BIZMANDU
www.bizmandu.com

बिओकेको नाफा १३ प्रतिशतले बढ्यो, खराब कर्जा पनि बढ्यो, ऋण लगानी भने घट्यो

२०६९ कात्तिक १८

बिओकेको नाफा १३ प्रतिशतले बढ्यो, खराब कर्जा पनि बढ्यो, ऋण लगानी भने घट्यो
बिओकेको नाफा १३ प्रतिशतले बढ्यो, खराब कर्जा पनि बढ्यो, ऋण लगानी भने घट्यो


काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले पहिलो त्रैमासमा साढे १३ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ करोड ४६ लाख नाफा कमाएकोमा यसपाली बढाएर १५ करोड २८ लाख पुर्याएको हो । गत बर्ष बैंकले ६० करोड ७६ लाख नाफा कमाएको थियो ।
गत वर्षको नाफाबाट ५ प्रतिशत वोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांस दिएको बैंकको पहिलो त्रैमासको प्रति सेयर आम्दानी ३६ रुपैयाँ २९ पैसा छ । खराव ऋण वढेका कारण अघिल्लो असोजको तुलनामा नोक्सानी व्यवस्था वापतको रकम ७३ प्रतिशतले वढेर ४ करोड २२ लाख पुगेको छ । तर असार मसान्तको भन्दा यो ५ करोड ३२ लाखले कम हो । असारमा नोक्सानी व्यवस्थाको रकम ९ करोड ५५ लाख रुपैयाँ पुगेको थियो ।
बैंकको ऋण लगानी ३.३९ प्रतिशतले वढेर १९ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तभन्दा ऋण घटेको छ । असारमा ऋण १९ अर्ब ३१ करोड रुपैयाँ थियो । बैंकको रियलस्टेट कर्जा पनि २१.२८ प्रतिशतले घटेको छ । अहिले बैंकसँग १ अर्ब ३५ करोड मात्र रियलस्टेट कर्जा छ ।
तरलता वृद्धिको प्रभाव बिओकेलाई पनि परेको छ । तीन महिनामा मात्र बैंकको निक्षेप ३९ करोड ८९ लाख रुपैयाँले वढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासभन्दा निक्षेप ११ प्रतिशतले वढेर २४ अर्ब ५९ लाख पुगेको छ । ऋण लगानी घटे पनि निक्षेपको अनुपातमा कर्जाको व्याज नघटेका कारण बैंकको व्याज आम्दानी साढे १२ प्रतिशतले वढेको छ । बैंकले २९ करोड १० लाख खुद व्याज आम्दानी गरेको छ ।
अघिल्लो असोजमा १.९४ प्रतिशत रहेको बैंकको खराव कर्जा अनुपात यसपाली वढेर २.४४ प्रतिशत पुगेको छ । असार मसान्तमा यो २.३ प्रतिशत थियो । बैंकको ऋण लगानी गर्ने क्षमता घट्दै गएको उसको पुँजी पर्याप्तता अनुपातले देखाएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.०१ बाट घटेर ११.१७ प्रतिशतमा झरेको छ ।
तरलता पर्याप्त भएर व्याज घट्न थालेपछि बैंकको पुँजी लागत निकै घटेको छ । एक वर्षअघि ७.८ प्रतिशत रहेको पुँजी लागत असार मसान्तमा ७ प्रतिशतमा थियो । अहिले अझ घटेर ५.४४ प्रतिशतमा आएको छ । यसले बैंकले ऋणमा लिने व्याजदर थप घट्ने संकेत गर्छ ।

Tata
GBIME
Nepal Life