काठमाडौं । चीन सरकारले नेपाललाई स्थलमार्ग हुँदै खाद्यान्न र इन्डक्सन चुल्हो पठाएको छ । रसुवागढी भन्सार हुँदै चीनले पठाएको चामल, तेल र नुन मंगलबार नेपाल प्रवेश गरेको हो ।
'चीनले अनुदानमा दिएको ३० टन चामल, १० टन पकाउने तेल र १० टन नुन मंगलबार भित्रिएको छ,' रसुवागढी भन्सार प्रमुख केदार पनेरुले बिजमाण्डूसँग भने, 'यो खाद्यान्न नेपाल सरकारले खाद्य संस्थानमार्फत विक्री वितरण गर्छ ।'
चीनले १३ सय वटा इन्डक्सन चुल्हो पनि नेपाललाई सहयोग गरेको छ । इन्डक्सन चुह्लो भने नेशनल ट्रेडिङमार्फत विक्री हुनेछ । इन्डक्सन चुल्हो र खाद्यान्न बोकेका ट्रक कन्टेनरको मंगलबार रसुवागढीमा भन्सार जाँच पास भएको पनेरुले बताए ।
चीनले नेपाललाई १० लाख चिनियाँ युआनको खाद्यान्न तथा अन्य सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो । यो सहयोगकै अन्तर्गतकै चामल, तेल, नुन र चुल्हो नेपाल भित्रिएको हो ।
भन्सार प्रयोजनका लागि उल्लेख भएको मूल्य अनुसार चीनले ४ लाख ४९ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा ६ लाख ५० हजार रुपैयाँ बराबरको चुल्हो नेपाल भित्रिएको पनेरुले बताए ।
दुई महिनामा २३ करोड राजश्व
रसुवागढी भन्सार कार्यालय खुलेको दुई महिनामा २३ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । 'अप्ठेरो बाटो र भौतिक संरचना पर्याप्त नभएपनि हामीले सन्तोषजनक उपलब्ध हासिल गरेका छौं,' पनेरुले भने, 'अक्टोबर १३ मा भन्सार खुलेको थियो, अहिलेसम्म झण्डै २४ करोड राजश्व संकलन भइसकेको छ ।'
अहिले नेपाल र चीनको प्रमुख व्यापारिक नाका नै रसुवागढी भन्सार भएको छ । भूकम्पले क्षति पुगेको तातोपानी नाका अझै सञ्चालनमा नआउँदा यो नाकाबाट नै अहिले चीनसँगको व्यापार चलिरहेको छ । चीनले नेपाललाई अनुदानमा दिएको १३ लाख लिटर पेट्रोल पनि यही नाकाबाट काठमाडौं ल्याइएको थियो ।