BIZMANDU
www.bizmandu.com

बुढीगण्डकी आयोजनाको विस्तृत अध्ययन गर्न फ्रान्सेली कम्पनीलाई ९७ करोड रुपैयाँको ठेक्का

२०६९ मंसिर १८

बुढीगण्डकी आयोजनाको विस्तृत अध्ययन गर्न फ्रान्सेली कम्पनीलाई ९७ करोड रुपैयाँको ठेक्का
बुढीगण्डकी आयोजनाको विस्तृत अध्ययन गर्न फ्रान्सेली कम्पनीलाई ९७ करोड रुपैयाँको ठेक्का

काठमाडौँ । जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययनको जिम्मेवारी ट्याक्टेवल इन्जिनियरिङ्ग एसए फ्रान्सले पाएको छ । छ सय मेगावाटको यो आयोजनाको विस्तृत अध्ययनका लागि ९७ करोड रुपैयाँ खर्च हुनेछ ।
परामर्श सेवाका लागि नेपाल विद्युत् प्राधिकरण र ट्याक्टेवल फ्रान्सबीच आइतवार सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइराला र फ्रान्सका राजदूत जाँ चाल्र्स डामारकिसको उपस्थितिमा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार परामर्शदाताले आयोजनाको स्थलगत अन्वेषण, सम्भाव्यता अध्ययन, वातावरणीय असर मूल्याङ्क, सामाजिक अध्ययन र पुनःस्थापनाको कार्ययोजना र विस्तृत इन्जिनियरिङ ढाँचासहित पूर्ण बोलपत्रको कागजात तयार गर्नेछ ।
कार्यक्रममा फ्रान्सका राजदूत डामारकिसले नेपालको जलविद्युत् विकासका लागि फ्रान्सले विशेषज्ञता उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव कोइरालाले बुढीगण्डकी विकास समितिमार्फत आयोजनाका अन्य कार्य अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले अध्ययनकै अवधिमा परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन समेत जुटाउने बताउनुभयो ।

Tata
GBIME
Nepal Life