको सीमा बढाउँदै भुकम्प प्रभावित सञ्चयकर्तालाई सवा सात प्रतिशत ब्याजमै घर निर्माण कर्जा उपलब्ध गराउने भएको छ ।
'अहिले घर निर्माण तथा मर्मतको लागत बढेको छ । पुरानो ऋणको सीमाले मात्र पुग्ने अवस्था छैन' कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले बिजमाण्डूसँग भने, 'त्यही भएर यसपाली कर्जा रकमको सीमा बढाएर भुकम्प पीडित सञ्चयकर्तालाई पनि सहुलियत दिन खोजिएको हो ।' कोषको स्किम साउनबाटै लागू हुने छ ।
साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाइएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर १५ बर्ष पुर्याएको छ । यो हिसावले अब एक अधिकृतस्तरको सरकारी कर्मचारीले (अहिलेको तलव ३१४८८ रुपैयाँ) घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८४० रुपैयाँ ऋण पाउने छ ।
अहिले घर निर्माण तथा मर्मतको लागत बढेको छ । पुरानो ऋणको सीमाले मात्र पुग्ने अवस्था छैन । त्यही भएर यसपाली कर्जा रकमको सीमा बढाएर भुकम्प पीडित सञ्चयकर्तालाई पनि सहुलियत दिन खोजिएको हो । कोषको स्किम साउनबाटै लागू हुने छ ।
—
कृष्णप्रसाद आचार्य
—
यसअघि यति नै तलव हुने कर्मचारीले बढिमा ४५ लाख १९ हजार ८७२ रुपैयाँ कर्जा पाउँथ्यो । कोषको सञ्चयकर्ता रहेको निजी क्षेत्रको कर्मचारीले पनि यो सुविधा पाउने छ ।
कोषले घर कर्जा वढीमा एक करोड रुपैयाँ मात्र उपलब्ध गराउने छ । यो सुविधा नियमित एक बर्ष कोषकट्टी भएको र दुई बर्ष सेवा अवधि बाँकी रहेका सञ्चयकर्ताले पाउने छन् । यसअघि नियमित दुई बर्ष कोषकट्टी भएका सञ्चयकर्ताले मात्रै ऋण लिन पाउने व्यवस्था थियो ।
'कर्जा लिने प्रकृया पनि निकै सरल बनाएका छौं । सञ्चयकर्ताले आफूले पायक पर्ने शाखा कार्यालयबाट ऋण पाउने छ' आचार्यले भने ।
कोषमा कुल पाँच लाख २५ हजार सञ्चयकर्ता छन् । यसमध्ये एक लाख २५ हजार निजी क्षेत्रका कर्मचारीहरु छन् । बढिमा २० बर्षसम्म पाइने यो कर्जा अवकाश हुनुअघि भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
सरकारी कर्मचारी तह |
पाउने कर्जा |
कार्यालय सहयोगी |
प्रथम स्तर |
३१ लाख ५०० |
द्वितीय स्तर |
३२ लाख ७८ हजार ५२० |
तृतीय स्तर |
३४ लाख ७७ हजार २४० |
चतुर्थ स्तर |
३७ लाख ७८ हजार २० |
पाँचौं स्तर |
४१ लाख ६३ हजार ४०० |
राजपत्र अनंकित |
राप अन द्वितीय |
४१ लाख ४० हजार |
राप अन द्वितीय (अ मा) |
४३ लाख १२ हजार ६२० |
राप अन प्रथम |
४४ लाख ८ हजार ९२० |
राप अन प्रथम (अ मा) |
४७ लाख ९९ हजार ८८० |
राजपत्रांकित |
राप तृतीय |
५६ लाख ६७ हजार ८४० |
राप द्वितीय |
६३ लाख ३६ हजार १८० |
राप प्रथम |
७४ लाख ५ हजार २०० |
ब.सचिव (पेन्सन प्रयोजन) |
७८ लाख ९५ हजार ८८० |
राप विशिष्ट सचिव |
९४ लाख ३२ हजार |
मुख्य सचिव |
१ करोड |
कोषले भुकम्प तथा अन्य कारणले क्षति पुगेका घर मर्मत संभार, कम्पाउन्ड वाल निर्माण तथा आन्तरिक सजावटका लागि समेत ऋण दिने स्किम ल्याएको छ । यसको ब्याज दर ८.२५ प्रतिशत छ । यस्तो कर्जा पाँच बर्षको तलव वरावर वा वढीमा २५ लाख रुपैयाँसम्म पाइने छ ।
भुकम्प प्रभावित सञ्चयकर्ताले भने सवा सात प्रतिशत ब्याजमै यस्तो कर्जा पाउने छन् । भुकम्प प्रभावितहरुले पनि मर्मत संभार र सवलीकरणका लागि यस्तो कर्जा उपयोग गर्न पाउने आचार्यले जानकारी दिए ।
मासिक रुपमा ठूलो रकम जम्मा हुने र बैंकमा पनि निक्षेपको ब्याज दर घटिरहेका बेला कोषले भुकम्प पीडित सञ्चयकर्तासमेतलाई समेटेर कर्जा स्किम ल्याएको हो । अहिले बैंकले संस्थागत निक्षेपकर्तालाई बढिमा साढे पाँच प्रतिशतसम्म ब्याज दिन्छ ।
नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको बचत कुल निक्षेपको ५० प्रतिशतभन्दा वढि राख्न नपाइने ब्यवस्था गरेपछि थप ब्याज दर घट्ने छ । यसबाट सञ्चय कोषजस्ता संस्थागत निक्षेपकर्ताको आम्दानी थप घट्ने देखिन्छ । त्यही भएर पनि सञ्चय कोषले रणनीतिक हिसावले कर्जा सीमा बढाउँदै भुकम्प पीडित सञ्चयकर्तालाई समेत समेटेको हो ।