BIZMANDU
www.bizmandu.com

रिटायर्ड रतन टाटा, नवनियुक्त साइरस मिस्त्री ८० खर्ब डलरको कम्पनी अनि त्यसको भित्रि कथा

२०६९ पुष ४

रिटायर्ड रतन टाटा, नवनियुक्त साइरस मिस्त्री ८० खर्ब डलरको कम्पनी अनि त्यसको भित्रि कथा
रिटायर्ड रतन टाटा, नवनियुक्त साइरस मिस्त्री ८० खर्ब डलरको कम्पनी अनि त्यसको भित्रि कथा


नुनदेखि सफटवेयरसम्म बनाउने भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा एण्ड सन्सबाट रतन टाटाले विदा लिएका छन् । एक खर्ब डलर(८० खर्ब रुपैयाँ)को टाटा एण्ड सन्सको जिम्मा ४३ वर्षका साइरस मिस्त्रीले लिंदैछन् । अर्को साता अर्थात २५ डिसेम्बरमा टाटाले आफ्नो ७५ औं जन्म दिन मनाउने छन्, यही दिन उनी क्रियाशिल व्यवसायिक जीवन परित्याग गरी टाटा एण्ड सन्सको इमिरेट्स चेयरम्यान अर्थात मानार्थ अध्यक्षका रुपमा रहनेछन् ।
टाटाले सन् २०१० मै ७५ वर्षको उमेरमा रिटायर्ड हुने र टाटा एण्ड सन्सको जिम्मेवारी युवा पुस्ताको हातमा दिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले त्यसका लागि पाँच विशेषज्ञको समिति पनि गठन गरेका थिए । यो समितिले देशविदेशका सयौं युवासँग साक्षात्कार गरेर साइरस मिस्त्रीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यही पहलपछि मिस्त्री सन् २०११ देखि टाटा एण्ड सन्सको उपाध्यक्षमा क्रियाशिल छन् ।
को हुन् साइरस
साइरस युवा छन्, प्रतिभावान छन्, कम्पनीप्रति जिम्मेवार छन् र अध्यक्ष रतन टाटाको सोंचमा खरो उत्रिएका पनि छन् । मिस्त्री सन् २००६ मै टाटा समूहको बोर्ड अफ डाइरेक्टर बनेका थिए । उनी त्यतिवेला टाटा समूहको बोर्डमा सहभागी सबैभन्दा युवा अनुहार पनि थिए । युवा भए पनि कम्पनीको हितमा उनले लिएको फैसला महत्वपूर्ण थिए, जसबाट टाटा प्रभावित थिए ।
मिस्त्रीले आफ्नो घरेलु कम्पनी शापुरी पल्लोनजीलाई नयाँ उचाईमा पुर्याएका थिए । पछिल्लो दुई दशकमा पाल्लोनजीको कारोवार २४ प्रतिशत बढाउनमा साइरसको हात थियो । सँगसँगै टाटा समूहमा पल्लोनजीको १८ प्रतिशत हिस्सेदारी पनि छ ।
भारतीय मुलका आइरिस नागरिक साइरस टाटा समूहको १४२ वर्षे इतिहाँसमा दोस्रोपटक टाटा उपनाम बाहिरबाट अध्यक्ष बनेका हुन् । सन् १९३२ मा पहिलोपटक टाटा समूहका अध्यक्षमा टाटा उपनाम बाहिरबाट नवरोजी सकलतवाला नियुक्त भएका थिए ।
टाटा एण्ड सन्सको अध्यक्षमा साइरसको घोषणाले मुम्बईको व्यापार जगत भने आश्चर्य छ । किनकी उनीहरुको अपेक्षा रतन टाटाका सौतेले भाई नोयल टाटा समूहको उत्तराधिकारी हुन्छन् भन्ने थियो ।
साइरससँग टाटा उपनाम नजोडिए पनि उनी यही परिवारका सदस्य भने हुन् । एक त उनको पल्लोनजी कम्पनी टाटा समूहसँग लामो समयदेखि जोडिएको छ, दोस्रो उनी टाटाका सौतेले भाई नोयलका साला हुन् । टाटा समूहमा पल्लोनजीको  हिस्सेदारी बढी छ, त्यसैले उनी सबैका लागि स्वीकार्य व्याक्ति पनि हुन् ।
मिस्त्रीका हजुरबुबाले टाटा सन्सको सन् १९३० मा सेयर हिस्सेदारी खरिद गरेका थिए । जुन अहिले साढे १८ प्रतिशतमा पुगेको छ । साइरसकी दुई दिदी लैला र आलुमध्ये रतन टाटाका सौतेले भाई नोयलले आलुसँग विवाह गरेका थिए ।
टाटा समूहको उपाध्यक्ष नियुक्त भएपछि मिस्त्रीले सपुरजी पल्लोजनी कन्ष्ट्रक्सन कम्पनीको सबै जिम्मेवारीबाट राजिनामा दिएका छन् । इम्पेरियल कलेज लण्डन र लण्डन बिजनेस स्कुलबाट अध्ययन गरेका मिस्त्री भारतको सबैभन्दा ठूलो औद्योगिक घराना सम्हाल्ने गैरभारतीय नागरिक हुन् ।
टाटा समूह
बहुराष्ट्रिय कम्पनी टाटा एण्ड सन्समा टाटा समूहले प्रवद्र्धन गर्ने फिलिन्थ्रोपिक ट्रष्टको ६६ प्रतिशत सेयर हिस्सा छ । मुम्बईमा हेडक्वाटर भएको टाटा समूहले सात क्षेत्र दुरसञ्चार, सूचना प्रविधि, इन्जिनियरिङ, उत्पादन, सेवा, उर्जा, रसायनिक उत्पादन र घरायसी उपभोगका सामाग्री उत्पादन गर्ने कम्पनीमा लगानी गरेको छ ।
टाटा समुहको विश्वका छ महाद्विप र ८० राष्ट्रमा लगानी छ, टाटा एण्ड सन्स मातहत एक सयभन्दा बढी कम्पनी छन् भने ३१ वटा कम्पनी सेयर बजारमा सूचिकृत छन् । टाटा समूह अन्र्तगत मुख्य गरी टाटा स्टिल, टाटा मोटर्सm, टाटा कन्सल्टेन्सी सर्भिस, टाटा पावर, टाटा केमिकल, टाटा ग्लोबल वेभरेज, टाटा टेलिसर्भिस, टाइटन इन्डष्ट्रिज, टाटा टेलिकम्युनिकेशन, ताज होटलस छन् । सेयर बजारमा सूचीकृत यी कम्पनीको बजार पुँजीकरण ९० अर्ब डलरभन्दा बढी छ । टाटाले ५८ प्रतिशत आम्दानी भारतबाहिरबाट गर्छन् । सन् २००९ को एउटा सर्भेमा टाटा समूह विश्वको ६०० सबैभन्दा सम्मानजनक कम्पनीको सूचीमा ११ औं नम्वरमा थियो ।
को हुन् रतन टाटा
टाटा समूहको नाम जम्सेदजी टाटाको नामबाट आएको हो, रतन टाटाले जेआरडी टाटाबाट सन् १९९१ मा कम्पनीको अध्यक्ष पद लिएका थिए । टाटा एण्ड सन्स अहिले जम्सेदजीको पाँचौं पुस्ताले चलाइरहेको छ । रतन टाटाले जिन्दगीमा कहिल्यै विवाह पनि गरेनन् र उनले कहिल्यै धर्मपुत्र वा पुत्री पनि ग्रहण गरेनन् । टाटा एण्ड सन्स सबै टाटा कम्पनीको सबैभन्दा ठूलो सेयरहिस्सेदार हो ।

सन् १९३७ मा जन्मिएका रतन टाटाले भारतको सबैभन्दा प्रतिष्ठित नागरिक सम्मान पद्म भुषण पाएका छन् । भारतको व्यवसायिक जगतमा रतन टाटाले के बोल्छन् भन्ने विषय सबैभन्दा चासोका रुपमा रहने गरेको छ । किनकी रतन टाटा जे बोल्छन्, त्यो पुरा पनि गर्छन् । उनले भारतलाई विश्वको सबैभन्दा सस्तो कार दिने बचन दिए । उनले अनेक ठक्कर र हण्डरको बाबजुद पनि एक लाख भारतीय रुपैयाँमा नानो कार उपभोक्तालाई डेलिभरी दिइ छाडे ।
टाटा समूहका संस्थापक जमसेदजीका छोरा जसको नाम पनि रतन टाटा नै थियो, उनले रतन टाटाका बाबु नभल टाटालाई धर्मपुत्रका रुपमा ग्रहण गरेका थिए । सन् १९४० मा टाटाका पिता नभल र आमा सुनीवीच सम्वन्ध विच्छेद भयो । रतन र उनका दाजु जिम्मीलाई हजुरआमाले हुर्काइन, नभलले पछि सिमोनीसँग विवाह गरे र उनी दुई जनाबाट नभल टाटाले अर्को छोरो नोयल टाटाको जन्म भयो ।
बम्बईको क्याम्पियन स्कुल, सिमलाको कटन स्कुलबाट विद्यालय तहको अध्ययन गरेका रतनले कोर्नेल विश्वविद्यालयबाट आर्किटेक्टरमा स्नातक गरेका थिए । उनले सन् १९७५ मा हाभर्ड विजनेस स्कुलबाट व्यवस्थापनको अध्ययन गरेका थिए । सन् १९९१ मा टाटा समूहको अध्यक्ष भएपछि रतन टाटाले आफ्नो व्यापार फैलाए । उनले जागुआर, ल्याण्डरोभर र कोरस गाडी उत्पादन गर्ने कम्पनीको अधिग्रहण गरे । उनले आफ्नो सञ्जाल भारतमा भन्दा बाहिर फैलाए । इन्डिका र नानो कार निर्माणका लागि उनले ठूलो योगदान दिए ।

Tata
GBIME
Nepal Life