BIZMANDU
www.bizmandu.com

पुँजी वृद्धि गर्नु सजिलो छैन्, तर असम्भव पनि होइन्, बैंकर परशुराम कुँवरको विश्लेषण

२०७२ भदौ २०

पुँजी वृद्धि गर्नु सजिलो छैन्, तर असम्भव पनि होइन्, बैंकर परशुराम कुँवरको विश्लेषण
पुँजी वृद्धि गर्नु सजिलो छैन्, तर असम्भव पनि होइन्, बैंकर परशुराम कुँवरको विश्लेषण


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय सस्थाहरुलाई आगामी दुई वर्ष अर्थात आर्थिक वर्ष २०७३/७४ भित्र पूँजी बृद्धि गर्नुपर्ने भनेपछि बैंकिङ क्षेत्रमा २०७२ वैशाख १२ गतेको भन्दा ठूलो भूकम्प महशुस गरिएको छ ।

Tata
GBIME
NLIC

 

मौद्रिक नीतिको घोषणा पछि राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाहरुलाई आगामी दुई वर्ष भित्र कसरी पूँजी बृद्धि गर्ने हो, त्यससम्बन्धमा आ–आफ्नो पूँजी योजना यहि भदौं मसान्त भित्र पेश गर्न निर्देशन जारी गरिसकेको छ । 
 
दुई वर्षमा पूँजी बृद्धि नगरे नगद लाभांस, शाखा विस्तार, निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाउने जस्ता कारवाही गर्ने भन्ने निर्देशन जारी गरेपछि बैंकिङ क्षेत्रमा भूकम्पका दरै परकम्पनहरु महशुस भइरहेका छन् । 
 

यस्तो थियो पृष्ठभूमीः 

विगतमा बैंक तथा वित्तीय सस्थाहरु खोल्नका लागि जथाभावी इजाजतपत्र बाँडेर राष्ट्र बैंकले गल्ती गरेकै हो । त्यतिखेर सरोकारवालाहरुले देशमा बैंक तथा वित्तीय सस्थाहरुको संख्या धेरै भयो, अब इजाजतपत्र दिन रोक्नुपर्छ भनेर सुझाव दिँदा राष्ट्र बैंकका तत्कालिन उच्च पदाधिकारीहरुले “आफू बस चढिसकेपछि अर्को स्टपमा बस रोक्नु पर्दैन, भन्ने?”, “खुला बजार व्यवस्थामा राष्ट्र बैंकले राखेका सर्तहरु पुरा गरेपछि इजाजतपत्र दिन अस्वीकार गर्न सकिँदैन” भन्ने जस्ता ओठे जवाफ दिएका थिए । परिणामतः सबैभन्दा कम आर्थिक बृद्धि भएको समयावधीमा नै सबैभन्दा धेरै बैंक तथा वित्तीय सस्थाहरु स्थापना भए । 
 
 
बढ्दो बैंक तथा वित्तीय सस्थाहरुको लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न धौ धौं भयो । आवश्यक अनुभव र सीप पनि नभएका तत्लो तहका कर्मचारीलाई उपल्लो स्तरको जिम्मेवारी दिइयो । यसले बैंक तथा वित्तीय सस्थाहरुको सञ्चालन जोखिम अत्याधिक बढ्यो । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पहुँच बढाउनका लागि महत्वपूर्ण व्यापारिक केन्द्रमा शाखा खोल्नु पथ्र्यो ।

यही कारण त्यस्ता व्यापारिक केन्द्रमा बैंक तथा वित्तीय सस्थाहरुको संख्या अत्याधिक भयो । यसले अस्वस्थ्य प्रतिस्पर्धा हुन थाल्यो । हामीले नगरे अर्को सस्थाले गरिहाल्छ नि भन्दै गलत काम पनि बैंक वित्तीय सस्थाले गर्न थाले । त्यसैले सस्थागत सुशासनको स्तर अति नै निम्नस्तरमा झर्यो । 

 

किन गर्नुपर्यो पूँजी बृद्धिको निर्णय ?

राष्ट्र बैंक ६० वर्ष पुरानो सरकारी सस्थाहरुमा सबैभन्दा बढी सक्षम र प्रभावकारी सस्था हो । यसले विगतको तुलनामा आफ्नो सुपरीवेक्षकीय तथा नियमन क्षमतामा उल्लेख्य सुधार गरेको छ । तथापी, विश्वस्तरको नियमक र सुपरीवेक्षक हुनका लागि आफ्नो क्षमता अभिबृद्धि गर्दै जानुपर्ने छ । 

हामीहरुलाई २–४ वटा सस्थाको विस्तृत ज्ञान हुन सक्छ तर स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणको माध्यमबाट १९० वटै बैंक तथा वित्तीय सस्थाको बारेमा राष्ट्र बैंकलाई विस्तृत ज्ञान हुनु स्वभाविक हो । आफ्नो सुपरीवेक्षणको माध्यमबाट प्राप्त ज्ञान र अनुभवको आधारमा राष्ट्र बैंकले नीति ल्याउने गरेको हो । 

त्याधिक बैंक तथा वित्तीय सस्थाहरु भएको कारणले बैंकिङ प्रणालीमा अस्वस्थ्य प्रतिस्पर्धा भएको, जोखिम बढेको, सस्थागत सुशासन कमजोर भएको निष्कर्ष राष्ट्र बैंकले निकालिसकेको थियो । राष्ट्र बैंकको सुपरीवेक्षण क्षमताले पनि धान्न नसक्ने भएपछि सस्थाहरुको संख्या घटाउन ‘बैंक तथा वित्तीय सस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली २०६८’ र ‘बैंक तथा वित्तीय सस्था प्राप्ति(एक्विजिसन) सम्बन्धी विनियमावली २०७०’ लागु गर्यो ।
 

परिणामस्वरुप, २०७२ असारसम्म ७८ वटा सस्था एकआपसमा मर्ज भएर ३० वटा सस्था बने । यस बाहेक एउटा बाणिज्य बैंकले दुई वटा वित्त कम्पनी र एउटा विकास बैंकले अर्को एउटा विकास बैंक एक्विजिसन गरेको छ । 
विगत ४ वर्षमा ५० भन्दा बढी सस्था घटाउनु पनि उत्साहजनक प्रगति मान्नुपर्छ । “घ” वर्गको लघुवित्त विकास बैंक बाहेक अझैपनि १५१ वटा बैंक तथा वित्तीय सस्थाहरु सञ्चालनमा छन् । हाम्रो अर्थतन्त्रको आकार प्रकार हेर्दा र बैंक तथा वित्तीय सस्थाहरुको आकार प्रकार हेर्दा यो संख्या अझै धेरै हो । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३को मौद्रिक नीति मार्फत दुई वर्षको समय दिएर ४ गुणा पूँजी बृद्धि गर्न भनेपनि यसको भित्री उद्देश्य सस्थाहरुको मर्जर वा एक्विजिसन नै होस भन्ने हो । आगामी दुई वर्षको अन्त्यमा बैंक तथा वित्तीय सस्थाहरु स्वीकार्य संख्यामा सीमित हुन भन्ने उद्देश्य राष्ट्र बैंकले राखेको देखिन्छ । 

विगत केही वर्षको तथ्यांक हेर्‍यो भने बैंक तथा वित्तीय सस्थाहरुको कर्जा तथा निक्षेप १५ प्रतिसतको हाराहारीमा बृद्धि भएको छ । यस्तो बृद्धिका लागि यति धेरै पूँजी बृद्धि गर्नु पर्दैन । यदि पूँजी बृद्धि गर्ने पर्ने भए राष्ट्र बैंकले विगतमा जस्तै ५–७ वर्षको समय दिन्थ्यो ।

चाहिनेभन्दा बढी पूँजी भयो भने एकातिर बैंक तथा वित्तीय सस्थाहरुको पूँजीमा प्रतिफल कम हुने र अर्को तिर अन्य क्षेत्रमा पूँजीको अभाव हुनसक्ने तथ्य राष्ट्र बैंकलाई थाहा नभयको भन्न सकिँदैन । त्यसैले पूँजी बृद्धि बैंक तथा वित्तीय सस्थाको संख्या घटाई विद्यमान कमी कमजोरी हटाएर सक्षम बैंकिङ प्रणाली बनाउने दीर्घकालिन उद्देश्यका लागि हो भन्ने छर्लङ्ग छ । 

यो नीति ठीक छ त ?

कोरिया, मलेशिया, इन्डोनेशिया जस्ता मुलुकहरुको अनुभव हेर्दा हामीलाई साना साना बैंक तथा वित्तीय सस्थाहरु धेरै भन्दा थोरै तर ठूला र सबल सस्था चाहिएको छ । यस्ता खालका बैंकहरु जहाँ एक व्यक्ति, समूह वा परिवारको हालिमुहाली नहोस । चुस्त, सस्थागत सुशासित र व्यवसायिक व्यवस्थापन होस । अर्थतन्त्रमा कुनै समस्या आएपनि बैंक तथा वित्तीय सस्थाको अस्तित्वमा गम्भिर असर नपरोस र निक्षेपकर्ताको निक्षेप सँधै सुरक्षित होस ।

बैंक ठूलो र बलियो भयो भने अर्थव्यवस्थामा उल्लेख्य योगदान दिन सक्छ । उदाहरणका लागि हाम्रो देशको कुनै दुर्गम क्षेत्रका किसानलाई तालिम दिने, आधुनिक प्रविधि सिकाउने र उनीहरुले उत्पादन गरेको वस्तु वजारीकरण गर्न सघाउँदै एक अर्ब रुपैयाँ कर्जा लगानी गर्यो भने त्यसक्षेत्रको अनुहार नै फेरिन सक्छ । कर्जा लगानी गरेको यो एक अर्ब रुपैयाँ नै डुबे पनि बैंकलाई केही फरक पर्दैन । ठूला बैंकले ठूलै कुरा सोच्न र कार्यान्वयन गर्न सक्छन् । 

अर्को उदाहरण लिउँ, हाम्रो देशमा मोवाइल बैंकिङको प्रविधि आइसकेको छ । मोवाइल प्रयोग गरेर तरकारी किन्ने, बस चढ्ने, पेट्रोल भर्ने, बजारमा अन्य सामान किन्ने, हवाइ जहाज तथा बसको टिकट किन्ने, एक ठाउँबाट अर्को ठाउँमा रकम हस्तान्तरण जस्ता काम गर्न सकिन्छ । यसले ग्राहकहरुमा वित्तीय सेवाको पहँच बढ्छ । अर्कोतिर मानिसहरुले पैसा बोकेर हिड्नु नपरेपछि नोट छाप्ने सरकारको खर्च पनि स्वात्तै घट्छ । 

यसका लागि विज्ञापनका माध्यमबाट ग्राहकलाई सुसुचित गर्नुपर्छ । मोवाइल बैंकिङकै विज्ञापनका लागि ४–५ करोड खर्च गर्नुपर्ने हुन सक्छ । यो रकम २ अर्ब पूँजी भएका बैंकहरुका लागि निकै ठूलो हो । यसर्थ बैंकिङ प्रणालीमा रहेका कमी कमजोरी हटाउँदै, विगतमा भएका गल्ति सच्याउदै बैंकिङ प्रणालीलाई गतिशिल, अनुशासित र उत्पादनशिल बनाउने दीर्घकालिन उद्देश्यले यो नीति आएको हो । पूँजी बृद्धि गर्ने नीतिको धेरै आलोचना गर्नु उपयुक्त देखिँदैन ।

 

मर्जर कति सजिलो छ ? 

बैंक तथा वित्तीय सस्थाहरु एक अर्कासँग मर्ज गरि आगामी दुई वर्ष भित्र राष्ट्र बैंकले तोकेको न्युनतम पूँजी पुर्याउने काम त्यति सजिलो छैन । यो अति नै कठिन छ तर असंभव छैन । मर्ज गर्न आजै देखि लागिपर्नु पर्छ । 
धेरै सस्थाहरुलाई मर्ज गर्नै पर्ने वाध्यताका कारणले पनि तुलनात्मकरुपमा केही सरल हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुका सक्षम उच्च नेतृत्वले यो कठिन चुनौतिलाई सजिलै सामना गर्नेछन् । यो कामले बैंकिङ प्रणालीलाई नै उल्लेख्य लाभ पुर्याउने छ । 

बैंक तथा वित्तीय सस्थाका प्रमुख कार्यकारीको जागिर जाने भयो भन्ने यदाकदा सुनिन्छ । सानो सस्थाको प्रमुख कार्यकारी ठूलो सस्थाको नायव वा सहायक प्रमुख कार्यकारी अधिकृत पनि हुन सक्छन् । हाम्रा बैंक तथा वित्तीय सस्थाका प्रमुख कार्यकारी लगायत अन्य उच्च पदस्थ कर्मचारीहरु व्यवसायिक छन् र यिनीहरुले राज्यको नीतिको प्रभावकारी कार्यान्वयनमा पूर्ण सहयोग गर्नेछन् । 

 

संसदीय समितिमा छलफल

यो विषयले संसदीय समितिमा समेत प्रवेश पायो । सैद्धान्तिक रुपले सार्वभौम व्यवस्थापिका संसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक जे पनि गर्न सक्छ । तर, राष्ट्र बैंकलाई बैंकिङ प्रणालीमा हामीलाई भन्दा निकै बढी ज्ञान हुने भएकोले यो सस्थाले ल्याएको नीति कार्यान्वयनमा सहयोग गर्नु देश र बैंकिङ प्रणालीको हितमा हुनेछ । 

अनावश्यक रुपमा हस्तक्षेप र निर्देशन जारी गर्दा गलत नजिर बस्ने र बैंकिङ प्रणालीलाई नै नकारात्मक असर पर्नसक्छ ।  विभिन्न सन्दर्भमा संसदीय समितिहरुले जारी गरेको निर्देशन हेर्दा यस्तो लाग्छ कि यी समितिहरु निर्देशन जारी गर्नकै लागि बनाइएको हो । जे कुरामा पनि निर्देशन जारी गरेर कार्यकारिणी सस्थाहरुको काममा हस्तक्षेप गर्दा समितिहरु आफै हलुका हुन्छन् । 

पूँजी बृद्धिका विषय संसदीय समितिमा किन र कसरी प्रवेश गर्यो भन्ने कुरा समितिको बैठकमा सहभागि माननीयहरुको विचारबाट सहजै अनुमान गर्न सकिन्छ । बैंकको लगानीकर्ता वा सञ्चालक भएर संसदीय समितिमा राष्ट्र बैंकको मौद्रिक नीति विरुद्ध चर्को आवाजमा आलोचना गर्नु स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हो । यो विधायकीय अधिकारको दुरुपयोग पनि हो । 

मेडिकल कलेजमा लगानी गर्ने अनि संसदीय समितिमा केदारभक्त माथेमालाई बोलाएर झाँको झार्ने काम अर्को कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो र विधायकीय अधिकारको दुरुपयोग हो । यो कस्तो संसदीय अभ्यास हो ? व्यक्तिका निजी स्वार्थलाई गरिमामय संसदीय समितिमा प्रवेश गराउनु कति उचित हो ? यसले संसदीय समितिको गरिमालाई बढाउन सहयोग गर्ला वा घटाउला ? 

बैंकका सञ्चालकले वा मेडिकल कलेजमा लगानी गर्ने सभासद्हरुले सम्बन्धित समितिको बैठकमा भाग नै नलिने वा तटस्थ बस्नु पथ्र्यो । यस्तो अस्वीकार्य सुशासनको काम देशका शिक्षित र आफ्नो क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुबाट हुनु अझ दुखदायी छ । आशा गरौं सबै माननीयहरुले उच्च नैतिकताका साथ देशको बृहत्तर हितलाई ध्यानमा राखेर जनताले सुम्पेको जिम्मेवारी वहन गर्नु हुनेछ ।

 

अन्त्यमा, 

बैंक तथा वित्तीय सस्थाहरु अत्याधिक हुँदाहुँदै सस्थापक लगानीकर्ताहरुले सस्था स्थापना गर्ने र पूँजी पु¥याएर आउने वित्तिकै राष्ट्र बैंकले पनि आँखा चिम्लिएर इजाजत दिएको कारण बैंकिङ प्रणालीमा संरचनागत कमजोरी देखिए । बैकिङ क्षेत्रको हरेक तवरबाट सुदृढ गर्नु हाम्रो राष्टिृय आवश्यकता हो ।  विगत केही वर्षदेखि राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई सवल र सक्षम बनाउन लागिपरेको छ । यस महाअभियानमा सम्वद्ध सबैले आफ्नो क्षेत्रबाट सहयोग र समर्थन गर्दा सबैको भलो हुनेछ ।