BIZMANDU
www.bizmandu.com

अफसोर फाइल लिक: विश्वका नेताको खुल्यो पोल

२०७२ चैत्र २२

अफसोर फाइल लिक: विश्वका नेताको खुल्यो पोल
अफसोर फाइल लिक: विश्वका नेताको खुल्यो पोल


  • उमेश श्रेष्ठ/बिजमाण्डू

काठमाडौँ : विश्वका धनी र प्रख्यात नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा छायाँ कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले आज गरेको छ।

Tata
GBIME
NLIC


प्राप्त १ करोडभन्दा बढी कागजातहरुबाट विश्वभरका सयभन्दा बढी समाचार संस्थाहरुको सहकार्यमा एक वर्षसम्मको अनुसन्धानपछि यो खुलासा गरिएको हो।

यसमा रहेका २ लाख १४ हजार अफसोर कम्पनीका तार विश्वका २०० देशका १४० नेता र सार्वजनिक पदाधिकारीहरुसित जोडिएको छ।
 
नेपालको के छ?

गत वर्षको तथ्याङ्क अनुसार नेपालमा लगानी प्रतिवद्धता जनाउने प्रमुख देशको तेस्रो नम्बरमा ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीहरु पर्छन्। पहिलोमा भारत र दोस्रोमा चीन हो।

नेपालको मोबाइल सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर होल्डिङ गर्ने कम्पनी रेनल्डस् होल्डिङस पनि यस्तै ट्याक्स हेभनमा दर्ता भएको कम्पनी हो। अहिले एनसेलको २० प्रतिशत स्थानीय सेयर किन्न खोज्ने भावना सिंह श्रेष्ठको कम्पनी पनि ट्याक्स हेभन सिंगापुरमा दर्ता भएको कम्पनी हो।

नेता र शक्तिकेन्द्रसँग नजिकिएका कारण विवादमा आउने अजयराज पराजुली (सुमार्गी) को मुक्तिश्री समूहका नाममा ब्रिटिस भर्जिन आइल्यान्डसबाटै आएको साढे तीन अर्ब रुपैयाँ ऋणलाई नेपाल राष्ट्र बैँकले अहिलेसम्म फ्रिज गरिराखेको छ।

ग्रान्डी अस्पतालको ५१ प्रतिशत सेयर किनेको रेवान बिजनेस लिमिटेड पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो जसमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी छ।

यद्पिय अहिलेसम्म सार्वजनिक 'लिक'हरु नेपालको नाता जोडिएका कुनै पनि डकुमेन्ट छैनन्। आइसिआइजेले सार्वजनिक गरेको पनामा पेपर्स म्यापमा भने नेपालका सात जना सेयरहोल्डर रहेको उल्लेख छ। 

पुटिनदेखि सि जिनपिङसम्मको खुलासा
लिक भएका डकुमेन्टमा ५० भन्दा बढी देशका १४० नेताहरुको नाम जोडिएको छ। यसमा राष्ट्रप्रमुख, उनीहरुका सहयोगी, मन्त्रीहरु र निर्वाचित पदाधिकारीसमेत पर्छन्।

यसमा १२८ नेता र सार्वजनिक पदाधिकारीहरुले गरेका गोप्य आर्थिक कारोबारको विस्तृत विवरणसमेत छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरुले २ अर्ब अमेरिकी डलर गोप्य रुपमा कारोबार गरेको खुलासा यसमा गरिएको छ। त्यसैगरी पाकिस्तान र आइसल्यान्डका प्रधानमन्त्री, साउदी अरबका राजा र अजरबैजानका राष्ट्रपतिका सन्तानको नियन्त्रणमा रहेको कम्पनीहरुको खुलासा फाइलहरुले गरेका छन्।

अमेरिकी सरकारले कालोसूचीमा राखेका कम्तिमा ३३ जना व्यक्ति र समूहको लगानी पनि यी फाइलहरुले खुलासा गरेको छ।
 
भन्ने एउटा गर्ने अर्कै
भ्रष्टाचारविरुद्ध अभियान छेड्ने चिनियाँ नेता सि जिनपिङ, भ्रष्टाचारविरुद्ध सुधार अभियान चलाएको भन्ने युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को र ट्याक्स हेभन रिफर्म गर्ने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका स्वर्गीय पिताको अफसोर डिलिङहरु समेत यसमा हेर्न सकिन्छ।
 
गैरकानुनी हो?
अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ।

खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको छ।