विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । प्रहरीले अभावको मौकामा खानेतेलको कालोबजारी गरेको आरोपमा केएल दुगडको जटीवुटीस्थित गोदाममा छापा मारेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाको नेतृत्वमा गएको टोलीले जटीवुटीमा रहेको केएल दुगडको गोदाममा छापा मारेको हो ।
प्रहरीले पाँच ट्रक खानेतेल सहित प्रवन्धक अमन जैनलाई प्रक्राउ गरेको छ । प्रहरी प्रमुख थापाका अनुसार भारतको अघोषित नाकाबन्दीपछि स्वस्तिक आयल इन्डस्ट्रिजका उत्पादन धारा लगायतका तेलको मूल्य दोब्बर भन्दा बढीमा बिक्री गरेको आरोपमा कारवाही थालिएको हो ।
विराटनगरमा रहेको यो उद्योगले स्वस्तिक सोयाविन तेल, स्वस्तिक हेल्थ, स्वस्तिक वनस्पति घिउ, धारा हेल्थ, धारा लाइट, धारा एक्टिभ र विगुल तोरीको तेल उत्पादन गर्छ । केएल दुगड ग्रुपका अध्यक्ष किशनलाल दुगड हुन् भने प्रवन्ध निर्देशक कुमुद दुगड हुन् ।
आटा र तेल उद्योग अर्का प्रवन्ध निर्देशक विकास दुगडले हेर्छन् । यो उद्योगका महाप्रवन्धक सीपी कुशवाहा छन् । उनले नाकाबन्दीअघि १ सय २० रुपैयाँ रहेको तेलको मूल्य ३ सय २० रुपैयाँ पुयाएको बताउँदै उद्योग संचालकलाई कालोबजारी ऐन अनुसार कारवाही गरिने जानकारी दिए ।
‘असहज परिस्थितीको फाइदा उठाउँदै जनता लुट्नेलाई हामीले कारवाही थालेका छौं, उनले बिजमान्डूसँग भने, ‘हामीले अहिले प्रवन्धकलाई प्रक्राउ गरेका छौं । अब उद्योगका संचालकलाई प्रक्राउ गरेर कारवाही गर्छौं ।’ थापाले उद्योगलाई कालोबजारी वाहेक अन्य ऐन आर्कषित गरेर कडा कारवाही गरिने जानकारी दिए ।
‘हामीले यसका संचालकलाई समेत पक्राउ पुर्जी जारी गरेर कारवाहीको दायरामा ल्याउनेछौं, उनले भने, ‘यस्तो संकटको बेलामा जनता लुट्नेलाई छाड्नेवाला छैनौ ।’ केएल दुगड ग्रुप अन्तर्गत रहेको यो उद्योगले सनफ्लो सजफ्लवार, धारा हेल्थ र धारा तोरीको तेल उत्पादन गर्छ ।
नाकाबन्दीपछि वारा पर्सा औद्योगिक कोरिडरमा रहेका उद्योगको कच्चा पदार्थ रक्सौलमा रोकिएपछि यो उद्योगको एकाधिकार रहेको थियो । नाकाबन्दीपछि यो उद्योगले आफ्ना सबै उत्पादनको मूल्य ट्याक्सीको मिटर जस्तो दैनिक रुपमा बढाएको थियो ।
सरकारी अधिकारीहरुलाई प्रभावमा पारेर यो उद्योगले एकै दिन उत्पादन भएको तेलको अधिकतम खुद्रा मूल्य समेत थरीथरीको बजारमा ल्याएको थियो । सरकारी निकाय वाणिज्य विभागले यो कम्पनीलाई स्पष्टीकरण मात्रै सोधेर तेलको मूल्य बढाउन सहयोग गरेको थियो ।
स्पष्टीकरण सोध्दा कारवाही भएमा उत्पादन बन्द गर्ने धम्कीको आधारमा यो उद्योगलाई उन्मुक्ती दिइएको थियो । वारा पर्सामा रहेका १४ वटा उद्योग बन्द भएपछि यो उद्योगले आफुखुशी मूल्य बढाएको थियो ।
स्रोतका अनुसार प्रवन्धक जैनले सबै सरकारी निकाय र राजनीतिक तहमा मिलाइसकेको भन्दै कारवाही नहुने दावी गर्दै आएका थिए । उनले तेल किन्न जाने थोेक बिक्रेतालाई तेलको मूल्य बढाउन सबै भूमिका आफुसँग रहेको भन्दै मूल्यमा कुनै वार्गेनिङ नगर्न दबाब दिने गरेको स्रोतले बतायो ।