BIZMANDU
www.bizmandu.com

संसारकै धनी आमा, तर सन्तानसँग यस्तो विवाद

२०६९ साउन ३

सिड्नी । आइरन लेडीका रुपमा चिनिएकी अष्ट्रेलियाकी खनिज उद्यमी जिना रिनेहार्ट विश्वको सबैभन्दा धनी महिलाका रुपमा प्रकट भएकी छन, उनी अष्ट्रेलियाकी  सबैभन्दा धनी नागरिक हुन् । रिनहार्टले वालमार्टकी उत्तराधिकारी क्रिस्टी वाल्टनलाई दोस्रो स्थानमा धकेल्दै विश्वकै सबैभन्दा धनी महिलाको उपाधी जितेकी हुन् । अमेरिकाको प्रसिद्ध पत्रिका बिआरडब्लुले सन् २०१२ का २०० धनी महिलाको सूचीमा रिनेहार्टलाई अग्रस्थानमा राखेको छ । रिनेहार्टसँग २८ अर्ब डलरको सम्पत्ति छ, अमेरिकी महिला वाल्टनसँग २५ अर्ब ३० करोड डलरको सम्पत्ति छ ।
रिनेहार्टको प्रगति आश्चर्यजनक छ, अघल्लो वर्षसम्म उनीसँग मात्र १० अर्ब ३० करोड डलरको सम्पत्ति थियो, अष्ट्रेलियामा कुनै नागरिकसँग १० अर्ब डलरको सम्पत्ति नाघेको यो नै पहिलोपटक थियो । तर एक वर्षको अन्तरमा उनको सम्पत्ति १८ अर्ब डलरले बढेर २८ अर्ब पुगेको छ ।
रिनेहार्टको सम्पत्तिको यो वृद्धिले फब्र्सद्वारा सूचीवद्ध विश्वका सबैभन्दा धनी ६९ अर्ब डलरका मालिक मेक्सिकोका कार्लोस स्लिम हेलु र माइक्रोसफ्टका ६१ अर्ब डलरका धनी विल गेट्सलाई विश्वकै धनीहरुको सूचीमा अग्रस्थानमा रहिरहन चुनौती थपिएको छ ।
त्यसो त उनी पहिलोपटक विश्वका एक सय धनीको सूचीमा प्रवेश गरेकी हुन्, तर उनी अहिले दैनिक पाँच करोड २० लाख डलर, प्रत्येक आधा घण्टामा १० लाख डलर र प्रतिसेकेण्ड ६०० डलर कमाउँछिन् ।
सन् १९५४ अष्ट्रेलियामा जन्मेकी रिनेहार्टले आफ्ना पिताको उत्तराधिकारीको रुपमा केही सम्पत्ति पाएकी थिइन् । जुन सम्पत्तिलाई बढाउने र ठूलो बनाउने काम भने रिनेहार्टले गरिन् । सिड्नीमा पढेकी रिनेहार्टका बाबु सन् १९९२ मा मृत्यु भएपछि सम्पत्तिको जिम्मेवारी उनीमाथि थपियो ।
उनका बाबुले सन् १९५० मा उनी जन्मनुभन्दा पहिले नै अष्ट्रेलियामा एउटा ठूलो फलाम खानी हात पारेका थिए । उनको सम्पत्ति यो वर्ष सबैभन्दा बढी बढ्यो, उनले यो वर्षको सुरुमै न्यासेन्ट रोय हिल १ फलाम खानीको ३० प्रतिशत सेयर जापानी र दक्षिण कोरियाको कम्पनीलाई विक्री गरिन । यसबाट प्राप्त भएको तीन अर्ब २० करोड डलर उनले पिलवाराको फलाम खानीमा लगानईन, जहाँबाट उनलाई १२ अर्ब ८० करोड डलरको सम्पत्ति विक्री भयो, यस अघि यो खानीको मूल्य शुन्य थियो ।
पिलवारामा उनले आफ्नो कम्पनी ह्यानकक र अर्को खानी कम्पनी रियो टिन्टोसँग साझेदारी गरेर होप डाउन १ खडा गरिन । जहाँबाट उनलाई झण्डै १९ अर्ब ४० करोडको सम्पत्ति प्राप्त भयो ।  होप डाउन १ मा उनको ५० प्रतिशत सेयर साझेदारी छ । यो कम्पनीको मूल्य अहिले नौ अर्ब ७० करोड डलर छ ।
रियो टिन्टोसँगै मिलेर उनले होप डाउन चार कम्पनी खडा गरेकी छन्, जुन कम्पनीले यो वर्ष एक करोड ५० लाख टन फलाम सन् २०१३ बाट उत्पादन गर्ने अनुमान गरिएको छ ।
रिनेहार्टले भारतीय कम्पनी जिभिकेसँग मिलेर क्विनसल्याण्डको ग्यालिलि बेसिनमा कोइला खानीको काम सुरु गर्दैछिन्, यो आठ अर्बको संयुक्त लगानीमा स्थापित कम्पनी हो । यसबाहेक रिनेहार्टको टेन नेटवर्क, फेयरफ्याक्स मिडियामा नि लगानी छ । यसबाहेक उनीसँग अझै पनि विकास गर्न सकिने थुपै्र खानीहरु छन् जहाँबाट उनलाई अर्बौं डलर आम्दानी हुनसक्छ ।
तर परिवारमा किचलो
रिनेहार्टले सन् १९८३ मा अष्ट्रेलियाका कानून व्यवसायी फ्यांक रिनेहार्टसँग विहे गरेकी थिइन्, उनका पतिको यस अघि नै निधन भैसकेको छ तर रिनेहार्टका चार छोराछोरी छन् । चारमध्ये तीन छोराछोरी उनको विरुद्धमा अदालत धाइरहेका छन् ।
रिनेहार्टका बाबु ल्याङ ह्यानककले नातीनातिनाका लागि होप मार्गरेट ह्यानकक ट्रस्ट स्थापना गरेका थिए । अर्बौं सम्पत्ति भएको त्यो ट्रष्टमा अहिले आमा रिनेहार्टको एक्लौटी कब्जा छ, त्यसविरुद्ध जोन ह्यानकक, वियान्का रिनेहार्ट र होप वेल्कर ट्रष्टको ट्रष्टी आफूले पाउनु पर्ने माग गर्दै अदालतमा पुगेका छन् ।

प्यारी छोरी: जिना रिनेहार्ट र कान्छी छोरी जिनिया, परिवारमा यी दुई जना एक ठाउँमा, बाँकी तीन छोराछोरी अर्कोतर्फ ।

Tata
GBIME
Nepal Life

तर, सबैभन्दा कान्छी छोरी जिनिया भने आमाको पक्षमा छन्, उनले अरु दिदी र दाईले दायर गरेको मुद्धालाई आधारहिन बताएकी छन् ।
तीन दाजुबहिनी आमाले वित्तिय र कानूनी रुपमा आफूहरुलाई पेलेको र आफ्ना निर्णयमा आमाले अनावश्यक टांग अडाएको बताएका छन् । छोरी होपलाई लेखेको एउटा इमेलमा ५८ वर्षे आमा रिनेहार्टले लेखेकी छन्, यी कानूनी कुराले काम गर्दैन्, सम्पत्तिबाट थुप्रै कर तिरेर कम्पनीलाई टाट उल्टाइदिन्छु, अनि हेरौला । तर आमा रिनेहार्टले यो कुराको खण्डन गर्दै भनिन्, ट्रष्ट चलाउनका लागि म यो विश्वमा सबैभन्दा सक्षम छु, छोराछोरी आलाकाँचा छन् ।

ट्वाक्क : तपाईलाई यो पुरै समाचार पढ्न एक मिनेट लाग्यो  हेाला, तपाईले यो पढिसक्दा उनको सम्पत्ति झण्डै ३२ लाख रूपैयाँले बढ्यो ।