BIZMANDU
www.bizmandu.com

नुवाकोट कुमारीमा आधुनिक पुस्तकालय, ५५ लाखको लगानीमा अडियो भिडियो, बाल र कम्प्यूटर कक्ष

२०६९ कात्तिक १९

नुवाकोट कुमारीमा आधुनिक पुस्तकालय, ५५ लाखको लगानीमा अडियो भिडियो, बाल र कम्प्यूटर कक्ष
नुवाकोट कुमारीमा आधुनिक पुस्तकालय, ५५ लाखको लगानीमा अडियो भिडियो, बाल र कम्प्यूटर कक्ष

नुवाकोट । नुवकोट जिल्लाको कुमरी गाविसमा पुस्तकालयको आधुनिक अवधारणमा बनेको जनजागरण सामुदायिक पुस्तकालयको औपचारिक उद्घाटन भएको छ । शनिवार पुस्तकालयको उद्घाटन रिड नेपालका संस्थापक अध्यक्ष डा एन्टोनिया न्यूवावर, नुवाकोट जिल्लाका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मोहनमान सैँजु संयुक्त रुपमा गर्नु भएको हो ।
यो पुस्तकालय नुवाकोट जिल्लाको सबैभन्दा ठूलो र आधुनिक सुविधा सम्पन्न भएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । परम्परागत शैली बनाइएको ६ कोठे भवनभित्र नयाँ प्रविधिसहितको ६ वटा कक्ष सञ्चालनमा छन् । पुस्तकालय सञ्चालक समितिको अध्यक्ष रामकृष्ण पौडेलका अनुसार पुस्तकालय कक्षमा १० विधाका २ हजार प्रति पुस्तक, पत्रपत्रिका, विश्व प्रशिद्ध लेखक, बैज्ञानिक, दार्शकिकहरुको फोटो, विश्वको नक्साहरु राखिएको छ ।
कम्प्यूटरको ज्ञान दिन र इन्टरनेटबाट दिन सकिने सेवा दिनका लागि पुस्तकालयमा एक कम्प्यूटर कक्ष पनि सञ्चालन गरिएको छ । यस कक्षमा ४ वटा कम्प्यूटर, प्रिन्ट, फोटो कपी, फ्याक्स मेसिन राखिएका छन् । पुस्तकालयले सञ्चालनमा ल्याएको कम्प्यूटर कक्ष त्यस क्षेत्रका विद्यार्थी र शिक्षकहरुका लागि अत्यान्तै उपयोगि भएको विरेन्द्र उच्च माविका प्राचार्य विनोदबाबु कार्पीले बताए । विगतमा खोला र खेतमा माछा समाउन जाने विद्यार्थीहरु पुस्तकालयको कम्प्यूटर कक्षमा माउस चलाएको देख्न पाउँदा आफू निकै खुशी भएको बताए ।
पुस्तकालयले बालबालिकालाई आकर्षित गर्न १ लाख मूल्य बराबरका आकर्षक तथा ज्ञानवद्र्धक खेलौना र वालपुस्तकसहित बालबालिका कक्ष सञ्चालनमा ल्याएको छ । बालबालिकालाई सानैदेखि पुस्तकालय आउने बानीको विकास गर्ने उदेश्यले छुट्टै बालवालिका कक्ष सञ्चालन गरिएको अध्यक्ष पौडेलले बताए । पुस्तकालय सञ्चालनमा आएपछि साना बालबालिकाहरु स्कूल छाडेर पुस्तकालय जान रुचाउने गरेका स्थानीयबासी हरिप्रसाद उपाध्ययले बताए । ‘केटाकेटीहरु पुस्तकालय जान पाइन भनेर झगडा नै गर्छन ।’ स्थानीयबासी देवकी तिमल्सिनाले बताइएन् ।
पढ्न नजान्नेहरुको लागि पुस्तकालयमा अडियो–भिडियो कक्ष सञ्चालनमा ल्याइएको छ । ४२ इन्चको एलसीडी टिभीमा शिक्षा मुलक श्रव्यदृष्य सामाग्री हेर्न सकिन्छ । वातावरण, कृषि, शैक्षिक, धार्मिकलगायतका विधाका भिडियो देखाउने गरिएको छ । ‘निरक्षरहरुले पनि पुस्तकालयबाट शिक्षा हासिल गर्न सकुन भनेर अडियो भिडियो कक्ष सञ्चालनमा ल्याइएको हो’ पुस्तकालयका अध्यक्ष पौडेलले भने–‘यसले कपाल फुलेका, ढाड कुप्रियका र आँखा कम देख्ने वृद्धवृद्धालाई आकर्षित गरेको छ ।’
पुस्तकालयको अवलोकन पछि स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले पुस्तकालय भित्र रहेको अडियो भिडियो कक्ष, बाल कक्ष, कम्प्यूटर कक्षले पुस्तकालय बालकदेखि बृद्धसम्म, शिक्षित देखि अशिक्षितसम्म सबैलाई उपयोगि रहेको टिप्पणी गर्दै नुवाकोट जिल्लामा यति सुविधासम्पन्न पुस्तकालय सञ्चालनमा आउनु सबै जिल्लाबासीका लागि गर्वको कुरा भएको बताए । उनले पुस्तकालयको दिगो विकासका लागि नुवाकोट जिल्ला विकास समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महिलाहरुको बौद्धिक क्षमता वृद्धिमा विशेष सहयोग पुर्याउन पुस्तकालयमा महिला कक्ष पनि सञ्चालनमा ल्याएको छ । महिला र विपन्नको आयस्तर बढाउन पुस्तकालयले जागरण कृषि सहकारी सञ्चालनमा ल्याएको छ । यसले बचत तथा ऋण र लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष पौडेलले जानकारी दिए । पुस्तकायमा अन्तरक्रिया, गोष्ठी, तालिमलगायत कार्यक्रम गर्न सेमिनार हल बनाइएको छ । बहुउदेश्य राखेर यो पुस्तकालय निर्माण गरिएको र यसले स्थानीयवासीको  शिक्षा र आर्थिक उन्नतिमा जोड दिने लक्ष्य लिएको अध्यक्ष पौडेलले बताए । पुस्तकालयले दिने सबै सेवा निशुल्क रहेको उनले जानकारी दिए ।
करिव ५५ लाख रुपैयाँ बजेटमा बनेको यो पुस्तकालयले दिगो कार्यक्रम सञ्चालनका लागि १३ लाख रुपैयाँ विनियोजन गरेको छ । पुस्तकाय भवन निर्माण तथा सजावटमा २३ लाख ६० हजार खर्च भएको पुस्तकालयका कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । बाँकी रकम पुस्तकालयको पुस्तक तथा अन्य सामाग्री खरिद, सामाजिक परिचालन, क्षमता अभिवृद्धि तालिममा खर्च भईरहेको उनले बताए ।
यस पुस्तकालय निर्माणमा रिड नेपालले करिव ४० लाख रुपैयाँ अनुदान दिने र समूदायले करिव १५ लाख रुपैयाँ लगानी गर्नु पर्ने सम्झौता उल्लेख छ । समूदायको तर्फबाट हालसम्म करिव ९ लाख रुपैयाँ संकलन भएको छ ।
कार्यक्रममा डा एन्टोनिया न्यूवावरले नुवाकोटमा २० वर्ष पहिले भ्रमण गर्दा पुस्तकालय निमार्ण गर्न सहयोग गर्दा स्थानीय समूदायमा उत्पन्न विवादले त्यतिबेला पुस्तकालय सञ्चालनमा आउन नसकेको स्मरण गर्दै नयाँ पुस्ताले २० वर्षपछि पुस्तकालय सञ्चालन गर्न गरेको प्रयासको प्रशंशा गरिन् । उनले अब नुवाकोटमा अरु पुस्तकालय पनि बनाउन सकिने बताइन् ।
२० वर्षको प्रयासपछि पुस्तकालय उद्घाटनको क्षणमा आउनु आफैमा ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकार रामेश्वर खनाल पुस्तकालयमा नियमित पत्रपत्रिका, नयाँ पुस्तकहरु थप्दै जाने, इलाईब्रेरी सञ्चालन गर्ने गरेमा मात्र समूदायले बढी लाभ लिन सक्ने बताए । पुस्तकालयमा लोप हुन लागेका स्थानीय बस्तुहरु राखेर जनजागरण सामुदायिक पुस्तकालयले अध्ययनको विलकुलै नयाँ र प्रयोगबादी शिक्षा विधि अपनाएकोमा त्यसको प्रशंशा गरे ।
योजना आयोगका पूर्व उपाध्यक्ष तथा रिड नेपालका सल्लाकार डा मोहनमान सैंजुले  ग्रामिण क्षेत्रका पुस्तकालयले शिक्षाको ज्योति दिनुका साथै समुदायमा विकास अरु धेरै गतिविधि सञ्चालन गर्न सक्ने बताए । पुस्तकालयले सञ्जालन गरेको जागरण कृषि सहकारीले समुदायमा भएको स्रोत परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
प्रमुख राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले समुदायमा पुस्तकालयको महत्व र जनजागरण सामुदायिक पुस्तकालयको दीगो विकासका बारेमा आफ्ना विचार र सुझाव व्यक्त गरे । अरु क्षेत्रमा राजनीतिक मतभेद जारी रहेपनि जनजागरण पुस्तकालयले सबै राजनीतिक पार्टीको सहभागिता र सहमतिमा काम गरेर नमूना प्रदर्शन गरेको उनीहरुले बताए ।
समुद्घाटन कार्यक्रममा पुस्तकालयलाई महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरु तथा संस्थाहरुलाई  सम्मान गरिएको थियो । कार्यक्रममा पन्चे बाजा, भजन, गीत लगायत सास्कृतिक प्रस्तुतिका साथै स्थानीय बस्तुहरुको पनि प्रर्दशनी गरिएको थियो ।

Tata
GBIME
Nepal Life