काठमाडौं । निजी क्षेत्रको ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारले पाउनुपर्ने कर असुल गर्न नयाँ शक्ति नेपालले ठूला करदाता कार्यालयलाई सचेत गराएको छ।
.JPG)
एनसेलको ८० प्रतिशत स्वामित्व टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गर्दा कर छली गरेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले असुल गर्न सचेत गराएको हो। नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारलाई कर तिर्नुपर्दैन भन्ने ब्याख्या सबैतिर भएकाले त्यसविरुद्ध खबरदारी गरेको बताए।
'एनसेल बिक्री हुँदा सरकारलाई कर तिर्नुपर्दैन भन्ने ब्याख्या भइरहेको छ त्यसैले यसमा कुनै मोलाहिजा नराखियोस् भन्ने सचेत गराउन गएका हौं' उनले भने। नयाँ शक्तिले यदि एनसेलसँग कर असुल गर्ने प्रक्रिया नथालिए देशब्यापी रुपमा एनसेल मोवाइल बहिस्कार नै गर्ने चेतावनी दिएको देवकोटाले जानकारी दिए। नयाँ शक्ति नेपालका तर्फबाट केन्द्रीय परिषद सदस्य कल्पना धमलाले ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शोभाकान्त पौडेललाई ज्ञापन पत्र बुझाएकी छन्। प्रमुख कर प्रशासक पौडेलले एनसेलसँग कर असुल गर्ने काम प्रक्रियामा नै रहेको बताएका थिए।