सविन मिश्र/बिजमाण्डू
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको बजार क्रमश उकालो लागेको छ । गत आर्थिक वर्ष २०७१/०७२ मा निर्जीवन बीमा कम्पनीहरुले कारोवार १४ प्रतिशतले बढेको हो ।
| कम्पनीको नाम | आव २०७०/०७१ | आव २०७१/०७२ | वृद्धि |
| नेपाल इन्स्योरेन्स | 750000000 | 700000000 | -7% |
| दि ओरियण्टल इन्स्योरेन्स | 570000000 | 590000000 | 4% |
| नेशनल इन्स्योरेन्स | 635700000 | 720000000 | 13% |
| हिमालयन जनरल इन्स्योरेन्स | 931100000 | 850000000 | -9% |
| युनाइटेड इन्स्योरेन्स | 377500000 | 440000000 | 17% |
| प्रिमियम इन्स्योरेन्स | 502200000 | 740000000 | 47% |
| एभरेष्ट इन्स्योरेन्स | 100000000 | 110000000 | 10% |
| नेको इन्स्योरेन्स | 461100000 | 550000000 | 19% |
| सगरमाथा इन्स्योरेन्स | 970900000 | 1030000000 | 6% |
| प्रभु इन्स्योरेन्स | 632700000 | 720000000 | 14% |
| एनबी इन्स्योरेन्स | 6000000 | ||
| प्रुडेन्सियल इन्स्योरेन्स | 587800000 | 780000000 | 33% |
| शिखर इन्स्योरेन्स | 1055400000 | 1350000000 | 28% |
| लुम्बिनी जनरल इन्स्योरेन्स | 593900000 | 640000000 | 8% |
| एनएलजी इन्स्योरेन्स | 798800000 | 970000000 | 21% |
| सिद्धार्थ | 810000000 | 970000000 | 20% |
| राष्ट्रिय बीमा कम्पनी | 250000000 | 300000000 | 20% |
| जम्मा | 10027100000 | 11386000000 | वृद्धि औषत: 14% |
गत आवमा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम । स्रोत : बीमा समिति ।
गत आवमा १७ निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा एक अर्ब ३५ करोड ९० लाख रुपैयाँले धेरै हो । निर्जीवन बीमा एक बर्षमा 'म्याचोर्ड' हुने हुँदा संकलिन प्रिमिमय मध्ये दाबी भुक्तानी गर्नु नपरेको रकम कम्पनीको मुनाफा चढ्न जान्छ ।
बीमा समितिका अनुसार धेरै प्रिमियम संकलन गर्ने बीमा कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स एक नम्बरमा छ । उसले गत आर्थिक वर्षमा एक अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । शिखरको प्रिमियम अघिल्लो आवको तुलनामा ३० करोड रुपैयाँले बढेको छ ।
धेरै प्रिमियम संकलनका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । उसले एक अर्ब तीन करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ । शिखर र सगरमाथाले मात्रै कूल प्रिमियमको २० प्रतिशत अंश ओगट्छन् ।
१७ वटा निर्जीवन बीमा कम्पनी मध्ये नेपाल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको प्रिमियम संकलन घटेको छ भने अरु सबै कम्पनीको बढेको छ ।
सबै भन्दा धेरै प्रिमियर इन्स्योरेन्सको ४७ प्रतिशत कारोबार बृद्धि गरेको बढेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ३३ प्रतिशतले, शिखर इन्स्योरेन्सको २८ प्रतिशतले तथा एनएलजी इन्स्योरेन्सको प्रिमियम २१ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष जस्तै आर्थिक वर्ष २०७१/०७२ मा पनि बीमा एनबी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान (हालको कम्पनी) क्रमश: पुछारबाट पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
कारोवार ठप्प भइ सकेको एनबी इन्स्योरेन्स नयाँ व्यवस्थापन सहित गत आवको अन्तिम त्रैमासबाट सञ्चालनमा आएको हो । अघिल्लो आवमा बीमा समितिसँगको बिवादका कारण कारोवार समेत स्थगित गरेको एभरेष्ट इन्स्योरेन्सले गत आवबाट विस्तारै बजारमा पुन उपस्थिती जनाएको छ । निर्जीवन कारोबारका लागि राष्ट्रिय बीमा संस्थानबाट टुक्रिएको राष्ट्रिय बीमा कम्पनीले क्रमिक रुपमा कारोबार बिस्तार गर्दैछ ।
बीमा समितिका निर्देशक राजुरमण पौडेलले धेरै कम्पनीको वृद्धिदर राम्रो रहेको बताए । 'अधिकांश बीमा कम्पनीको बिस्तार सन्तोष जनक छ,' उनले भने, 'भूकम्पपछि उनीहरुलाई अझै मार्केट ग्रोथ गर्ने अवसर छ, यो अवसरलाई खेर नफाल्ने हो भने यो बर्ष झन् उत्साहजनक कारोवार हुनेछ ।'
नेपालमा निर्जीवन तर्फ सबै भन्दा बढी हिस्सा अग्नी बीमाको रहेको छ । त्यस पछि सवारी साधन लगायतका अन्य बीमा पर्छन् । गत बैशाखमा आएको भूकम्प पश्चात यो आर्थिक बर्ष देखि घरको बीमा गराउने संख्या बढ्ने कम्पनीहरुको अपेक्षा छ । सोहि कारण यो बर्ष गत आव भन्दा धेरैले बीमा व्यवसाय उकालो लाग्ने आशा गरिएको छ ।