BIZMANDU
www.bizmandu.com

कम्प्युटर इन्जिनियरको पेशा छाडेर डेरी उद्योगमा, डेरीको आठ शाखा, देशभरी फैलाउने योजना

२०७३ असार १

कम्प्युटर इन्जिनियरको पेशा छाडेर डेरी उद्योगमा, डेरीको आठ शाखा, देशभरी फैलाउने योजना
कम्प्युटर इन्जिनियरको पेशा छाडेर डेरी उद्योगमा, डेरीको आठ शाखा, देशभरी फैलाउने योजना

  • राधेश्याम पटेल/बिजमाण्डू

वीरगंज । मोफसलमा उत्पादित डेरी उत्पादनलाई देशैभर पुर्‍याउने योजना साथ अघि बढेको कलश डेरीको “डेरी हब” को आठौं चेन स्टोर चितवनको पर्सामा सञ्चालनमा ल्याइएको छ ।

कम्प्युटर इन्जिनियर पेशा छोडेर पशुपालन उद्यममा लागेपछि चर्चा पाएका यूवा उद्यमी श्यामवदन यादवले डेरी हब रिटेल चेन स्टोरको अवधारणा ल्याएका हुन् । वर्षदिनभित्रै २६ वटा चेन स्टोर खोल्ने योजनाका साथ अघि बढेको उनले बताए । वीरगन्ज, सीमरा, लालबन्दी, बर्दिवास, जनकपुर र हेटौंडामा यसअघि नै डेरी हब सञ्चालनमा आइ सकेको छ ।

Tata
GBIME
Nepal Life

 तीन वर्षअघि वीरगन्जमा पहिलो डेरी हब सञ्चालनमा ल्याउँदा मोफसलबाट आइसक्रिमको ब्राण्डिङग र कारोबार गर्नु चुनौतीपूर्ण भएको भन्दै उनलाई धेरैले निरुत्साहित पार्ने प्रयास गरेका थिए । व्यवसायप्रतिको लगनशीलता र आत्मविश्वासका कारण अहिले उनको ब्राण्ड र कारोबार दुबै चम्किंदैछ ।

आइसक्रिमका पारखीलाई अन्तर्राष्ट्रिय ब्राण्ड सरहको स्वाद चखाउने उद्देश्यले हामीले डेरी हब ब्राण्डलाई अघि सार्यौ,उद्योगी यादव भन्छन्,शुरुवातका दिनदेखि नै हामीले गुणस्तर र स्वादमा ध्यान केन्द्रित ग¥यौं,उपभोक्ताले मन पराए र अहिले हामी आक्रामक बजार बिस्तारको लक्ष्य सहित अघि बढेका छौं ।

आइसक्रिमसँगै घिउ, दूध, दही, मक्खन, मिठाई र केकलाई डेरी हबमा समावेश गरेर उत्पादन विविधीकरण समेत गरेका छन् । उपभोक्तालाई आइसक्रिमसँगै डेरीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,यादवले भने,हाम्रा सबै उत्पादनमा गुणस्तरियतालाई हामीले उत्तिक्कै ध्यान दिएका छौं । न्यूनत्तम ३५ लाख रुपैयाँ लगानीको एउटा डेरी हब स्टोरबाट दैनिक ३५ हजार रुपैयाँ बराबरको कारोबार भइरहेको उनले बताए ।

जागीरे जीवनमा खासै आकर्षण नदेखेपछि कम्प्युटर इन्जिनियरको जागीर छोडेर पुख्र्यौली पेशा गार्इपालनमा संलग्न भएका यादवले कलश डेरी उद्योगको स्थापना गरे ।

शुरुमा बजारीकरणलाई मात्र ध्यान दिएर लगानी गरेका उनलाई ब्याकवार्ड लिंकेज(उद्योगलाई आवश्यक कच्चा पदार्थ आफैंले उत्पादन गर्ने) नहुँदा सधैंजसो कच्चा पदार्थ(दूध)को अभाव खेप्नु परेपछि लगानी बिस्तार गर्दै उन्नत जातका गाई पालनसमेत गरे ।

पर्साको धोरे गाविसमा अवस्थित डेरी उद्योगसँगै नब्बेवटा उन्नत जातका गाई सहितको गाई फार्म सञ्चालनमा छ ।चेन स्टोर बिस्तारको पहिलो चरणको योजना कार्यान्वयनमा आएपछि वार्षिक कारोबार एक करोड नाघ्ने अनुमान गरिएको छ ।

पहिलो चरणमै तीन वटै उद्योग(कलश डेरी, कलश क्याटल फार्म र डेरी हब)मा करिब ४ सय जनाले रोजगारको अवसर पाउने श्यामबदन बताउँछन् । तीनवटै कम्पनीमा हाल १७ महिलासहित ७२ जनाले रोजगारी पाएका छन् ।