BIZMANDU
www.bizmandu.com

एनसेल प्रकरण: अर्बौँ रुपैयाँ कर गुम्ने जोखिम बढ्यो

२०७३ बैशाख १०

एनसेल प्रकरण: अर्बौँ रुपैयाँ कर गुम्ने जोखिम बढ्यो
एनसेल प्रकरण: अर्बौँ रुपैयाँ कर गुम्ने जोखिम बढ्यो


  • उमेश श्रेष्ठ/बिजमाण्डू –
काठमाडौँ : स्विडेनमा मुख्य कार्यालय भएको टेलिया कम्पनी (पुरानो नाम टेलियासोनेरा) ले नेपालमा कर नतिर्ने बताएको छ। यसले टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर डेढ खर्बमा खरिदबिक्री हुँदा नेपालले पाउनु पर्ने २५ प्रतिशत कर गुम्ने जोखिम बढेको छ।
 
 
टेलियासोनेराले सन् २००८ मा नेपाल प्रवेश गर्दा अफसोर कम्पनी रेनोल्डस् होल्डिङ्ग्स लिमिटेडमार्फत् प्रवेश गरेको र अहिले बाहिरिँदा पनि यही कम्पनी एक्जियटालाई बेचेको आज विज्ञप्तिमार्फत् जनाएको हो।
 
रेनोल्ड्स सेन्ट किट्समा दर्ता भएको अफसोर शेल (कागजी) कम्पनी हो। यो कम्पनीका डाइरेक्टरले आफूकहाँ कोही पनि कर्मचारी नभएको घोषणा गरेको कागजातसहितको खुलासा पहिलोपोस्टले केही दिन अघि गरेको थियो। यसै शेल कम्पनी खोलेर कर छल्ने विषय अहिले पनामा पेपर्स लिक्स विश्वमा चर्चाको विषय बनेको छ।
 
स्विडिश पत्रिका स्भेन्स्का डागब्लाडेट (एसभीडी) ले बिहीबारको अङ्कमा नेपालले स्विडेनस्थित टेलियासोनेराको मुख्य कार्यालयमा पत्र लेखी कर तिर्न र नतिरे सम्पति जफत गर्नेसम्मको चेतावनी दिएको 'गोप्य' तथा 'अति जरुरी' पत्रसहितको समाचार प्रकाशित गरेपछि टेलियाको यस्तो वक्तव्य आएको हो।
 
सरकारको अर्थ मन्त्रालय अन्तर्गत रहेको आन्तरिक राजस्व विभागको ठूला करदाता कार्यालयले चैत ३० गते टेलियासोनेरा ग्रुपको हेड अफिसलाई सम्बोधन गर्दै 'आयकर ऐन २०५८ बमोजित एनसेल प्रालिको सेयरमा रहेको हित निःसर्गबाट (disposal) भएको मुनाफा लाभमा कर लाग्ने स्पष्ट कानुनी व्यवस्था भएको व्यहोरा स्मरण' गराएको हो।
पत्रमा पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयकर ऐन २०५८ को दफा ९६ को उपदफा २ (१) कको सिनं १ र २ बमोजिमका विषयहरु खुलाई आय विवरण पेश गर्न अन्यथा आयकर ऐन २०५८ तथा नियमावली २०५९ एवं प्रचलित ऐन नियम बमोजिम हुने चेतावनी दिएको थियो।
 
टेलियासोनेराको विज्ञप्ति अनुसार नेपालले कर 'दावी' (क्लेम) गरेको नभएर कर भर्न 'अनुरोध' (रिक्वेस्ट) गरेको हो। यसको जवाफ भने टेलियाले आफै नदिएर उसको नर्वेजियन कम्पनीलाई दिन लगाएको छ। नाम नखुलेका लगानीकर्ताहरुको लगानी रहेको भाइजर ग्रुपसहितको तह तह बनाइएका कम्पनीहरुमार्फत् रेनोल्डस होल्डिङको स्वामित्व मिलाइएको छ।
 
नर्वेको कम्पनीले यो कारोबारमा नेपालमा कर तिर्नु नपर्ने भएकोले कर तिर्दैनौँ भन्ने जवाफ पठाएको विज्ञप्तिमा उल्लेख छ।

कर तिर्नुपरे के गर्ने?
नेपालले हालसम्म करको दावी नगरी अनुरोध गरेको मात्र बताउने टेलियाले करको दावी नै पर्‍यो भने के गर्ने भन्ने विषय पनि प्रेस विज्ञप्तिमा खुलाएको छ। विज्ञप्ति अनुसार यस्ता र अन्य महत्त्वपूर्ण विषय र जोखिमहरुलाई एक्जियटा र टेलियाबीच भएको सहमति अनुसार गरिनेछ।
 
यो केसमा टेलियाको करमा सीमित दायित्व हुने पनि विज्ञप्तिमा उल्लेख छ। यही अनुसार एक्जियटाले कर दायित्वबारे पूर्वादेश मागसमेत गरेको थियो। तर नेपालको कानुन अनुसार भने बेच्ने कम्पनीले नै पाएको नाफामा कर लाग्छ।
 
टेलियाले ११ अप्रिलमा एक्जियटासँग कारोबार अन्त्य गरेसँगै नेपालमा कुनै पनि सम्पति नरहेको पनि स्पष्ट पारेको छ।
 
टेलियाले बोलेको झुठ स्विडिश मिडियामा आलोचना
स्विडिश मिडिया (एसभिडी) ले भने समाचारको सुरुवात नै टेलियाका सिइओ जोन डिल्लेन्डले एनसेल बिक्री पूरा भएको बताउँदा नेपालका सबै निकायबाट अनुमति पाएको जनाएर झुटो बोलेको उल्लेख गरेको छ। अनुमति पाएको भए ठूला करदाता कार्यालयबाट किन पत्र आयो? एसभिडीले प्रश्न गरेको छ।
 
एसभिडीले एक्सन एडका सेक्रेटरी जनरल क्रिस्टिन भान सिडोलाई उद्धृत गर्दै टेलियाले कर छल्न खोजेको उल्लेख गरेको छ।

'टेलियाको ४० प्रतिशत सेयर स्विडेन सरकारको मातहतमा छ,' एसभिडी लेख्छ, 'तर यही कम्पनी नेपाल जस्तो गरिब देशबाट कर छल्ने योजना बनाउने प्रणालीलाई बढावा दिइरहेको उनी बताउँछन्।'
 
नेपाल जस्तो भर्खरै भूकम्पले तहसनहस बनाएको देशमा करको प्रत्येक रकम महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्विडेनको राज्य नियन्त्रित कम्पनी नै कर छल्ने योजना लागेकोमा आलोचना त्यसमा गरिएको छ।
 
'हामी यो विषयलाई यत्तिकै छाड्दैनौँ, स्विडेनका उद्योग मन्त्रीसित पनि हामी यो विषय उठाउनेछौँ,' टेलियाको भ्रष्टाचारबारे पुस्तक नै लेखिसकेकी एसभिडीकी पत्रकार प्याट्रिसिया हेडेलियसले पहिलोपोस्टलाई बताइन्। 

Tata
GBIME
NLIC
सम्बन्धित लिङ्क
एसभिडीको समाचार
टेलियाको विज्ञप्ति
एनसेलसँग 'पनामा पेपर्स' लिकको लिङ्क : कर्मचारी नभएको कागजी कम्पनीको नियन्त्रण