तपाँईसँग प्रसस्त पैसा छ र आकर्षक घर किन्ने सोख छ भने तपाँईकालागि घडेरी पनि नचाहिने यस्तो घर तयार छ, जहाँ बसेर तपाईं ढुक्कसँग दुनियाँको सयर गर्नसक्नुहुन्छ ।
डुंगामाथी बनाइएको यो घरमा आधुनिक विलासिताका सम्पूर्ण साधन उपलब्ध छन भने यसमा प्रविधिको पनि राम्रै उपयोग गरिएको छ ।
यो घरको क्षेत्रफल १,३०२ वर्गफुट छ । यसमा रहेको बगैंचाको ढाँचा सन् १९३० को जस्तो छ । यो बगैंचालाई खराब मौसममा लुकाउन पनि सकिन्छ । डुंगाघरमा ६ वटा बेडरुम, ६ बाथरुम र बगैंचा छ ।
हाल सेण्टरल लण्डनमा रहेको डुंगाघरमा दुई किचन, एउटा बार, तीन रिसेप्सन रुम र एउटा ह्विलहाउस छ । डुंगाघर मालिकका अनुसार यो घरमा अमेरिकामा सन् २००५ मा आएको क्याटरिना आँधिमा ढलेका रुख प्रयोग गरिए बनाइएको हो ।
सन् १९५७ मा बनेको डुंगालाई पछि डुंगाघरमा परिणत गरिएको हो । यसमा तीनदेखि चार कर्मचारी बस्न मिल्ने सुविधा समेत छ । डुंगाघरमा नेदरल्याण्डमा बनेका काठका ढोका तथा झ्याल लगाइएको छ । यसैगरी यसमा स्पेनबाट मगाइएका प्राकृतिक ग्रेनाइट टायल राखिएको किचेन तथा बाथरुम छ ।
डुँगाघरका भुँईमा समेत ब्राजीलबाट मगाइएको काठ बिछ्याइएको छ । ले सोरेल कम्पनीको ५ सय हर्सपावर इञ्जिन भएको यो डुंगाघरमा जिपिएस, राडार तथा तीनबटा क्यामरा जोडिएको छ ।
सुविधासम्पन्न घरको मूल्य १६ लाख ९० हजार पाउण्ड (२४ करोड रुपैंया) तोकिएको छ । अमेरिकामा निर्मित यो डुंगाघर केहि वर्ष अघि मात्रै अमेरिकाबाट लण्डन ल्याइएको हो ।