काठमाडौं : ठूलो लगानी र महत्वाकांक्षी योजनासहित सुरु भएको हिमालय एयरलाइन्स व्यवसायिक उडानअघिको ‘प्रुभिङ फ्लाइट’को प्रतीक्षामा जुटिरहेको छ। पहिलो फ्लाइटले सम्भवतः काठमाडौंलाई भारतको नयाँ दिल्लीसँग जोड्दैछ यसले। तर, ठीक यतिखेरै यसका सञ्चालकहरुमा रहेको बिजनेस कनेक्सन भने टुट्ने संघारमा पुगेको छ।
तिब्बेटियन एअरलाइनसँग सहकार्य गर्न जुटेको हिमालय एयरलाइन्सको नेपाली ‘टिममेट’बीच व्यवसायिक सम्बन्ध विच्छेदको औपचारिक घोषणा केही दिनभित्रै हुने भएको छ। ५ वर्षमा १० ठूला विमान भित्र्याएर नेपाली उड्ययन इतिहासमा नक्षत्र बन्ने उद्घोष गरेको हिमालय एअरलाइन्सको भविष्य पहिलो व्यवसायिक उडान नभर्दै आशंकाको घेराभित्र परेको छ।‘औपचारिक घोषणामात्र बाँकी रहेको अवस्था हो,’ हिमालय एअरलाइन्सका एक लगानीकर्ताले पुष्टि गरे, ‘हामी हिमालय एअरलाइन्सबाट बाहिरिँदैछौं, त्यसको प्रक्रिया अघि बढिसक्यो।’
बाहिरिँदै पृथ्वीबहादुर पाँडे
हिमालय एअरलाइन्सका अध्यक्ष हुन् पृथ्वीबहादुर पाँडे। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर यो एयरलाइन्सको विमान चीनको औपचारिक भ्रमणमा जाँदा पाँडे पनि भ्रमण दलका सदस्य थिए। आफू अध्यक्ष रहेको विमानमा प्रधानमन्त्रीसँगै पहिलो फ्लाइटमा सयर गरेका उनी त्यस भ्रमणपूर्व नै कम्पनीबाट बाहिरिने निर्क्यौल भइसकेको थियो।
व्यवसायिक फ्लाइटको अनुमति पाउनुअघि नै उडेको भनेर विवादमा तानिएको यो विमानलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले 'विशेष फ्लाइट'को अनुमति दिएको थियो। सरकारको विशेष तथा सामरिक महत्वका भ्रमण र सैन्य प्रयोजनका लागि दिइने 'विशेष अनुमति' पाएर विमान चीन उडेको हो।
लामो समयदेखि नेपाली बैंकिङ क्षितिजमा भलाद्मी र सुघ्घरी छवि बनाएका उनी र उनको टिम यो महत्वकांक्षी प्रोजेक्टबाट अब बाहिरिँदै छ। वित्तीय क्षेत्रमा लगानीको जोखिमलाई नजिकबाट नियालेका चार्टर्ड अकाउन्टेन्ट पाँडेले आकाशे उडानको जोखिमलाई कमजोर रुपमा हेरेनन् र त्यसमा साझेदारहरु थपे। व्यवसायिक जीवनमा क्लिन व्यवहार भएका कारण उनको लिडरसीपमा धेरैजना लगानी गर्न तयार भए। लगानीको ४१ प्रतिशतभन्दा बढी सेयर लिएर पाँडे समूह बैंकिङबाट उडान सेवामा छिरेको थियो।
बोर्डका अन्य दुई पनि आउट
अध्यक्ष पाँडेसँगै हिमालय एयरलाइन्सका सञ्चालक समितिका अन्य दुई सदस्य पनि कम्पनीबाट बाहिरिँदैछ। ५१ प्रतिशत हिस्सा राख्ने नेपाली पक्षमा पृथ्वीबहादुर पाँडे, महेश्वर श्रेष्ठ, आङछिरिङ शेर्पा र सुमन पाण्डे गरी चार जना कम्पनीको बोर्डमा छन्।पाँडे र श्रेष्ठ बैंकर हुन् भने शेर्पा र सुमन पाण्डे हवाइ सेवासँगै जोडिएका।
शेर्पा नेपालको हवाई सेवाको ठूलो प्लेयर यति एअरलाइन्सका संचालक हुन्। उनको नेतृत्वमा यति र तारा एअर तथा यति वर्ल्ड सञ्चालनमा छ। पाण्डे फिस्टेल हेलिकप्टरका सिइओ हुन्। निजी क्षेत्रको हेलिकप्टरमा फिसटेल सशक्त मानिन्छ। अब यो टिममा शेर्पा बाहेक सबै बाहिरिँदैछन्।
चिनियाँको महत्वाकांक्षी योजना
चिनियाँ सरकारकै विशेष पहलमा तिब्बेटियन एअर नेपालमा व्यवसाय गर्न भित्रिएको हो। तिब्बेटियन एअरको हिमालय एअरलाइन्समा लगानीको सबैभन्दा ठूलो ४९ प्रतिशत हिस्सा छ।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सको कमजोर धरातल र व्यवसायिक असफलताको श्रृङ्खलालाई चिर्नेगरी पाँच वर्षभित्रै १० ठूला जहाजबाट नेपाललाई विश्वका धेरै भागसम्म जोड्ने कम्पनीको योजना छ। र, त्यसको थालनी प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीलाई चीन भ्रमणमा लगेर गरिसकेको छ।
कम्पनीमा दोस्रो ठूलो हिस्सेदार हो इन्भेस्टमेन्ट बैंकका प्रमुख लगानीकर्ता पृथ्वीबहादुर पाँडेको टिम। उनको टिमले झन्डै ४१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ कम्पनीमा।तेस्रो साझेदार हो यति एअरलाइन्सको मातहतमा रहेको यति वर्ल्ड जसको कम्पनीमा १० प्रतिशत हिस्सेदारी छ।
सानो हिस्साको ठूलो दबाब
‘कहिलेकाहीँ सानो स्टेकवाला बढी भाइब्रेन्ट हुनसक्छ बिजनेसमा,’ लगानी छाड्ने निर्णय गरिसकेका ती लगानीकर्ताले भने, ‘अहिलेको अवस्था त्यही भएको हो।’ र, यो समूहको बहिर्गमनलाई सहजै लिएको छ यति समूहले।१० प्रतिशत हिस्सेदार भएको यति वर्ल्डभन्दा पहिले तिब्बेटियन एअरलाइन्स पाण्डे समूहसँग जोडिएको थियो।
चिनियाँ सरकारले नेपालबाट पर्यटक इन्जेक्ट गर्ने रणनीति पहिलेदेखि नै लागू गर्न चाहन्थ्यो। त्यसका लागि यातायातको आवश्यकता पर्यो् र चीनको मेनलाइनकै आग्रहमा तिब्बेटियन एयरलाइनले नेपालमा बिजनेस विस्तारको रणनीति बनायो।
उसले साझेदार खोज्ने क्रममा धेरै समूहसँग छलफल पनि चलायो। त्यही क्रममा उसले पाएको सबैभन्दा विश्वसनीय पार्टनर थियो इन्भेस्टमेन्ट बैंक समूहका पाण्डे। १० प्रतिशत हिस्सेदार रहेको यति वर्ल्ड लाइसेन्सको प्रक्रियामा पुगेपछिमात्रै कम्पनीमा जोडिएको थियो।
कम्पनीको कूल लगानी २ सय ५० करोड रहेको छ जसमा पाँडे समूहले १ सय करोड लगानी गर्ने प्रतिवद्धता जनाएको थियो। पहिलो चरणमा ५० करोड रुपैयाँ यो समूहले सम्झौता भएको ६ महिनामा रकम बुझाउने तयारी गरेको थियो। बाँकी ५० करोड रुपैयाँ चिनियाँ बैंकले यो समूहलाई ऋण उपलब्ध गराउने तय भएको थियो। त्यस्तै नेपालमा रहेको अर्को पक्ष यति ग्रुपले पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ र त्यति नै रकम दोस्रो चरणमा बुझाउने सहमति भएको थियो।
‘हामीले इनिसियल कस्टमात्र हालेका थियौं। त्यो अहिले झिकेका छौं र अन्तिम डकुमेन्ट तयार भएको ६ महिनामा बाँकी रकम बुझाउनुपर्ने थियो,’ उनले भने, ‘लास्ट डकुमेन्ट तयार भएपछि ६ महिनामा रकम हाल्नुपर्ने थियो। तर त्यो चरणमा जानुपर्ने भएन।‘
ठूलो च्यालेन्ज, सुरुमै मनमुटाव
पाँडे समूह अन्तर्राष्ट्रिय उडानको कडा प्रतिस्पर्धामा उत्रिनुपर्ने व्यवसायको सुरुमै लगानीकर्ताबीच मनमुटाव देखिएपछि सचेत बनेको देखिन्छ। त्यसैका आधारमा उनीहरुले निर्णय गरे – अघि बढ्नु ठीक छैन।
चिनियाँ लगानीकर्ता विश्वसनीय रहे पनि नेपाली पार्टनरबीच मनमुटाव हुँदा व्यवसायमा असर पर्ने पाँडे समूहको ठहर छ जसले गर्दा उनीहरुले यति वर्ल्डका लागि बाटो खुला गराउँदैछन्।
नेपाली निजी क्षेत्रको विमान सेवा सञ्चालन गर्ने प्रमुख खेलाडी यति एअरलाइन्स सानो हिस्सेदारी लिएर प्रवेश गरेको भए पनि अब हिमालयन एअरलाइन्समा प्रमुख लगानीकर्ता हुने स्थिति बनेको छ।
तयारीसहित भित्रिएका चिनियाँ
नेपालमा व्यवसाय गर्न विभिन्न पार्टीसँग कुराकानी गरेका थिए तिब्बेटियन समूहले। सबैभन्दा पहिले उनीहरुले छानेको पाँडेको समूह नै हो। यतिसँग समझदारीका लागि हात बढाउनुअघि नै पाँडे समूहले काम थालिसकेको थियो यस एअरलाइन्समा।
बुद्ध एअर लगायतका कम्पनीहरुसँग पटकपटक चिनियाँ लगानीकर्ताले सहकार्यका लागि छलफल गरेको थियो। निजी क्षेत्रका एअरलाइन्समध्ये अल्पाइन एअरसँग अन्तिमसम्मै चिनियाँहरु छलफलमा थिए। डिक्लेर एओसी फेल भएकाले अल्पाइन एअर यो प्रोजेक्टमा जोडिन नसकेको हो।
अबको बाटो के?
नेपालमा सामान्य हिसाबले लगानी गर्न चिनियाँ टोली भित्रिएको होइन। साथै लगानीका लागि चिनियाँ पक्ष धेरै नै बलियो पनि छ। जुन देशको क्यारिअर हो त्यो मुलुकको कम्पनीको सेयर ५१ प्रतिशतभन्दा माथि रहनुपर्ने प्रावधानका लागि मात्रै चिनियाँले नेपाली पार्टनर खोजेको हो। लाइसेन्स होल्डिङ गर्ने देशको सेयर बढी हुने प्रावधानले लगानीमा यस्तो स्थिति बनाएको छ।
यस आधारमा महत्वकांक्षी यो एअरलाइन्स दुई आधारमा अगाडि बढ्नसक्छ – पहिलो हो अरु नै लगानीकर्ता खोज्ने र दोस्रो यति वर्ल्डलाई नै थप लगानी गर्न लगाउने। दुवै सम्भावना उत्तिकै बलिया छन्।
उत्तरी छिमेकी चिनियाँको ठूलो लगानी भएको एअरलाइनको प्रुभिङ फ्लाइट दक्षिणी छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा उडान भरेर गर्ने तयारी आफैमा रोचक पनि छ।
राजनीतिक रुपमा चीनसँग नेपालको नजिकिएको नाता र भारतसँग चिसिएको सम्बन्धमा सुध्रिँदै गरेको अवस्थालाई निजी क्षेत्रले जोड्न खोज्दैछ। दुई छिमेकीसँगै अन्य मुलुकहरुलाई जोड्न हिमालय एअरलाइन्स कति सफल हुन्छ त्यसलाई अहिलेको ‘बिजनेस ब्रेकअप’कै आधारमा मात्र विश्लेषण गर्नु गलत हुनसक्छ।