BIZMANDU
www.bizmandu.com

नेप्सेमा निर्मल प्रधानको चलखेल, एकैदिनमा १३ करोडको कारोवार

२०६९ असार २८

नेप्सेमा निर्मल प्रधानको चलखेल, एकैदिनमा १३ करोडको कारोवार
नेप्सेमा निर्मल प्रधानको चलखेल, एकैदिनमा १३ करोडको कारोवार

काठमाडौं । नेप्सेमा विहिबार सामान्यभन्दा दुई गुणाले कारोबार भयो, कारोवार भएको १३ करोड रुपैयाँमध्ये नौ करोड रुपैयाँको कारोवार एभरेष्ट बैंकको भएको थियो । त्यसमध्ये आठ करोड रुपैयाँको कारोवार म्याचिङ छ । बिहिबार अघिका चार दिनमा नेप्सेमा जम्मा १८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो । विहिबारको कारोबारको उच्च हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । एभरेष्टको विहिबार सामान्य सेयर र परिवर्तनीय अग्राधिकार (कन्भर्टेबल प्रिफरेन्स) सेयर गरी आठ करोड ७६ लाख रुपैंया बराबरका ९२ हजार ८ सय ६८ कित्ता सेयर खरिदबिक्री भए ।
जसमध्ये २ करोड ९७ लाख रुपैंया बराबरका ३३ हजार ५ सय ८८ कित्ता परिवर्तनीय अग्राधिकार सेयर हो भने ५ करोड ७९ लाख रुपैंया बराबरका ५९ हजार २ सय ८० कित्ता साधारण सेयर हो । विजमाण्डु डटकममा बिहिवार सार्वजनिक गरेको प्रक्षेपणमा एभरेष्ट बैंकले चालु आर्थिक वर्षको मुनाफा एक अर्ब नघाउने उल्लेख गरिएको थियो । बैंकले उच्च नाफा आर्जन गर्ने अनुमान गरिएकै दिन उच्च रकमको कारोबार पनि भएको छ ।
निर्मल प्रधानको चलखेल
एभरेष्ट बैंकको सेयर कारोबारमा देखिएको अत्याधि बृद्धि र म्याचिङको अनुपातको आधारमा सो बैंकको सेयरमा विहिबार चलखेल भएको देखिन्छ । एक विश्वस्त स्रोतबाट विजमाण्डुलाई प्राप्त जानकारी अनुसार यो कारोवार सेयर खेलाडी निर्मल प्रधानले गरेका हुन । उनले आर्थिक वर्षमा अन्तिम समयमा आएर आफ्नो लगानी रहेका कम्पनी राजधानी इन्भेष्टमेण्ट फण्डको सेयर आफ्नो व्यक्तिगत नाममा सारेको स्रोतको दावी छ । प्रधान एभेरष्ट बैंकमा धेरै सेयर हुने सर्वसाधरण लगानीकर्ता हुन् । प्रधानको लगानी भएको राजधानी इन्भेष्टमेन्ट फण्डले सेयर धितो राखेर ठूलो रकमको ऋण लिएका छन् ।
बैंकहरुले राजधानी कै लागि थप ऋण नदिने भएपछि उनले शेयर आफ्नो नाममा सारेको स्रोतले बतायो । अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बाणिज्य बैंक र सेयर ब्रोकरबिच हालै भएको सहमति अनुसार सेयर खरिद गरेको बिलको आधारमा वाणिज्य बैंकहरुले ऋण दिन सक्छन् । विजमाण्डु डटकमले विहिवारको फ्लोर सिट विषलेण गर्दा बैंकको साधारण र परिवर्तनीय अग्राधिकार शेयर गरी कुल आठ करोड ७६ लाख रुपैंया बराबरको कारोबार भएकोमा ९४ प्रतिशत (८ करोड २५ लाख)को कारोवार म्याचिङ भएको छ ।
म्याचिङ गर्नेमा ब्रोकर नं १७ (एबिसि सेक्युरिटिज)ले तीन करोड ९४ लाखको साधरण सेयर र दुई करोड ८८ लाख रुपैयाँको परिवर्तनीय अग्राधिकार गरी कुल छ करोड ८२ लाख रुपैयाँको म्याचिङ गरेको छ । यसैगरी ब्रोकर नम्बर २०(सिप्ला सेक्युरिटिज)ले एक करोड ४३ लाख रुपैयाँ बराबरको साधारण सेयर म्याचिङ गरेको छ । यसले पनि एभेरष्टको सेयर एकै ब्यक्तिले खरिद एवं बिक्री गरेको स्रोतको दावीलाई पुष्टी गर्छ । एभरेष्ट बैंकमा प्रधानको नाममा १.४४ प्रतिशत र राजधानी इन्भेष्टमेन्ट फण्डका नाममा ०.७७ प्रतिशत सेयर छ ।
नेप्सेमा गिरावट
विहिबार कारोबार रकममा उच्च बृद्धि भएपनि नेप्से परिसूचकमा भने गिराबट आएको छ । बुधबार देखि गिरावट देखिएको बजारमा विहिबार ०.६ अंकको घटेर ३८३.४८ कायम भएको छ । समग्रमा नेप्से परिसूचक यस साता ६.१ अंक अर्थात १.६१ प्रतिसतले बढेको छ ।
विहिवारको कारोबारपछि आर्थिक वर्षको अन्तिम सातामा ३१ करोड ८८ लाखको कारोबार भएको छ । जस अनुसार बुधबार चार करोड ४२ लाख, मंगलबार पाँच करोड २३ लाख, सोमबार चार करोड ९० लाख र आईतबार चार करोड १३ लाख रुपैंया कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life