काठमाडौं । धितोपत्र बोर्डले वाणिज्य बैंकलाई धितोपत्र दलालको काम गराउने तयारी थालेपछि बोर्ड र धितोपत्र ब्रोकरबीच दोहोरी चलेको छ । धितोपत्र बोर्डले वाणिज्य बैंहरुलाई ब्रोकरको रुपमा बजारमा अगाडि बढाउन चाहिरहेका बेला ब्रोकरले भने त्यसको चर्को विरोध गरेका हुन् ।
'म तपाईंहरुलाई आग्रह गर्छू, तपाईंहरु पनि वाणिज्य बैंकले विश्वास गर्न सक्ने भएर आउनुस् ।'
………..
डा रेवतबहादुर कार्की
अध्यक्ष, धितोपत्र बोर्ड
'पुँजी बजारलाई सुधार गर्ने उद्देश्यले हामीले बजारमा वाणिज्य बैंकहरुलाई प्रवेश गराउन खोजेका हौं,' धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले भने, 'वाणिज्य बैंकलाई बजारमा प्रवेश गराउने भन्ने विषयमा ब्रोकरहरु आत्तिनु हुँदैन । यसलाई बजारको सुधारकै रुपमा लिनुपर्छ ।'
कार्कीले अहिलेका ब्रोकरहरुलाई वाणिज्य बैंकहरुले अझै विश्वास गर्न सक्ने अवस्था नरहेको पनि बताए । 'ब्रोकरहरु पनि वाणिज्य बैंकले विश्वास गर्न सक्ने हुनुपर्छ,' उनले भने, 'म तपाईंहरुलाई आग्रह गर्छू, तपाईंहरु पनि वाणिज्य बैंकले विश्वास गर्न सक्ने भएर आउनुस् ।'
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २१ औं साधारणसभामा कार्की अगाडि मन्तव्य राख्दै ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र निवर्तमान अध्यक्ष नरेन्द्रराज सिजापतिले बोर्डको यो कामको चर्को विरोध गरेका थिए ।
'यस क्षेत्रमा वर्षौंदेखिको अनुभव भएका हामीलाई कार्यक्षेत्र विस्तार गरी सेवामा प्रभावकारीता ल्याउने पहल गर्नुको साटो बैंक तथा वित्तीय संस्थालाई यो व्यवसायमा प्रवेश गराउने हल्ला चलाई व्यवसायीको मनोबल गिराउने काम गरिएको छ,' रेग्मीले भने ।
उनले ब्रोकरको क्षमता वृद्धि गरी कामको दायरा बढाउनु पर्नेमा धितोपत्र बोर्डले वाणिज्य बैंकलाई अगाडि सार्नु उपयुक्त नहुने तर्क गरे ।
रेग्मीको यो प्रश्नमा पनि कार्कीले जवाफ दिएका थिए । '२७ वटा ब्रोकर हुँदा पनि तपाईंहरुले ब्रोकर पुग्ने छन् भन्नु भएको थियो,' कार्कीले भने, 'हामीले डिपीको काममा पनि तपाईंहरुलाई अगाडि सार्यौं, क्षमता विस्तारको काम पनि भइरहेको छ ।'
वाणिज्य बैंकहरुको तर्फबाट नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै ब्रोकरको काम गर्ने बाटो खुलाइदिन आग्रह गरेपछि यो विषयमा बहस चलेको हो । ब्रोकरहरु वाणिज्य बैंकलाई अगाडि सार्न नहुने पक्षमा छन् भने बोर्ड बैंक अगाडि आउनु पर्ने पक्षमा छ ।
संस्थागत लगानीकर्ता आएनन्: अर्थमन्त्री
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा अझै पनि संस्थागत लगानीकर्ता भित्रन नसकेको भन्दै त्यस्ता लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताए । उनले बजारमा बैंक र बीमाको मात्रै ८० प्रतिशत हिस्सा रहेको भन्दै बजार विविधीकरणको पनि आवस्यकता रहेको बताए ।
मन्त्री पौडेलले पुँजी बजार शहर केन्द्रित रहेको भन्दै ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्नु पर्नेमा जोड दिए । उनले बजारमा गैरआवासीय नेपालीको लगानी पनि भित्र्याउनु पर्नेमा जोड दिए । पौडेलले धितोपत्र बजारसँग सम्बन्धित कानुनी सुधारका लागि सरकार तयार रहेको पनि बताए ।
यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष रामजी रेग्मीले दोस्रो बजारको कारोबारलाई पूर्ण रुपमा स्वचालित बनाउन आफूहरुले काम गरिरहेको जानकारी दिए । उनले नेप्सेमा सूचीकृत दुईसय ३१ कम्पनीमध्ये एकसय ३१ वटा डिम्याटमा गइसकेको भन्दै ३८ वटा कम्पनीको कारोबार रोकिएको बताए । सेयर बजारमा अहिले ५० वटा ब्रोकरले धितोपत्र दलालको रुपमा काम गरिरहेका छन् ।