सविन मिश्र/बिजमाण्डू
काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना संचयकर्तालाई दिने तथा ऋणीसँग लिने ब्याजको दर घटाएको छ । संचय कोषले आफ्ना संचय कर्तालाई दिँदै आएको ऋणको ब्याजदरसँगै विभिन्न परियोजना तथा सरकारी स्वामित्वका अन्य संस्थालाई दिएको ऋणको ब्याजदर पनि घटाएको छ ।
कर्मचारी संचय कोषले दिने ब्याजदर यअसघि ७.५ प्रतिशत रहेकोमा अब त्यसलाई घटाएर ६.७५ प्रतिशत बनाइएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कोषले दिने तीन किसिमका ऋण सुविधामा पनि ब्याजदर घटाइएको छ ।
कोषले दिने शैक्षिक सापटी, घर सापटी र विशेष सापटीको ब्याजदर ८.२५ प्रतिशत बनाइएको छ । यसअघि यी तीनै ऋणको ब्याजदर नौ प्रतिशत थियो । यस्तै कोषले सरल चक्र कर्जाको दर पनि नौ प्रतिशतमा झारेको छ । यसअघि यो कर्जा योजनामा १० प्रतिशत ब्याजदर थियो ।
सञ्चयकोषले केही दिन अघि मात्रै यो निर्णय गरे पनि परिवर्तीत व्याजदर भने साउनदेखि नै लागू हुनेछ । सञ्चयकोषको यो निर्णयले झण्डै पाँच लाख निक्षेपकर्ता प्रत्यक्ष प्रभावित हुनेछन् ।
निक्षेपकर्तासँगै कर्मचारी संचय कोषले विभिन्न जलविद्युत आयोजना तथा सरकारी संस्थाहरुलाई दिएको ऋणको ब्याजदर पनि समायोजन गरेको छ । कोषले माथिल्लो तामाकोशी जलविद्युत आयोजना, चिलिमे आयोजना अन्तर्गतका सान्जेन जलविद्युत आयोजना, रसुवागढी जलविद्युत आयोजना र मध्यभोटेकोशी आयोजनामा दिएको ऋणको ब्याजदर पनि एक प्रतिशतले घटाएर १० प्रतिशत कायम गरेको छ ।
संचय कोषबाट ऋण लिएका नेपाल आयल निगम र नेपाल वायुसेवा निगमले यसअघि ११ प्रतिशत ब्याज तिर्दै आएकोमा अब उनीहरुको ऋणको ब्याजदर पनि घटेको छ । यी दुवै संस्थाले अब १० प्रतिशत ब्याज तिर्नुपर्ने प्रशासक आचार्यले बताए ।
'अहिले डिपोजिट मार्केट धेरै अस्थिर देखिएको छ, एकथरी सोच्यो अर्कोथरी भइरहेको छ,' आचार्यले भने, 'यो अवस्थामा हामीसँग पनि ब्याजदर घटाउनुको अर्को विकल्प थिएन र हामीले त्यसै अनुसारको निर्णय लिएका छौं ।'
आचार्यले अहिले मुद्दती निक्षेपमा पनि ब्याजको दर निकै कम भएको भन्दै बजारसापेक्ष बनाउन पनि ब्याजदर घटाउनु परेको बताए । 'अहिले तरलता धेरै छ, फिक्स्ड डिपोजिटमा पनि राम्रो रेट छैन, घटिरहेको छ,' उनले भने, 'मार्केटर रेट अनुसार बनाउन पनि घटाउनु पर्ने थियो र सहुलियत पनि दिनुपर्ने भएकाले रिभ्यू गरेका हौं ।'
कर्मचारी संचय कोषको कूल सम्पत्ति अहिले १ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । यो मध्ये १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा सापटी रहेको कोषले जनाएको छ । कोषले सरकारी बन्डमा १५ अर्ब रुपैयाँ लगानी गरेको छ भने मुद्दती निक्षेपमा ३७ अर्ब रुपैयाँ रहेको छ ।
संचय कोषले विभिन्न कम्पनीको सेयरमा २ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ । कोषले नेपाल वायुसेवा निगमलाई ११ अर्ब, नेपाल आयल निगमलाई चार अर्ब, माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई आठ अर्ब तथा चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका तीनवटा आयोजनाहरु सान्जेन, रसुवागढी तथा मध्ये भोटेकोशीमा दुई अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।
कोषको खराब कर्जा १ प्रतिशत भन्दा पनि कम रहेको आचार्यले बताए । संचय कोषले झण्डै २८ करोड रुपैयाँ व्यवसायी सुधीर बस्नेतबाट उठाउन बाँकी छ । कोषले यो रकम प्रोभिजन गर्ने गरेको छ । कर्मचारी संचय कोषका काठमाडौंमा ६ वटा र पोखरामा ३ वटा गरि ९ वटा आफ्नै भवन छन् भने देशका विभिन्न स्थामा जग्गाहरु पनि छन् ।