BIZMANDU
www.bizmandu.com

चन्दा नदिएपछि नेकपा–माओवादीले एन्डेक्समा तोडफोड, १५ लाख रुपैयाँको क्षति

२०६९ पुष २०

चन्दा नदिएपछि नेकपा–माओवादीले एन्डेक्समा तोडफोड, १५ लाख रुपैयाँको क्षति
चन्दा नदिएपछि नेकपा–माओवादीले एन्डेक्समा तोडफोड, १५ लाख रुपैयाँको क्षति


काठमाडौं । महाधिवेशनका लागि चन्दा नदिएपछि नेकपा–माओवादीका कार्यकर्ताले तिनकुनेमा रहेको नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेड(एन्डेक्स) तोडफोड गरेका छन् । विहान ११ बजे झन्डै दस जनाको समूहले कर्पोरेट टावरको सातौं तल्लामा रहेको कार्यालय तोडफोड गरेका थिए । उनीहरुले कार्यालयमा रहेका सुरक्षा गार्डलाई दुव्र्यवहार गर्दै तोडफोड गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानले बताए ।
‘म सँग २५ लाख रुपैयाँ चन्दा मागेका थिए । अहिले व्यवसायनै राम्रो नभएको बेला चन्दा दिन सकिदैन भनेको थिए,’ उनले भने, ‘चन्दा नदिएकैले आक्रमण भएको हो ।’ तोडफोड गर्न आएका समूहले नेकपा–माओवादीको पुस २५ गतेदेखि हुने महाधिवेशनको पर्चा समेत छरेर गएका छन् । उनीहरुले रिसेप्सनको डेक्स, टेवुल, मुख्यगेट, ८ वटा कम्प्युटर ९ वटा ढोका लगायतका अन्य भौतिक पूर्वाधार क्षति पु¥याएका छन् । प्रधानका अनुसार प्रारम्भिक रुपमा १५ लाख रुपैयाँ क्षति भएको छ  । आक्रमणकारीले पाँच मिनेट तोडफोड गरेर भागेका थिए । आक्रमणकारीको ना २१ प १६६१ नम्बरको मोटरसाइकलको ब्लुबुक भेटिएको छ । प्रधानले बलको भरमा राजनीति गर्ने समूहलाई चन्दा नदिने बताउँदै त्यस्ता समूहलाई चन्दा नदिन आग्रह गरे ।
‘बलको राजनीति गर्नेलाई चन्दा दिएर बलियो बनाउनुहुँदैन । यसले उनीहरुको मनोबल झ्न बढ्छ,’ उनले भने, ‘बलको आधारमा पैसा कमाउने समूहलाई सबैले बहिस्कार गर्नुपर्छ ।’ कमोडिटी कारोबार गर्ने समूहलाई पछिल्लो समयमा चन्दाको धम्की निरन्तर आउन थालेको छ । धितोपत्र बोर्डले कमोडिटी बजारमा गरेको अध्ययन वाहिर आउन थालेपछि राजनीतिक समूहको निशानामा परेको उनीहरुको ठम्याई छ ।
‘तपाईहरुले जनता ठगिएको कुरा पत्रपत्रिकामा सार्वजनिक भएको छ । ती जनतालाई न्याय दिलाउनको लागि चन्दा चाहियो,’ एक कमोडिटीका सञ्चालकले भने, ‘हामी अहिले सबैभन्दा असुरक्षित भएका छौ ।’ उनका अनुसार सरकारले नियमन नल्याएकोले कमोडिटी व्यवसाय तारोमा परेको हो । कमोडिटी बजारको अनियमितता सार्वजनिक हुनेवितिकै नेपाल कमोडिटी एक्सचेन्ज(कोमेन)मा समेत नेकपा– माओवादीले चन्दा मागेका थिए । चन्दा नदिएपछि माओवादीले कोमेनको कार्यालय तोडफोड गरेको थियो ।

Tata
GBIME
Nepal Life