काठमाडौं । लगानीकर्ताले १३५० अंकपछि सेयर बजारमा 'करेक्सन' आउने बताइरहेका बेला धेरै पछाडि स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकले बजारलाई डोहोर्याएर नयाँ उचाइमा पुर्याएका छन् ।
बिमा र लघिवत्त विकास बैंकहरुले सेयर बजारलाई 'गाइड' गरिरहेका बेला एभरेष्ट र चार्टर्ड बैंकको अगुवाइमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकले साढे ११ अंकको बृद्धिसहित १३५० अंकलाई नाघेको छ ।
बजारका 'ब्लु चिप' एभरेष्ट र चार्टर्डले बिमा सुचक पुरै रातो र लघुवित्त स्थिर रहँदासमेत बैंकिङ सुचकलाई उचालेका हुन् । सेयर बजारमा लघुवित्त तथा इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताको आकर्षण 'स्याचुरेट पोइन्ट' मा पुगेका बेला बैंकिङ समूहभित्रको संयुक्त लगानीका बैंकहरुले नेप्सेलाई नयाँ उचाइ दिन सुरु गरेका हुन् ।
केही इन्स्योरेन्स कम्पनी र लघुवित्तले लाभांश दिन बाँकी भएपनि लगानीकर्ताले दीर्घकालीन लगानीका लागि राम्रो मानिएका बैंकहरुमा लगानी केन्द्रित गरेका हुन्। बीमा समूहको सूचक बुधबार पनि ओरालो लागेको थियो।
बजारमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने वाणिज्य बैंकको सेयर मूल्यमा उतारचढाव आउँदा त्यसको असर बजारमा नै देखिएको बताउँछन् सेयर विष्लेशक रविन्द्र भट्टराई। 'अहिले ट्रेडरहरुको मुभमेन्ट धेरै भइरहेको छ, वाणिज्य बैंकमा उनीहरु आकर्षित भएको देखिन्छ,' उनले भने, 'त्यसले पनि बजारमा असर गरेको छ।'
भट्टराईले बैंकिङले विगतमा पनि बजारलाई सधैं लिड गरेको भन्दै अहिलेको पनि त्यस्तै अवस्था देखिएको बताए। 'अहिलेसम्म बैंकले नै लिड गरेको हो, थोरै रकम घटबढ हुँदा पनि मार्केटको इन्डेक्समा असर गर्छ,' उनले भने, 'ठुलो भोल्युम भएकाले यिनीहरुको कारोबारको असर बजारमा देखिएको हो।'
रेटिङ नगरे अझै बढ्न सक्छ
वाणिज्य बैंकहरु पुँजी बढाउन विभिन्न उपकरण अपनाइरहेका छन्। त्यसमध्ये अहिले धेरैको हकप्रद सेयर पनि निष्काशन भइरहेको छ। नेपाल धितोपत्र बोर्डले यिनीहरुको हकप्रदको क्रेडिट रेटिङ नगर्ने हो भने बजार अझै बढ्ने बताउँछन् भट्टराई।
'अहिले हकप्रद सेयरको क्रेडिट रेटिङ नगर्ने कुरा पनि भइरहेको छ, त्यो भयो भने बजार अझै बढ्ने अवस्था देखिन्छ,' उनले भने, 'हकप्रदका लागि छिटो छिटो बुक क्लोज गर्दा थोरै भए पनि मूल्य बढ्छ। त्यसैले पनि बजारमा वाणिज्य बैंकहरुको लिडिङ बलियो बन्न सक्छ।'
करेक्सनको संभावना छ ?
पुँजी बजारमा १० प्रतिशतसम्मको घटबढलाई करेक्सनका रुपमा लिइन्छ। अहिले बजार साढे १३ सय अंक नाघेको छ। विहीबारकै सूचकलाई आधार मान्ने हो भने पनि बजार करेक्सन हुन एकसय ५० भन्दा धेरै अंकले घट्नु पर्छ।
'डेढसय अंकले तत्काल बजार घट्ने संभावना देखिँदैन,' उनले भने, 'त्यसैले पनि बजारमा अहिल्यै त्यस्तो करेक्सन होला जस्तो लाग्दैन। दुई/चार अंकको तलमाथि हुनु त सामान्य नै हो।'
बजारमा दोहोरो अंकको वृद्धि
विहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सेयर बजार ११.६१ अंकले बढेर १३५७.१४ अंकमा पुगेको छ। बजारमा एकसय ३१ कम्पनीको ८४ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा वाणिज्य बैंक समूहको सूचक १८ अंकले बढेको छ। अन्य समूहको सूचक पनि २४ अंकले बढेको छ। बीमामा ४३ अंकको गिरावट देखिएको छ। यस्तै जलविद्युत कम्पनीको सेयर ६.३३ अंकले घटेको छ।
बजारमा एभरेष्ट बैंकको सेयर सबैभन्दा धेरै अर्थात पाँच करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै एनएमबी बैंक र नेपाल एसबिआई बैंकको सेयर पनि चार करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ। सेयर बजारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये आठवटा वाणिज्य बैंक छन्।
बजारमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। एभरेष्ट बैंकको सेयर मूल्य ९५ रुपैयाँले बढेको छ। बजारमा एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।