BIZMANDU
www.bizmandu.com

लिबोर काण्डमा युबीएसले डेढ अर्ब डलर जरीवाना तिर्ने, ‘प्रतिष्ठाभन्दा नाफा ठूलो रकम होइन’

२०६९ पुष ४

जुरीच । स्वीस बैंक युबीएसलाई नियामक निकायहरुले १.५ अर्ब डलर जरिवाना तिराउने भएका छन् । लिबोर काण्डमा मुछिएको युबीएसले अमेरीकी, बेलायती तथा स्वीस नियामक निकायहरुलाई डेढ अर्ब बराबरको रकम तिर्नुपर्ने निर्णय बुधबार भएको हो ।
विश्वका धेरै जसो वित्त बजारमा प्रयोगमा आउने लिबोर रेटलाई प्रभावित गरेको भन्दै नियामक निकायहरुले युबीएसलाई ठुलो रकमको जरिवाना तिराएका हुन् । बैंकले लिबोर रेट प्रभावित गरेको स्वीकार्दै जरिवाना तिर्ने जनाएको छ ।
बैंकले २००५ देखि २०१० सम्म लिबोर दर प्रभावित गरेको स्वीकार गर्दै अमेरिकाको डिपार्टमेण्ट अफ जस्टीस र कमोडिटी एण्ड फ्युचर्स ट्रेडिङ कमिसनलाई १.२ अर्ब डलर, बेलायतको फाइनान्सीयल सर्भिसेज अथोरीटीलाई १६ करोड पाउण्ड र स्वीस नियामक निकाय फिन्मालाई ५ करोड ९० लाख स्वीस फ्रयांक जरीवाना तिर्ने भएको हो । 
लिबोर काण्डमा परेको बेलायती बैंक बार्कलेसले यस अघि नै ४५ करोड डलर जरीवाना तिरिसकेको छ । युबीएसले तिर्न लागेको जरीवाना बैंकहरुले तिरेको जरीवानामध्येको दोश्रो ठूलो हो । यस अघि एचएसबीसीले केहि महिना अघि मात्रै लागुऔषध व्यवसायीलाई सघाएको प्रमाणीत भए पछि १.९२ अर्ब अमेरीकी डलर जरीवाना तिर्न राजी भएको थियो ।
पछिल्लो १८ महिनामा २.३ अर्ब डलर बराबरको नोक्सानी ब्यहोरेको बैंककालागि यो निक्कै ठुलो झट्का हो । नोक्सानी बढदै गए पछि खर्च घटाउन बैंकले हालै मात्रै उच्च संख्यामा कर्मचारी कटौति गरेको छ ।
जरीवाना स्वीकार गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सर्जीयो एरमोट्टिले भने, “हामि बैंकको अनैतिक एवं अनुचित व्यवहार प्रति गहिरो क्षमा माग्छौं । बैंकको प्रतिष्ठा भन्दा नाफाको कुनै पनि रकम ठुलो हुन सक्दैन र हामि इन्मान्दारीता पूर्वक व्यवसायलाई निरन्तरता दिनकालागि प्रतिबद्ध छौं ।”

Tata
GBIME
Nepal Life