BIZMANDU
www.bizmandu.com

आज मध्यरात पौने १ बजे पेरिसमा भिड्दै फ्रान्स र रोमानिया, कस्ले जित्ता पहिलो खेल?

२०७३ जेठ २८

आज मध्यरात पौने १ बजे पेरिसमा भिड्दै फ्रान्स र रोमानिया, कस्ले जित्ता पहिलो खेल?
आज मध्यरात पौने १ बजे पेरिसमा भिड्दै फ्रान्स र रोमानिया, कस्ले जित्ता पहिलो खेल?

Tata
GBIME
Nepal Life

१५ औं संस्करणको युरो कप फुटबल आजदेखि फ्रान्समा सुरु हुँदैछ। आयोजक फ्रान्स र रोमानियाबिचको खेलसँगै प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ। फ्रान्स रोमानियाबिचको खेल नेपाली समयअनुसार मध्यरात पौने १ बजे पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा हुनेछ। 

फ्रान्सले युरो आयोजना गरेको यो तेस्रो अवसर हो। यसअघि सन् १९६० को पहिलो संस्करण आयोजना गरेको फ्रान्सले १९८४ मा दोस्रो पटक आयोजना गर्दा उपाधि जितेको थियो। 

घरेलु मैदानमा उत्कृष्ट इतिहास बोकेको फ्रान्स २०१६ को युरोलाई यादगार बनाउन रोमानियाविरुद्धको उद्घाटन खेलमा पनि उत्कृष्ट सुरुवात गर्ने दाउमा छ। दुई पटकको च्याम्पियन फ्रान्स यो पटक उपाधि जित्दै जर्मनी र स्पेनको नाममा रहेको रेकर्ड बराबरी गर्ने तयारीमा छ। 

स्टार फरवार्ड करिम बेन्जेमा ब्ल्याकमेलका आरोपमा गत वर्ष डिसेम्बरमा निलम्बनमा परे पनि फ्रान्समा स्टार खेलाडीहरुको कमी रहने छैन तर रक्षापंक्तिमा भने केही समस्या रहेको छ । अग्रपंक्तिमा एन्टोनी ग्रिजमन र ओलिभर जिरुडको जोडी रहनेछन् भने उनीहरुलाई मध्यपंक्तिमा पउल पोग्वा, दिमित्री पायट, एन गोलो कान्टे र ब्लइस मटुइडी जस्ता खेलाडीहरुले साथ दिनेछन्। 

यस्तै गोलपोष्टको जिम्मेवारी ह्युगो लोरिसले सम्हाल्नेछन् भने सेन्ट्रल डिफेन्समा लरेन्ट कोसिन्ले र एडिल रामी रहनेछन्। 

यता रोमानियाले पनि छनोट चरणमा गज्जबको प्रदर्शन गरेको थियो। समूह एफबाट कुनै खेल नहारी रोमानिया उत्तरी आयरल्याण्डपछि दोस्रो स्थानमा रहँदै युरो २०१६ मा छनोट भएको हो। 

रोमानियाले १० मध्ये ५ खेल जितेको थियो भने ५ खेल बराबरी गरेको थियो जम्म २ गोल मात्र बेहोरेको थियो। मजबुत डिफेन्स रोमानियाको मुख्य हतियार हो तर गोल गर्नमा भने रोमानिया सँधै चुक्ने गरेको छ। 

फ्रान्स पछिल्लो १० खेलमा रोमानिया विरुद्ध अपराजित रहेको छ तर पछिल्ला पाँच मध्ये एक खेल मात्र जितेको फ्रान्सले चार खेल बराबरी खेलेको थियो। अहिलेसम्म फ्रान्स र रोमानिया १५ पटक आमनेसामने भएका छन् जसमा फ्रान्स ७ पटक विजयी भएको छ भने रोमानिया ३ पटक विजयी भएको छ। बाँकी ५ खेल भने बराबरीमा सकिएको थियो। 

रोमानियाले फ्रान्सलाई सन् १९७२ यता हराउन सकेको छैन। ४४ वर्ष अघि भएको उक्त मैत्रिपूर्ण खेलमा रोमनियाले फ्रान्सलाई २-० ले पराजित गरेको थियो। फ्रान्स र रोमानिया युरोकपमा यसअघि दुई पटक आमने सामने भएका छन्। 

सन् १९८४ मा भएको खेल फ्रान्सले १-० ले जितेको थियो भने २००८ मा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।