काठमाडौँ । टेलियासोनेराले मोबाइल सेवा प्रदायक नेपाली कम्पनी एनसेलबाट आफ्नो लगानी फिर्ता गर्ने प्रक्रिया पूरा भएको घोषणा गरेको छ। सोमबार राति नेपाली समय अनुसार पौने आठ बजे जारी प्रेस विज्ञप्तिमा टेलियासोनेराले डिसेम्बर २१, २०१५ मा घोषणा भए अनुसारका सहमतिका शर्तहरुमा रही डाइभेस्टमेन्ट पूरा भएको जनाएको छ।
'एनसेलबाट लगानी झिकेर एक्जियटालाई बुझाउने प्रक्रिया पूरा भएको घोषणा गर्न पाउँदा म धेरै खुसी छु,' टेलियासोनेराका अध्यक्ष तथा सिइओ जोन डेन्नेलिन्डले विज्ञप्तिमा भनेका छन्।
युरेसियामा आफ्नो उपस्थिति घटाउँदै जाने टेलियासोनेराको घोषित नीति अनुसार उसले एनसेलको लगानी झिकेको हो।
नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको एनसेल प्राइभेट लिमिटेडको ६०.४ प्रतिशत हिस्साको स्वामित्व लिएको सेन्ट किट्समा दर्ता भएको अफसोर शेल कम्पनी रेनोडल्ड्स होल्डिङ्ग्सका सेयर एक्जियटाले एक अर्ब तीन करोड अमेरिकी डलरमा खरिद गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै टेलियासोनेराले निरजगोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत स्थानीय साझेदारको सेयरमा रहेको इकोनोमिक इन्ट्रेस्टबाट पनि सिंगापुरको सुनिभेरा क्यापिटल भेन्चर्सलाई ४ करोड ८० लाख अमेरिकी डलर पाएपछि हात झिकेको विज्ञप्तिमा उल्लेख गरेको छ।
टेलियासोनेराले खासमा ती सेयर नेपालको कानुनले नमिल्ने भएरमात्र श्रेष्ठको नाममा देखाइरहेको थियो।
२० प्रतिशत स्थानीय साझेदारको सेयर नेपाली नागरिकले खरिद गर्नुपर्ने भए पनि विज्ञप्तिमा सिंगापुरको कम्पनीलाई बेचिएको भनिएको छ। सिंगापुरको उक्त कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेल बेच्ने घोषणा हुनुअघि हतारहतार एक डलरमा खडा गरिएको शेल कम्पनी हो।
उक्त कम्पनीका एक मात्र सेयरहोल्डर भावनासिंह श्रेष्ठ रहेकी छिन्, जो सतिशलाल आचार्यकी श्रीमती हुन्।
टेलियासोनेराले सबै सम्वद्ध निकायबाट बिक्रीका लागि अनुमति पाइसकेको दावी गरेको छ। तर पूँजिगत लाभ करको विषयमा लामो समयदेखि उठेको विवाद अन्त्य भइसकेको छैन।
गएको साता अर्थ समितिमा एनसेलको विषयमा छलफल हुने निर्धारित कार्यक्रम अकस्मात् स्थगित गरिएको थियो।