BIZMANDU
www.bizmandu.com

कफीपछि थकाली खाना बेच्दै हिमालयन जाभाका गगन

२०७२ फागुन १८

कफीपछि थकाली खाना बेच्दै हिमालयन जाभाका गगन
कफीपछि थकाली खाना बेच्दै हिमालयन जाभाका गगन


काठमाडौं ।  गगन प्रधान  झण्डै एक दशकदेखि बौद्धमा हिमालयन जाभाको नयाँ आउटलेट खोल्न खोजिरहेका थिए। तर उनले कहिल्यै भनेजस्तो ठाउँ पाएनन्। कहिले ठाउँ नै नपाउने पाए पनि सानो हुने। तर उनले ठाउँ खोज्न भने कहिल्यै छाडेनन्।
 
केही महिना अघि फेरी ठाउँ खोज्दै गगन बौद्धमा पुगे। चारै तिर नजर डुलाए। भेटेका सबैसँग सोधखोज गरे। नभेटिने छाँटकाँट देखिएपछि उनी थकाली भान्सामा छिरेर खाना अर्डर गरे। कुराकानीका क्रममा साहुजीले भने, पैसो पाए यही थकाली भान्साघर बेच्छु।
 
गगनलाई बौद्धमा चाहिएको थियो कफि सप, भेटियो थकाली भान्साघर। उनले तै पनि त्यो भान्साघर किन्ने र त्यसलाई विस्थापन गरेर हिमालयन जाभाको कफि सप विस्तार गर्ने निर्णय गरे। उनले मोलतोल गरे र थकाली भान्साघर लिए।
 
थकाली भान्साघर त लिए तर त्यहाँको सामान हिमालयन जाभालाई काम नलाग्ने। भएको सामान कसलाई जिम्मा लगाउने?, उनलाई समस्या भयो। बेच्न खोज्दा मूल्य नै नआउने।
 
यही क्रममा गगनको भेट भयो थकाली सेफ शम्भु बस्नेतसँग। थकाली खानाका लागि प्रसिद्ध पोखराको मोनालिसा होटलमा झण्डै ११ वर्ष, त्यसअघि सनी होटलमा छ वर्ष काम गरेका शम्भुसँग गगनले साथ मागे। झण्डै एक वर्ष सिंगापुरमा खानासम्वन्धी तालिम लिएका र त्यसपछि एक वर्ष कोरिया बसेका शम्भुलाई  गगनले साझेदारका रुपमा भित्र्याए।
 
त्यसपछि उनीहरुले थकाली भान्साघरका लागि नयाँ लोकेशन खोजे एटिक बार भएको स्थान छाता गणेश टंगाल। नाम राखियो निलगिरी थकाली डिलाइट्स। छेउमा एटिक बार छ, सँगै जोडिएको ठाउँमा तल निलगिरी थकाली र माथि टंगालवुड बुटिक होटल छ।
 
बौद्धको थकाली भान्साबाट ल्याएका सामानलाई पोलिस गरियो। कुर्ची टेवल त्यसैले काम गरे। अनि निलगिरीको नयाँ स्वरुप तयार भयो। निलगिरीमा ८० जनाले एकै साथ खाना खान सक्छन्।
 
गगन भन्छन्, निलगिरीमा खानाको गुणस्तरमा कुनै पनि सम्झौता हुनेछैन,  त्यससँगै सफाईलाई सबैभन्दा ध्यान दिइनेछ। उनले थकाली स्वादलाई सबैभन्दा प्राथमिकता राखिएको समेत बताए।
 
निलगिरीका सेफ शम्भुले थकाली खानाको गुणस्तर र स्वादलाई कायमै राख्न मुस्ताङबाट आलु, फापर, दाल र सुकुटी मगाइएको बताए। हामीले सामान मुस्ताङबाट मगाइरहेका छौं, उनले भने। सेफ शम्भुले मेन कोर्समा ढिंडो,  भात रहेको जानकारी दिए।
 
निलगिरीमा अरु थकालीभन्दा मूल्य भने केही माथि छ। जस्तो भेज खानाको मूल्य ३५० रुपैयाँ छ भने ननभेटमा चिकेन खाना ५१० तथा मटन खाना ५९० रुपैयाँ छ। तर मटन र चिकेन खानामा भने माछा पनि उपलब्ध हुन्छ। मेनुको मूल्य अरुभन्दा केही महँगो छ तर मुस्ताङबाट सामान आयात गर्दा केही महँगो भएको हो गगनले भने।
 
प्रशस्त पार्किङ, थकाली खानामा कर्पोरेट टच र हाइजिनका लागि यो मेनु त्यति महँगो होइन् उनले भने। अहिले निलगिरीमा १७ जनाले रोजगारी पाएका छन्। त्यसमध्ये किचनमा काम गर्ने तीन जनाको थकाली खानमा लामो अनुभव छ।  

Tata
GBIME
NLIC