BIZMANDU
www.bizmandu.com

स्टेण्डर्ड र माछापुच्छ्रेको मर्ज, ठूला लगानीकर्तामा सूर्यबहादुर अघि महतो पछिपछि

२०६९ असार २५

स्टेण्डर्ड र माछापुच्छ्रेको मर्ज, ठूला लगानीकर्तामा सूर्यबहादुर अघि महतो पछिपछि
स्टेण्डर्ड र माछापुच्छ्रेको मर्ज, ठूला लगानीकर्तामा सूर्यबहादुर अघि महतो पछिपछि


काठमाडौं । स्टेण्डर्ड फाइनान्ससँगको मर्जपछि पनि माछापुच्छे्र बैंकमा सबैभन्दा ठूलो सेयर होल्डरका रुपमा सूर्यबहादुर के.सी. रहने भएका छन् । माछापुच्छ्रे बैंकमा के.सी.को पोखरा इन्भेष्टमेन्ट कम्पनीको १० दशमलव १ प्रतिशत, माछापुच्छ्रे इन्भेष्टमेन्ट कम्पनीका ७ दशमलव ६३ प्रतिशत, प्रेमकुमार के.सी.को नाममा ७ दशमलव ३१ प्रतिशत, प्रकाश के.सीको नाममा २ दशमलव ५७ प्रतिशत, किरण के.सी. र रोशन के.सी.का नाममा २ दशमलव ६६ प्रतिशतका दरले सेयर छ ।
स्टेण्डर्ड फाइनान्ससँग मर्ज हुनुपहिले के.सी.को स्वामित्वमा मात्रै ३२ प्रतिशतभन्दा बढी सेयर थियो । अब उनीसँग सम्वद्ध समूह र परिवारको गरेर १९ प्रतिशत सेयर हुनेछ । माछापुच्छ्रेमा दोस्रो ठूलो शेयरधनीका रुपमा उपेन्द्र महतोको उदय भएको छ । स्टेण्डर्ड फाइनान्समा उपेन्द्रको १४ दशमलव ४० प्रतिशत, बाबु रामआशिष महतोको नाममा १२ दशमलव ३८ प्रतिशत सेयर थियो भने महतोको कम्पनी एभिटा इन्भेष्टमेन्टको ७ दशमलव ४७ प्रतिशत सेयर छ । महतोका व्यापारिक साझेदार निरजगोविन्द श्रेष्ठ र कोकिलगोविन्द श्रेष्ठको नाममा साढे आठ प्रतिशत गरेर स्टेण्डर्ड फाइनान्समा उपेन्द्र समूहको झण्डै ४३ प्रतिशत सेयर थियो ।
मर्ज हुँदा स्टेण्डर्डको एक रुपैयाँको सेयरलाई ८५ रुपैयाँ मानिएको छ, यो आधारमा मर्ज भएपछि दुई अर्ब ४३ करोड चुक्ता पुँजी भएको बैंकमा उपेन्द्र पक्षको सेयर १६ प्रतिशतको हाराहारीमा हुनेछ । झण्डै ३५ प्रतिशत सेयर सर्वसाधरणको हुनेछ । मर्जपछि सञ्चालक समितिको अध्यक्षमा माछापुच्छ्रे बैंकका सञ्चालक समिति अध्यक्ष सूर्यबहादुर के.सी.लाई निरन्तरता दिइएको छ । के.सी.का छोरा प्रकाश के.सी., गोपिकृष्ण न्यौपाने, नरेशबहादुर मल्ल र प्राणेश्वर पोखरेल माछापुच्छ्रे तर्फबाट सञ्चालक समितिमा छानिएका छन् ।
स्टेण्डर्डका तर्फबाट उपेन्द्रका माइला भाई वीरेन्द्र महतो, ज्ञानप्रसाद कर्माचार्य र राममान श्रेष्ठ बोर्ड सदस्य भएका छन् । मर्जपछि माछापुच्छ्रेको शाखा संख्या ५४ पुगेको छ भने दुवै संस्थाको निक्षेप २१ अर्ब, ऋण लगानी साढे १६ अर्ब र ग्राहक संख्या तीन लाख ३१ हजार पुगेको छ । गाभिएपछि दुवै संस्थाका कर्मचारीको संख्या छ सय पुगेको छ ।

Tata
GBIME
Nepal Life