BIZMANDU
www.bizmandu.com

एनसेल किन्दै ७५ रुपैयाँको कम्पनी,हतारमा रजिष्ट्रेशन

२०७२ पुष १६

एनसेल किन्दै ७५ रुपैयाँको कम्पनी,हतारमा रजिष्ट्रेशन
एनसेल किन्दै ७५ रुपैयाँको कम्पनी,हतारमा रजिष्ट्रेशन


विज्ञान अधिकारी/सुदर्शन सापकोटा

Tata
GBIME
Nepal Life

काठमाडौं । एनसेल बिक्री सम्बन्धि २१ डिसेम्वर २०१५ को प्रेस विज्ञप्तीमा टेलियासोनेराले भनेको छ,  टेलियासोनेराले यो कारोबारमा  संलग्न कम्पनी, भावना सिंह श्रेष्ठ र सम्वन्धित पक्षको कम्पनी भित्रैबाट र बाहिरका विशेषज्ञबाट विस्तृत ड्यु डेलिजेन्स तथा पृष्ठभूमीको परीक्षण गरेको छ।
 
टेलियासोनेराको प्रेस विज्ञप्तीमा मात्रै होइन्,  कारोबारका विषयमा जानकारी दिन काठमाडौं आएका टेलियासोनेरा सिईओ अफिसका वरिष्ठ सल्लाहकार सलोमन बेक्लेलाई पनि बिजमाण्डूले सोधेको थियो, श्रेष्ठको परिवारसँग स्मार्ट टेलिकमको लाइसेन्स छ, किन तपाईहरुले स्थानीय साझेदार छान्दा क्रस होल्डिङको विषयलाई हेर्नु भएन?
 
जवाफमा बेक्लेले भनेका थिए, 'एक्जियटाले रुचाइएको स्थानीय साझेदारको टेलियासोनेराले व्यापक पृष्ठभूमि अध्ययन गरेको छ र उनीहरुलाई हामीले क्रस होल्डिङको विषय पनि उठाएका थियौं। श्रेष्ठको परिवारले स्मार्ट टेलिकममा भएको लाइसेन्स बिक्रीका लागि सम्झौता गरिसकेको जानकारी दिएको छ।'
 
के प्रेस विज्ञप्तीमा भने जस्तै  र बेक्लेले दिएको जवाफ जस्तै, भावना सिंह श्रेष्ठको परिवार र कम्पनीको पृष्ठभूमी तथा कारोबारका लागि खडा गरिएका कम्पनीले गर्न लागेको कारोबार र तीनले कारोबारका लागि प्रतिवद्धता गरेको प्रक्रिया नेपालको कानुन अनुकुल छ?
 
टेलियासोनेरासँगको कारोबारमा संलग्न हुन लागेका भावना सिंह श्रेष्ठका कम्तिमा दुई वटा कम्पनीका बिजमाण्डूलाई प्राप्त कागजातमा टेलियासोनेराले भने जस्तो तथ्य देखिदैन्।
 
भावना सिंह श्रेष्ठको पूर्ण स्वामित्वमा सिंगापुर र नेपालमा एउटै नाममा दुई वटा कम्पनी दर्ता भएका छन्, सुनिभेरा क्यापिटल भेञ्चर लिमिटेड।

सिंगापुरमा दर्ता भएको सुनिभेरा क्यापिटल भेञ्चर लिमिटेडले टेलियासोनेरालाई चार करोड ८० लाख डलर नगद भुक्तानी गर्दैछ भने त्यही भुक्तानीका आधारमा नेपालमा दर्ता भएको सुनिभेरा भेञ्चर क्यापिटलले निरज गोविन्द श्रेष्ठको नाममा रहेको सेयर खरिद गर्दैछ।

 

किन यस्तो एरेन्जमेन्ट हुँदैछ? र कसरी यो गैरकानूनी छ? क्लिक गरेर हेर्नुहोस् पूर्ण विवरण

डिसेम्वर २१ मा टेलियासोनेरा र एक्जियटाबीच एनसेलको सेयर खरिद बिक्री सम्वन्धी सम्झौता भएको थियो। यो स्मझौतासँगै गरिएका फरक सात सम्झौतामध्ये एक सम्झौता सुनिभेरा क्यापिटल भेञ्चर सिंगापुर र टेलियासोनेराबीच पनि भएको छ।

सुनिभेरा क्यापिटल भेञ्चर टेलियासोनेरासँग २१ डिसेम्वरमा सम्झौता गर्नुभन्दा जम्मा ९ दिन अघि मात्रै सिंगापुरमा दर्ता गरिएको थियो। हिन्डहेडे वाक साउथ हेभन २ मा बस्ने भावना सिंह श्रेष्ठको पूर्ण स्वामित्वमा रहेको यो कम्पनी जम्मा एक सिंगापुर डलरको हो।
 
हो, नझुक्किनुहोस यो कम्पनी जम्मा एक सिंगापुर डलरको मात्रै हो। अधिकृत तथा चुक्ता दुबै एक सिंगापुर डलर भएको यो कम्पनीले टेलियासोनेरालाई चार करोड ८० लाख डलर(छ करोड ७८ लाख सिंगापुर डलर ) भुक्तानी गर्दैछ।
 
२०१५४२९८५ एन दर्ता नम्वर भएको यो कम्पनी डिसेम्वर ११ मा मात्रै सिंगापुरमा दर्ता भएको हो। यो कम्पनीले दर्ता भएकै दिन स्ट्रयाटेजिक अडिट अलायन्सलाई अडिटरका रुपमा नियुक्त गरेको छ भने कम्पनीमा कर्मचारीका रुपमा नियो ले हायङ्गलाई कम्पनी सचिवका रुपमा नियुक्त गरेको छ ।
 
त्यति मात्रै होइन सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सिंगापुरको पिआर होल्डर समेत हुन्। एस ७३८५२८८ आइ नम्वरको पिआर लिएकी भावना २००८ सेप्टेम्वरदेखि सिंगापुरमा बस्दै आएकी छन्।
 
सिंगापुरमा मात्रै होइन भावना सिंह श्रेष्ठले नेपालमा पनि हतारमा कम्पनी दर्ता गरेकी छन् । नेपालमा सुनिभेरा क्यापिटल भेञ्चर प्रालि मंसिर ७ अर्थात एक्जियटा,  टेलियासोनेरा,  निरजगोविन्द श्रेष्ठ र सुनिभेराबीच एनसेलको सेयर खरिद बिक्री सम्झौता हुनुभन्दा एक महिना अघि मात्रै कम्पनी दर्ता भएको हो।
 
सुनिभेराको प्रवन्ध पत्रमा यो कम्पनीको रजिष्टर्ड ठेगाना ललितपुर उपमहानगरपालिका कुमारीपाटी वडा नम्वर २० मा छ तर कम्पनी रजिष्टड्र कार्यालयको वेवसाइटमा भने १४१९११ दर्ता नम्वर भएको यो कम्पनीको रजिष्टर्ड ठेगाना काठमाडौं महानगरपालिका वडा नम्वर १३ कालिमाटीमा छ ।
 
विद्युत,  पूर्वधार संरचना,  यातायात पेट्रोलियम पदार्थदेखि अवासीय तथा विज्ञान प्रविधिदेखि दूरसञ्चार क्षेत्रसम्म लगानी गर्ने लक्ष्य लिएको यो कम्पनीको चुक्ता पुँजी भने जम्मा एक करोड रुपैयाँ छ । कम्पनीको जारी पुँजी दुई करोड रुपैयाँ तथा अधिकृत पुँजी २५ करोड रुपैयाँ छ।
 
र यो एकल सेयरधनी भएको सुनिभेरा भेञ्चर क्यापिटललाई पनि सनग्लोरी इन्भेष्टमेन्ट प्रालिले होल्ड गर्छ। भावना सिंह सनग्लोरीका तर्फबाट प्रतिनिधी मात्रै हुन । त्यसो त सनग्लोरी पनि कात्तिक १९ गते मात्रै दर्ता भएको कम्पनी हो। सनग्लोरी दर्ता भएको १८ दिनपछि मात्रै सुनिभेरा क्यापिटल भेञ्चर दर्ता गरिएको हो।
 
टेलियासोनेरा, एक्जियटा, निरजगोविन्द तथा सुनिभेराबीच भएको सेयर खरिद बिक्री सम्झौताअनुसार नेपालमा दर्ता भएको यही सुनिभेरासँग एनसेलको २० प्रतिशत सेयर हुनेछ । एनसेल अहिले १० करोड चुक्ता पुँजी भएको कम्पनी हो। त्यसको २० प्रतिशत चुक्ता पुँजी दुई करोड रुपैयाँ बराबर हुन्छ।
 
बिजमाण्डूले छलफल गरेका कम्पनी कानुनका विज्ञहरु अहिलेकै यही पुँजी संरचनामा सुनिभेरा क्यापिटलले एनसेलको २० प्रतिशत सेयर होल्ड गर्न नसक्ने बताउँछन्। कम्पनीले एनसेलको २०  प्रतिशत मात्रै सेयर खरिद गर्ने हो भने पनि कम्तिमा सुनिभेराको चुक्ता पुँजी दुई करोड रुपैयाँभन्दा बढी हुनु पर्छ।
 
त्यसो त १४० अर्ब रुपैयाँ मूल्यांकन गरिएको एनसेलमा २० प्रतिशतको मूल्य झण्डै २८ अर्ब रुपैयाँ पर्छ।
 
किन चाहियो राम्रो पृष्ठभूमी
२१ डिसेम्वरकै प्रेस विज्ञप्तीमा भावना सिंह श्रेष्ठ तथा सम्वन्धित पक्षको ड्यु डेलिजेन्स तथा विस्तृत अध्ययन गरेको प्रसङ्ग लगत्तै टेलियासोनेरा भन्छ, टेलियासोनेराले उत्तरदायी व्यापारको कार्यक्रम तथा नीति र कम्पनीको सुशासनका विषयमा एक्जियटासँग छलफल गरेको छ र उसले त्यसमा प्रतिवद्धता जनाएको छ।
 
टेलियासोनेराले विचारको स्वतन्त्रता तथा भ्रष्टाचारविरुद्ध दूरसञ्चारको बफादार पहल प्रति खरिदकर्ता कम्पनीलाई सक्रिय पहल गराउनेछ ।
 

एनसेलमा ट्याक्स प्लानिङ के भएको थियो भोडाफोनमा

सन् २००८ देखि २०१२ सम्म एनसेलमा लगानी गर्दा टेलियासोनेराले कयौं त्रुटी गरेको तथ्य विभिन्न एजेन्सीहरुले लगाएका छन्। यस्तो आरोप लगाउने मध्ये एक रिसर्च कम्पनी मुडिज वाटर पनि हो।
मुडिज वाटरले टेलियासोनेराको उज्वेकिस्तान डीलमा जस्तै नेपालको एनसेल खरिदमा पनि कयौं डिललाई सार्वजनिक नगरेको आरोप लगाएको थियो ।
 
यही तथ्यका आधारमा टेलियासोनेराले नेपालमा गरेको लगानीमा समेत विभिन्न देशमा छानविन भैरहेको २५ नोभेम्वरमा स्विडिस दैनिक पत्रिका सेभेन्सका दागबाल्देद (एसभिडि)ले स्रोतलाई उल्लेख गर्दै जानकारी दिएको थियो ।
 
अहिले  एनसेल बिक्रीका लागि भैरहेको डिलले पनि कतै पुरानो समस्याको पुनरावृत्ती गर्दै त छैन् ? उपलब्ध तथ्यहरुले त्यस्तै संकेत गरिरहेको छ।

एनसेल: डेढ खर्वको डिल राज्यलाई हात लाग्यो शून्य