रामपुर । पाल्पामा यसवर्ष १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो ।
गत वर्ष सातसय ३० हेक्टर क्षेत्रफलमा सात हजार पाँचसय १८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने यसवर्ष सोही क्षेत्रफलमा सातहजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताए।
कार्यालयको सिफारिसमा किसानले यसवर्ष टिपियस, कार्डिनल, स्थानीयजातका आलु लगाएका हुन् । जिल्लाको रामपुर, अर्गली, मदनपोखरा, हुँगीलगायतका क्षेत्र आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् । यहाँ सिजनमा आलुको जातअनुसार प्रतिकिलो २० रुपैयाँभन्दा माथी किसानले बिक्री गर्दैआएका छन् । रासस