BIZMANDU
www.bizmandu.com

मेघौली सेराई: ताजको कमव्याक, सफारीमा क्रान्ति

२०७३ बैशाख ८

मेघौली सेराई: ताजको कमव्याक, सफारीमा क्रान्ति
मेघौली सेराई: ताजको कमव्याक, सफारीमा क्रान्ति

  • विज्ञान अधिकारी/ऋषिकेश दाहाल

मेघौली। चितवनको भरतपुर विमानस्थल; त्यहाँबाट आधा पक्की र आधा कच्ची गरेर ३० किलोमिटरको दुरी पार गरेपछि पुगिन्छ मेघौली। चैतको अन्तिम साता, अनि मध्य दिउँसोको घाम। ४० डिग्री सेल्सियस पुग्न लागेको तापक्रम ।
 
नारायणगढबाट झण्डै ५० मिनेट गुडेपछि पुगियो मेघौली सेराई जंगल लज। मेघौली सेराईको पहिलो गेट र त्यहाँबाट देखिने पुराना व्लकका घर तथा खरका छाना देखेपछि लाग्यो – यत्तिको लज त सौराहामा जत्ति पनि छन्।
 
दश वर्षभन्दा बढी समयपछि  नेपाल फर्किएको ताज  ब्राण्ड,  चौधरी समूहको महत्वाकांक्षी परियोजना; स्वेदशी मात्रै होइन विदेशी मिडियामा प्रसस्त मात्रामा कभरेज।
 
पहिलो गेटमा हर्न बजाएपछि थारु महिला गार्ड बाहिर निस्किइन, उनले लामो सोधपुछ गरेपछि भनिन्, 'यो स्टाफ गेट हो, अघि  गेष्टहरुका लागि  अर्को गेट छ,  त्यहाँबाट भित्र छिर्नुस।'
 

अर्को गेटबाट भित्र छिरेपछि टिपकल माटोले पोतेजस्तो थारु घरको भित्तो माथि त्यसलाई अझ अग्लो बनाउन बाँसबाट फिनिसिङको काम हुँदै थियो।  भूईंमा गार्डेन। वरिपरि झाडी। मनमा अझै त्यही प्रश्न थियो, आखिर के छ यहाँ फरक?
 
मसिनो गिटी हालेर भर्खरै बनाइएको बाटो छिचोलेपछि पुगियो – मेघौली सेराईको सेन्ट्रल ब्लकमा। स्वागत गर्न आइपुगे लजका प्रवन्धक रितेश भट्ट।

Tata
GBIME
Nepal Life

जब सेन्ट्रल ब्लकको बन्द ढोका खुल्यो। मनमा केही अघि जे-जति प्रश्न थिए, विना कुनै शब्द एकमुष्ठ जवाफ प्राप्त भयो। 
 

व्लकमा भित्र छिर्न साथ मुख्य हलमा केही खाल्डो पारेर थारु शैलीको चौतारो बनाइएको थियो। त्यही व्लकको अघि थियो ठूलो र फराकिलो स्विमिङ पुल। स्विमिङ पुल वरपर भव्य र आरामदायी सिटिङ सुविधा।
 
त्यसको छेउमा राप्तीको किनारा। केही पर एउटा थुम्को जहाँ छ मचान। मचान पार गरेपछि फेरि राप्ती नदी। नदी पारी चितवन राष्ट्रिय निकुञ्ज। 
 

ती सबै दृष्य यही चौतारोबाट देखिन्छ। यही चौतारोमा रितेशको टीमले अतिथिहरुलाई फरक शैलीसहित वेलकम डिङ्क्सले स्वागत गर्छन्।
 
हामी पुगेको केही समयपछि ताजको टोलीसहित केही भारतीय पत्रकार लिएर लजमा आइपुगे सिजी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी।
 
उनीसँग कुराकानीका लागि हामीले प्रस्ताव गर्‍यौं मचानमा। स्विमिङ पुल पार गरेपछि नदी किनारामा एउटा डुङ्गा थियो। त्यसबाट पुगियो मचान।
 
हामी पुग्दा मचानमा बेस्सरी हावा चलिरहेको थियो।
 
राहुलले भने, 'अफ्रिका पुग्नुस्, केन्या जानुस्,  भारतका जंगल लजहरु घुम्नुस्, संसारमा यस्तो अद्वीतीय ठाउँ कहीँ फेला पार्नुहुन्न।'  

हामी जुन मचानमा थियौं त्यो मचानमा कसैले डिनर लिन चाह्यो भने एउटा समूहले हजार डलर तिर्नुपर्छ। यहाँ १० जना मजाले अटाउँछन्। 
 

र, तपाईँ पत्याउनुहुन्न, त्यो पे गर्ने क्षमता भएका जंगल सफारी गर्ने पर्यटक अब नेपाल आउने बाटो बनेको छ। 'ताजसँगको साझेदारीमा हामीले भारतमा चार वटा जंगल लज सञ्चालन गरेका छौं। जंगल लजमा ताजको जस्तो एक्सपर्टिज संसारमा अरु कसैसँग छैन्,' राहुलले भने।
 
राप्ती किनारामा घडियाल आउँछन्,  हरेक साँझ  लोपन्मुख एक सिंगे गैंडा यही वरिपरि देखिन्छ। पारीको निकुञ्जमा ५ सय ५० प्रजातिका चरा पाइन्छन्। रोयल बंगाल टाइगरसहित ६८ वन्यजन्तु यहीँ भेटिन्छन्।
 
तीन वर्ष अघि सरकारले निकुञ्ज भित्रका होटल हटाउने निर्णय गरेपछि नेपालका एक्ला डलर अर्बपति विनोद चौधरी मेघौलीप्रति आकर्षित भए। लामो प्रयासपछि उनले निकुञ्ज फेसिङमा रहेको राप्ती किनारामा १० विघा जग्गा फेला पारे।
 

र, त्यहाँ उनले ३० करोड लगानीमा जंगल लज बनाउने निर्णय गरे। उनले त्यसको जिम्मा होटल तथा लजको व्यवस्थापन र लगानीमा एक्सपर्टिज हासिल गरेका माइला छोरा राहुललाई दिए।
 
परियोजना दुई वर्षमा सक्ने लक्ष्य थियो। तर सक्न तीन वर्ष लाग्यो। र यो बीचमा परियोजनामा लगानी पनि दोव्वरभन्दा बढी ७० करोड रुपैयाँ पुग्यो। 'परियोजना ढिला तथा लगानी बढ्नुमा भूकम्प, नाकाबन्दीसँगै धेरै कारण छन्,' राहुलले भने, 'त्यसमध्ये एक मेरो बुबा पनि हो।'
 
 
होटल एक वर्ष अघि नै तयार भैसकेको थियो। एक दिन विनोद चौधरी मेघौली पुगे। उनले कोठा ज्यादै साना भएको भन्दै ठूलो बनाउन सुझाव दिए। त्यसैगरी इन्टेरियरमा पनि चित्त बुझेन उनलाई। फेरि सबै कोठा फोडेर ठूलो बनाउन लगाए। क्लासलाई लक्षित गर्ने भएपछि सम्झौता नगर्ने मुड बनाएका चौधरीको निर्णयले यसको लागत बढ्ने नै भयो।
 
त्यसपछि भूकम्प र नाकाबन्दी सुरु। अझ दु:खका साथ परियोजना सकेको राहुलले सुनाए। 'म आफै यहाँ तीन महिना बसेर काम गरें,' उनले सुनाए। 
 

सिजीको लगानी, साझेदारी तथा  व्यवस्थापन गरेर १२ देशका ५९ स्थानमा ७९ वटा होटलका चार हजार चार सय ११ वटा कोठा  सञ्चालनमा छन्। राहुल आफूले पछिल्लो एक वर्षमा बाँकी होटलका लागि छ महिना र मेघौली सेराईका लागि छ महिना समय दिएको बताए।
 
एक वर्षमा आधा समय बिताएर बनाए देशकै उत्कृष्ट जंगल सफारी लज। उनलार्इ सधैँ लाग्थ्यो स्वदेशमै यस्तो होटेल बनाउँ जसले विदेशमा नेपाललार्इ सजिलै चिनाउन सकियोस्। त्यो सपना उनले मेघौली सरार्इबाट पूरा गर्नु थियो, त्यसैले धेरै समय यसमै दिए र सफल पनि बने।
 

ताजले व्यवस्थापन सम्हालेको मेघौली सेराईमा ३० वटा कोठा छन्। त्यसमध्ये एउटा प्रेसिडेन्सियल स्वीट्स छ भने १७ वटा प्राइभेट भिल्ला छन्। एउटा तीन तल्ले ब्लकको माथिल्लो दुई तलामा छ/छ वटा गरी १२ वटा कोठा छ।
 
प्रेसिडेन्सियल स्वीट्स तथा प्राइभेट भिल्ला हरेकमा इन्डिभजुअल स्वीमिङ पुल छ भने हरेक कोठामा ढुङ्गे धारासहित बाथरुम। रिसोर्ट भित्र तीन वटा मानव निर्मित पोखरी समेत छ।  
 

 
रिसोर्टलाई स्थानीय स्वरुप दिन झण्डै ७० प्रतिशत सामान स्थानीय प्रयोग गरिएको छ। मेघौलीको थारु समुदायले प्रयोग गर्ने सामानलाई कस्टमाइज गरेर रिसोर्टमा प्रयोग गरिएको छ भने प्रत्येक कोठाको भित्तामा थारु पेन्टिङ गरिएको छ। 
 
अतिथिलाई स्थानीय थारु संस्कृतिसहितको प्रस्तुती पस्कन छुट्टै मञ्च समेत तयार गरिएको छ जहाँ हरेक दिन कल्चरल सो हुन्छ। स्थानीय स्तरका कलाकारले सांस्कृतिक प्रस्तुती गर्छन्। जंगल सफारीका लागि होटेलको आफ्नै हात्ती छ। सफारीकै लागि मोडिफाइड जीप ल्याउँदैछन्। स्वदेशमा जंगल सफारीका लागि आवश्यक जीप नभेटेपछि अर्डर गरेर विदेशबाट झिकाइँदैछ। कायकिङका लागि होटेलको आफ्नै डुङ्गा छ।  
 

रिसोर्ट भित्रै अर्गानिक खानाका लागि तरकारी रोप्ने छुट्टै स्थान समेत बनाइएको छ। कुनै पर्यटकले चाहेमा बारीबाट तरकारी टिपेर आफै पकाउन पनि सक्छ।

मेघौली सेराईमा अहिले समर इन्ट्रोडक्टरी अफर चलिरहेको छ। राहुलले केही समयका लागि साढे दुई सयदेखि तीन सय डलरमा एउटा कोठा एक दिनका लागि बिक्री गरिने बताए। कसैले कोठा लिन्छ भने हामीले त्यसलाई भिल्लामा सार्छौं, तर यो अफर केही समय मात्रै रहनेछ।
 

त्यसपछि स्ट्याण्डर्ड रुमलाई पाँच सय डलर, भिल्लालाई सात सय डलर तथा प्रेसिडेन्सियल भिल्लालाई १५ सय डलरमा बिक्री गरिने उनले जानकारी दिए। लण्डनमा भएको ट्रेड फेयरमा ताजले मेघौली सरार्इलार्इ प्रवर्द्धनमा राखेर भन्यो – जंगल सफारीका लागि सबैभन्दा राम्रो गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज।
 
राहुललार्इ लागेको छ राम्रो ब्रान्डिङ गर्ने हो भने पर्यटनमा नेपालजस्तो अरु कुनै मुलक नै छैन। त्यसमा पनि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै विरलै घुम्न पाउने स्थानमा पर्छ।

मिडियामा आएको रिभ्यु, ताजको ब्रान्डिङ तथा ठूला ट्रेड फेयरमा गरिएको प्रचारबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै राहुलले अक्टोबरका लागि तीन दिन प्रेसिडेन्सियल भिल्ला बुक भैसकेको जानकारी दिए। 
 

 
मेघौली सेराई सुरु भएपछि अघिल्लो सातादेखि मेघौली एयरपोर्ट पनि सुरु भएको छ। नेपाल एयरलाइन्सले लामो समयदेखि बन्द एयरपोर्टमा चार्टर्ड फ्लाइट गरेको हो। राहुलले मेघौलीमा रेगुलर फ्लाइटका लागि समेत विमान कम्पनीहरुसँग छलफल भैरहेको बताए।
 
मेघौली सेराईमा हेलिकोप्टरबाट पनि उडान भरिएको थियो। 'यहाँ आउने भनेको उच्चस्तरको पर्यटक हो। उनीहरुले खर्च गर्छन, त्यसैले एयर कनेक्टिभिटी महत्वपूर्ण हो,' राहुलले भने। यहाँ हेलिप्याड बनाएपछि विनोद चौधरी आफैँ टेस्ट फ्लाइटमा आएका थिए।
 
'भारतमा हाम्रो व्यवस्थापनमा चार वटा जंगल सफारी लज छन्, मेघौली सेराईको सञ्चालनपछि एउटा वाइल्ड लाइफ ट्राभल सर्किट तयार हुन्छ,' ताज सफारीको पब्लिक रिलेसन निर्देशक कृर्ति डिंग्राले बताइन्। 


 
'भारतको मध्यप्रदेशमा हामीले सफारी रिसोर्टबाट राम्रो प्रतिक्रिया पाएका छौं,'  डिंग्राले भनिन्, 'जब हामीलाई मेघौलीमा सफारी रिसोर्ट व्यवस्थापन गर्ने अवसर आयो हामीले लाग्यो यो सबैभन्दा उत्तम ठाउँ हो।'
 
ताजको प्रवेशसँगै मेघौली मात्रै होइन पुरै चितवन र नेपालको पर्यटनको स्तर बढ्नेमा राहुल विश्वस्त छन्। आगामी केही वर्ष भित्र नेपालमा चार हजार कोठा थपिँदैछन्। ठूला ब्राण्ड नेपाल आउँदैछन्, त्यसको अर्थ हो नेपालमा पर्यटनमा अब असिमित सम्भावनाहरु छन्।
 
त्यसमाथि नेपालमा अगस्टमा सिजन सुरु हुने कुरामा उनी सहमत समेत छैनन्। 'अगस्टमा भारतमा पर्यटनको सिजन सुरु हुन्छ तर नेपालको पर्यटन भनेको १२ महिना हो,' राहुलले भने। 

ताजबाट सेफ र न्याचुरलिस्ट(सफारी गाइड) समेत नेपाली आएका छन्। उहाँहरु दुवै जना लामो समयदेखि ताजसँग एसोसिएटेड हुनुहुन्थ्यो, मेघौली सेराई सुरु भएपछि उहाँहरुले समेत नेपालमै अवसर प्राप्त गर्नुभएको छ,' राहुलले भने।
 
मेघौली सेराईमा पुग्ने पर्यटक ढुङ्गाबाट राप्ती नदी पार गरेर राष्ट्रिय निकुञ्जमा पुग्न सक्छन्। त्यहाँ उनीहरुले हात्ती तथा जीपबाट जंगल सफारी गर्न सक्छन्।

यो लज मैले आफ्नै मेहनत, पसिना र पैसाले बनाएको हो, यसलाई बनाउँदा मैले निक्कै दु:ख पनि पाएँ,' राहुलले भने, 'तर यसले धेरै शिक्षा दिएको छ। उनले भने, पैसा भनेको अवसर पनि हो। जब तपाई अवसरलाई समात्न सक्नुहुन्न पैसा कमाउन पनि सक्नुहुन्न। मेघौली सेराई नेपालको पर्यटनका लागि एउटा ठूलो अवसर हो।'