BIZMANDU
www.bizmandu.com

बैंकहरुको खराव कर्जा अब बढ्दैन, राजनसिंह भन्डारीको विश्लेषण

२०७२ फागुन १३

बैंकहरुको खराव कर्जा अब बढ्दैन, राजनसिंह भन्डारीको विश्लेषण
बैंकहरुको खराव कर्जा अब बढ्दैन, राजनसिंह भन्डारीको विश्लेषण

Tata
GBIME

राजनसिंह भन्डारी
नेपाल राष्ट्र बैंकले असोज र पुस मसान्तमा दिएको नीतिगत सहुलियतले चैत मसान्तसम्मका लागि व्यवसायी तथा बैंकरलाई सहज भएको छ । बैंकहरुले यस अवधिमा अप्ठेरो परेका ऋणीहरुको ऋणलाई पुनर्तालिकीकरण गरिदिसकेका छन् ।

अब नाकाबन्दी खुलेको छ । नाकाबन्दी खुलेसँगै ब्यापार व्यवसाय सामान्य अवस्थामा फर्किन थालेका छन् । यसले गर्दा बैंकहरुको अप्ठेरो पनि हटेको छ । ब्यवसायीहरुले ब्यापार गर्न थालेकाले चैतबाटै कर्जाको साँवा तथा ब्याज तिर्न थाल्छन् ।

ऋण नतिर्ने समूहले अवस्था सहज हुँदा पनि तिरेको थिएन । भुकम्प र नाकाबन्दीका कारण उनीहरुलाई ऋण नतिर्न वाहाना मिलेको थियो । नाकाबन्दीका कारण वास्तवमै असहज अवस्थामा पुगेका केही ऋणीहरु मात्र हुन् । ऊर्जा, सिमेन्ट, पर्यटन तथा होटल क्षेत्रका उद्यमीहरुलाई साँच्चै नै अप्ठेरो परेको थियो । तर उनीहरुले राष्ट्र बैंकबाट सहुलियत पाएका छन् । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतका कारण बैंकहरुले पनि उनीहरुलाई सहजीकरण गरिदिएको छ । अब समस्या छैन ।

नाकाबन्दी खुलेपछि बैंकिङ केही सहज भएको छ । अब जति पनि खराव कर्जा बढ्यो थप बढ्दैन । चैतमा बढ्ने सम्भावना म देख्दिन । एक पटक खराव कर्जामा गणना गरेपछि त्यो एक बर्षसम्म देखिन्छ, त्यति मात्र हो । कर्जा भुक्तानी नभएको तीन महिना नाघेपछि त्यस्तो कर्जा खरावमा गणना हुन्छ । अब खराव कर्जाको अंश बढ्दैन, बढ्यो भने नोक्शानी व्यवस्थापन वापतको रकम मात्र बढ्छ ।

भुकम्प र नाकाबन्दीपछि पनि बैंकहरुले आफ्नो व्यवसायलाई निरन्तर विस्तार गरिरहेका छन् । साउनदेखि अहिलेसम्म बैंकहरुको कर्जा लगानी ८० अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा बैंकहरुको कर्जा ११०२ अर्ब रुपैयाँ थियो अहिले बढेर ११८४ अर्ब पुगेको छ । यो अवधिमा सरदर ८० अर्बले कर्जा वढेको छ ।

८० अर्बले कर्जा बढेका कारण ब्याज दर झर्दा पनि बैंकले नाफा बढाउन सकेका हुन् । तरलता बढेर ब्याज दर घटेकोघटै छ । यसले बैंकको नाफा घट्नु पर्ने हो । तर किने घटेन त ? बैंकिङ क्षेत्रले यस अवधिमा बढाएको ८० अर्ब कर्जाको आम्दानीले घटेको ब्याज दरको आम्दानीलाई सन्तुलनमा ल्यायो । ८० अर्बको ब्याज आम्दानीका कारणले नाफालाई टिकाएको हो । बैंकहरुको नेगेटिभ ग्रोथ होला भन्ने पिर थियो,  तर बढेको कर्जाको आम्दानीले नाफालाई बढायो ।

अब बैंकहरुसँग ब्यापार वढाउने समय चैत मसान्तसम्म मात्र छ । अन्तिम त्रैमास भनेको त्यसलाई थेगेर लैजाने चरण हो । त्यो बेला बैंकहरुले आफ्नो रिकभरीमा ध्यान दिन्छन्, ब्यापार वढाउन सक्दैनन् । त्यसबेला अप्ठेरो परेको कर्जाहरुलाई उठाउन प्रयत्न गर्छन् । जति ब्यापार वढाउने हो अबको डेढ महिना मात्र हो । अवस्था सहज भएकाले अब बैंकहरुले ब्यापार बढाउँछन् जसका कारण बैंकहरु अप्ठेरो अवस्थामा पर्छन् जस्तो लाग्दैन ।

अब अर्थतन्त्रका सबै क्षेत्रमा बृद्धि हुन्छ । पाँच–छ महिनादेखि संकुचित अवस्थामा रहेका व्यवसायहरुले गति लिन थाल्छन् । सेवा क्षेत्र, जलविद्युत्, व्यापारिक, प्रत्येक क्षेत्रमा अब बृद्धि हुन्छ । नाकाबन्दी खुलेपछि विस्तारै ऋणको सोधखोज सुरु भएको छ, अलिअली माग पनि आउन थालेको छ ।

भुकम्प गएदेखि नै बैंकिङ क्षेत्रका लागि अवस्था असहज भएको भनिएको थियो । बैंकरहरुले नै भुकम्प भन्यौं, नाकाबन्दी भन्यौं । तर बैंकिङको बृद्धि भने रोकिएन । असहज परिस्थितिमा त बैंकले राम्रै गरिरहेका थिए भने अब अवस्था सहज हुन थालेको छ । अब थप राम्रो गर्न सकिन्छ । असहज अवस्थामा पनि बैंकिङले बृद्धि गरेका कारण समग्र मुलुकको बृद्धि यतिको धानिएको हो ।
 

(सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भन्डारीसँग कुराकानीमा आधारित)