एजेन्सी । देशले उदारवादी अर्थतन्त्रको बाटो समातेको मात्र के थियो, आर्थिक बर्ष १९९१/९२ का लागि एक व्यक्तिले सरकारलाई करोडौं रुपैयाँ एडभान्समा आय कर बुझाए । त्यस बेला सरकारले खुला अर्थतन्त्रको प्रभावका रुपमा आम्दानी करलाई बुझ्यो ।
२६ करोड भारु अर्थात ४१ करोड ६० लाख रुपैयाँ एडभान्समा आम्दानी कर बुझाउने हर्षद मेहता थिए । भारतमा उदार अर्थतन्त्र हाँगा फैलिरहँदा त्यसैबाट अर्बौका मालिक भएका हर्षद मेहताले छोटो समयमा त्यत्रो सम्पति कसरी जोडे ?
सेयर बजारमा चासो राख्नेहरुलाई हर्षद मेहता अपरिचित नाम होइन, तर उनको पुरा इतिहास भने कमैलाई मात्र थाहा होला ।
१९९२ फरवरी १० तारिखका दिन विहान देशका सबै प्रमुख सञ्चार माध्यमहरुमा आधा पृष्ठको ‘ध्यान आकर्षण’ विज्ञापन छापियो । विज्ञापनको शिर्षक थियो ‘हर्षद मेहता झेट बोल्छन्’ ।
मेहताकै आफ्नो कम्पनी ग्रोमोर रिसर्च एन्ड एसेट्स म्यानेजमेन्ट लिमिटेडले जारी गरेको विज्ञापनमा विगत केही महिनादेखि चर्चामा आउन थालेका हर्षद मेहताको दैनिक कृयाकलापका बारेमा वर्णन गरिएको थियो ।
‘लिडिङ बुल’ र ‘बिग बुल’ का नामले परिचित हर्षद मेहताका बारेमा विज्ञापन छापिएपछि देशविदेशमै चर्चित हुन पुगे ।
कसरी कमाए पैसा ?
सन् १९९० को सुरुदेखि नै सेयर बजार उकालो लागिरहेको थियो । सेयर बजारलाई उचाइमा पुर्याइरहेका थिए मेहेताले । उनी सेयर बजारमा लगातार लगानी बृद्धि गरिरहेका थिए, जसले गर्दा सेयरमा एक प्रकारको उछाल आएको थियो ।
कसैलाई पनि थाहा भएन वा भनौ कसैले पनि यो जान्ने प्रयास गरेन कि– आखि हर्षद मेहेताले कहाँबाट पैसा ल्याएर लगानी गरिरहेका छन् ।
१९९२ अप्रिल २३ मा टाइम्स अफ इन्डियामा पत्रकार सुचेता दलालको एउटा लेख छापियो । उनको लेखमा थियो– कसरी ऐन नियमको कमजोरीको फाइदा उठाउँदै मेहेता रातारात नोट छापिरहेका छन् ।
मेहेता बैंकिङको एक नियमको फाइदा उठाएर बैंकहरुलाई थाहा नदिइ उसैको करोडौं रुपैयाँ सेयर बजारमा लगाएर नोट छापिरहेका छन् भन्ने विवरण लेखमा उल्लेख गरिएको थियो । लेख छापिएपछि सेयर बजार तिब्र रुपमा ओरालो लाग्यो र लगानीकर्ताले करोडौं रुपैयाँ निमेषभरमै गुमाउनु पर्यो । मेहताको खेलका कारण कयौं बैंकले ८० अर्ब रुपैयाँ गुमाउनु परेको थियो ।
मेहेता घोटाला सार्वजनिक भएपछि सबैको प्रश्न थियो– आखिर उनले बैंकबाट कसरी करोडौं रुपैयाँ पाए ?
सामान्यतया तरलता व्यवस्थापनका लागि एक बैंकले अर्को बैंकसँग छोटो अवधिका लागि अन्तर बैंक सापटी लिने चलन छ । नेपालमा पनि यस्तो छ । सरकारी ऋणपत्रको धितोमा एक बैंकले अर्को बैंकको गर्जो हप्ता दिनदेखि १५ दिनसम्मका लागि टारिदिन्छन् ।
जुन बैंकलाई पैसा चाहिएको हुन्छ उसले एउटा बैंक रिसिप्ट (बिआर) जारी गर्छ । त्यो बिआर ऋण दिने बैंकलाई दिइन्छ । बिआरले सापटी लिने बैंकको ऋणपत्रमाथि सापटी दिने बैंकको स्वामित्वको प्रत्याभूति गर्छ ।
त्यसबेला दुई बैंकबीचको सापटी कारोबार दलालमार्फत गरिन्थ्यो । मेहेतालाई बैंकहरुको यो कारोबारका बारेमा राम्रोसँग ज्ञान थियो । सेयर बजारमा बनाएको एउटा विश्वाशिलो छविको प्रयोग गर्दै मेहेताले दुई साना बैंकहरु– बैंक अफ कराड (बिओके) र मेट्रो कोअपरेटिभ बैंक (एमसिबी) बाट नक्कली बिआर जारी गराए ।
यसलाई भजाएर मेहेताले कयौं बैंकबाट नगद लिए र सेयर बजारमा लगानी गरे । बैंकको पैसाबाट तत्कालै नाफा कमाएर उनी ऋण राफसाफ गरिदिइहाल्थे । जबसम्म सेयर बजार उकालो लागिरहेको थियो त्यतिबेलासम्म उनको योजनाको भनकसम्म पनि कसैलाई लागेको थिएन ।
तर, १९९२ अप्रिलमा मेहेताको यो खेलको अन्त्य भयो । मेहेतको खेलले आर्थिक नोक्शानी ठूलो भएपनि पुँजी बजार नियमन गर्नु पर्छ भन्ने चेत सरकारलाई त्यसपछि मात्र पलायो । सरकारले त्यसपछि भारतीय प्रत्याभूति तथा विनिमय वोर्ड (सेबी) गठन गर्यो ।
हर्षद मेहेतको कान्ड सार्वजनि भएपछि उनीमाथि अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई पाँच बर्ष कैदको सजाय सुनायो । बाँकी मुद्दाहरुमाथि फैसला हुन बाँकी नै थियो– मेहेताले जेलमै देह त्याग गरे ।
त्यो रात
मेहेताको ठगी सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्रउ गर्यो । बंबइ सेयर सुचकांकलाई ४५०० अंकमाथिको उचाइमा पुर्याएका मेहेता भने प्रहरी थुनामा जुत्ताको सिरानी लगाएर चिसो भुँइमा सुत्नु परेको थियो ।
१९९२ जुन ४ को दिनभरी हर्षद मेहता र उनीसँग सम्बन्धित सबै अधिकारीहरुको घर, कार्यालयमा सिबिआइले छापा मारेर ठूलो मात्रा दस्तावेज जफत गर्यो । त्यही दिन मध्य रातमा मेहेतासँगै सात व्यक्तिलाई पुछताछका लागि सिबिआइको आर्थिक अपराध शाखामा लगियो ।
सिबिआइको पुछताछ लामो समयसम्म चल्यो । त्यसपछि उनलाई सशस्त्र प्रहरीको कडा घेराबाट आजाद मैदान प्रहरी कार्यालयमा थुनामा राख्न लगियो । थुनामा जाँदा उनले श्रीमती ज्योती मेहेतासँग एकैछिन कुराकानी गर्न पाए ।
एकदमै हतास मेहेता निकैबेर आफूलाई थुनिएको कोठाको यताउता चाहरे । सामान्य अपराधिहरुलाई थुन्ने कोठामा उनलाई पनि कोचिएको थिए । उनी निकैबेर सुत्न सकेनन् । विहानीपख उनी जुत्ताको सिरानी लगाएर चिसो भुँइमा निदाए ।
विहान ७ बजे उनलाई जगाइयो । त्यसपछि उनलाई प्रहरी कार्यालय अगाडिको एउटा चिया पसलबाट सानो टुक्रा विस्कुट र एक कप चिया दिइएको थियो ।