BIZMANDU
www.bizmandu.com

पहिलो पटक चीन-नेपाल रेल सेवा सुरु भएको प्रचार गर्दै चीन,केरुङमा सामान राख्ने बन्दरगाह बनायो

२०७३ जेठ ६

  • मनोज सत्याल/बिजमाण्डू
काठमाडौं । पहिलो पटक चीन-नेपाल रेल सेवा सुरु भएको प्रचार गर्दै आएको चीनले केरुङमा सामान राख्ने बन्दरगाह बनाएको छ। लान झाउबाट सिगात्सेसम्म रेल र त्यहाँबाट सडक मार्ग हुँदै केरुङ पुग्ने सामान राख्नका लागि बन्दरगाह (कन्टेनर पार्किङ गर्ने ठाउँ) बनाइएको हो।

त्यहाँ राखिएको चिनियाँ भाषाको ब्यानरलाई बिजमाण्डू बेइजिङस्थित संवाददाता प्रभात भट्टराईले गरेको अनुवाद अनुसार लेखिएको छ- 'पहिलो नेपाल- चीन रेल्वे सेवाले सफलतापूर्वक आफ्नो यात्रा पूरा गरेको छ। सामान नेपाललाई हस्तान्तरण गर्ने जिलोङ (केरुङ) बन्दरगाहमा हार्दिक स्वागत छ।'
 झण्डै ३ सय वटा कन्टेनर पार्किङ गर्न सक्ने स्थानलाई तारबार गरेर तयार गरिएको हो।

केरुङ पुगेर फर्किएका रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले सिगात्सेबाट आएका सामानहरु ओराल्ने र नेपाली कन्टेनरमा राख्ने काम भइरहेको बताए।'झण्डै चार वटा रेलले ल्याएको सामान झार्ने ठाउँ तयार गरेको रहेछ', उनले बिजमाण्डूसँग भने।लानझाउबाट गत बुधबार काठमाडौँका लागि रेल छुटेको समाचार पिपल्स डेलीले दिएको थियो। यी सामान १० दिनमा काठमाडौँमा पुग्ने उसले जनाएको थियो।

'दश वटा चिनिँया ट्रकको सामान नेपाली ट्रकमा हाल्ने काम भइरहेको रहेछ', बुधबार केरुङ पुगेका पनेरुले रसुवागढीबाट टेलिफोनमा भने, 'चिनियाँ कन्टेनरबाट सामान निकाल्न स्टाइगर पनि राखिएको छ।'उनले केरुङमा व्यवसायीहरुले सामान नेपाली ट्रकमा लोड गरेर ल्याउन थालेको उल्लेख गर्दै अब प्रक्रिया अगाडि बढेको जानकारी दिए।

पनेरुका अनुसार चीनबाट बुधबार मात्र ५९ वटा कन्टेनर नेपाल भित्रिएको छ। 'सामान ट्रकमा आउने भएकाले रेलबाट ल्याएको सामान हो कि हैन भन्ने नै थाहा हुन्न', उनले भने।परम्परागत रुटबाट सामान आउँदा ३५ दिन लाग्ने र अहिले १० दिनमा नेपाल आउने हुँदा ढुवानी खर्चकै कारण सामानको मूल्य बढ्ने समस्या अब नहुने उनले बताए।रसुवागढीबाट धुन्चे, नुवाकोटको बेत्रावती हुँदै धादिङको गल्छी भएर ट्रक काठमाडौँ प्रवेश गर्नेछ।

Tata
GBIME
Nepal Life