BIZMANDU
www.bizmandu.com

बुटवल पावर कम्पनीले सेयरधनीलाई बनायो निरास, नाफा दोब्बरले बढे पनि लाभांस बढेन

२०६९ मंसिर १७

बुटवल पावर कम्पनीले सेयरधनीलाई बनायो निरास, नाफा दोब्बरले बढे पनि लाभांस बढेन
बुटवल पावर कम्पनीले सेयरधनीलाई बनायो निरास, नाफा दोब्बरले बढे पनि लाभांस बढेन


काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २२ गते साधरणसभा गर्ने र सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
कम्पनीले नाफा झण्डै दोब्बरले बढाए पनि लाभांस घोषणामा भने कञ्जुस्याईं गरेको छ । अघिल्लो वर्ष ३२ करोड ८९ लाख रुपैयाँ नाफा गर्दा पनि कम्पनीले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांस दिएको थियो । यस वर्ष कम्पनीले नाफा ५६ करोड ११ रुपैयाँ नघाए पनि लाभांस भने पहिले जत्ति नै गरेपछि सेयरधनीले स्टकमा चिसो प्रतिक्रिया जनाएका छन् ।
कम्पनीको आइतवार सुरुवाती कारोवार प्रतिकित्ता झण्डै २० रुपैयाँले घटेर भएको छ । गत विहिवार ७८१ रुपैयाँमा सेयर कारोवार बन्द भएको बुटवल पावरको आइतवार सुरुवाती कारोवार प्रतिकित्ता ७६१ रुपैयाँमा भएको छ । कम्पनीको नेपाल स्टकमा एक करोड एक लाख ५२ हजार कित्ता सेयर सूचिकृत छ । सेयरधनीले यसपटक बुटवल पावरबाट नगदसँगै बोनस सेयरको समेत अपेक्षा गरेका थिए । जलविद्युत समूहको चिलिमे हाइड्रोले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिएको थियो । त्यसैगरी अरुण भ्यालीले १५ प्रतिशत बोनस सेयर दिएको थियो ।
काबेली लगायतका जलविद्युत आयोजन निर्माणमा हात हालेको बुटवल पावरका लागि पुँजीको संरचना फराकिलो बनाउनुपर्ने र त्यसका लागि बोनस सेयर जारी हुने अपेक्षा साधरण सेयरधनीको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले चार करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको थियो । बुटवल पावरले पहिलो त्रैमासमा आफ्नो सबसिडरी कम्पनी कावेली इनर्जी लिमिटेडलाई २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

Tata
GBIME
Nepal Life