BIZMANDU
www.bizmandu.com

अाठ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक बन्दै नेपाल बैंक, २३ प्रतिसत हकप्रदको प्रस्ताव

२०७२ चैत्र १०

काठमाडौं। पुँजी वृद्धि गर्ने नेपाल राष्ट्र बैंकको निर्देशनपछि आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने नेपाल बैंक पहिलो बैंक बन्ने भएको छ। नेपाल बैंकले २३.७४३ प्रतिशत अर्थात (१००:२३.७४३) हकप्रद निष्काशन गरेर चुक्ता पुँजी आठ अर्ब पुर्‍याउन लागेको हो।

Tata
GBIME
Nepal Life

नेपाल बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब ४६ करोड ५० लाख दुई हजार रुपैयाँ छ। यो पुँजीको २३.७४३ प्रतिशत अर्थात एक अर्ब ५३ करोड ४९ लाख ८५ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो। यो हकप्रद सेयर बाँडफाँटपछि बैंकको चुक्ता पुँजी ठिक आठ अर्ब रुपैयाँ पुग्नेछ। बैंक सञ्चालक समितिको चैत ६ गतेको बैठकले हकप्रद सेयरको प्रस्ताव गरेको हो । 

'हाम्रो अहिलेको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ, यो निष्काशनपछि आठ अर्ब रुपैयाँ पुँजी पुग्छ,' नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले भने, 'राष्ट्र बैंकको चुक्ता पुँजी बढाउने निर्देशन अनुसार नै यो निर्णय गरिएको हो।'

नेपाल बैंकले यसअघि पनि हप्रद सेयर दिएर नै पुँजी बढाएको थियो। पुँजी वृद्धि गर्ने राष्ट्र बैंकको निर्देशनपछि बैंकले चार वर्षअघि १:९.५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले हकप्रद निष्काशन गरेर चुक्ता पुँजी तीनअर्ब ९६ करोड रुपैयाँ पुर्‍याएको थियो।

त्यसपछि सरकारले दिएको करिब दुई अर्ब ५० करोड रुपैयाँ ऋणलाई सेयरमा परिणत गरेर बैंकले चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुर्‍याएको हो। नेपाल बैंकका लगानीकर्ताले चार वर्षअघिको हकप्रदपछि फेरि हकप्रदमा लगानी गर्ने अवसर पाएका छन्। यो बीचमा बैंकले लगानीकर्तालाई लाभांश दिन सकेको छैन।

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगेपनि नेपाल बैंकको रिजर्व भने अझै ऋणात्मक छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकको रिजर्व एक अर्ब ५४ करोड रुपैयाँले ऋणात्मक छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा एक अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको थियो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले २०७४ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो। केन्द्रीय बैंकको निर्देशन आउनु अघि नै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ भन्दा धेरै छ। यद्यपि कृषि विकास बैंकमा रहेको सरकारको कन्भर्टिबल प्रिफरेन्स सेयरलाई केन्द्रीय बैंकले चुक्ता पुँजी गणना गर्न अस्वीकार गरेको छ।

नेपाल बैंक नेपालको बैंकिङ इतिहासको पहिलो बैंक पनि हो। राणा शासनकै बेला अर्थात विक्रम सम्वत १९९४ मा यो बैंकको स्थापना भएको थियो।