BIZMANDU
www.bizmandu.com

दुई बर्षमा कसरी पुग्छ आठ अर्ब रुपैयाँ चुक्ता पुँजी ?

२०७२ साउन ७

दुई बर्षमा कसरी पुग्छ आठ अर्ब रुपैयाँ चुक्ता पुँजी ?
दुई बर्षमा कसरी पुग्छ आठ अर्ब रुपैयाँ चुक्ता पुँजी ?


सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । अघिल्लो बर्ष नेपाल राष्ट्र बैंक बाणिज्य बैंकहरुको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याउने कसरत गरिरहेको थियो । गभर्नरका रुपमा डा. युवराज खतिवडाले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा पुँजी बृद्धि गर्ने योजना बनाइरहेका थिए ।
 
मौद्रिक नीति ल्याउनु केही दिनअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रतिनिधिहरुले तत्कालिन गभर्नर खतिवडालाई चुक्ता पुँजी बृद्धि गरे नेपाल छाड्ने चेतावनी दिए । अन्तर्राष्ट्रिय रुपमा पत्याइएको एक मात्र बाणिज्य बैंक चार्टर्डले नेपाल छाड्ने चेतावनी दिएपछि खतिवडाले मौद्रिक नीतिमा उल्लेख नै गरे ‘बाणिज्य बैंकको दुई अर्बको चुक्ता पुँजीलाई यथावत राखिएको छ ।’
 
खतिवडा राष्ट्र बैंकबाट बाहिरिएको पाँच महिनापछि नवनियुक्त गभर्नर डा. चिरञ्जिबी नेपालले चुक्ता पुँजी अहिले तोकिएभन्दा चार गुणा बढीले बृद्धि गर्नु पर्ने घोषणा गरेका छन् । दुई अर्ब चुक्ता पुँजी भएका बैंकले अब दुई बर्षभित्रै पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।


 
गभर्नरले पुँजी बृद्धिको घोषणा गरेपछि एक बैंकरले प्रश्न गरे– डाक्टर साब यो कसरी सम्भव छ ? बैंकरको बाक्लो उपस्थितिमा बाचन गरिएको मौद्रिक नीतिमा धेरै कुराहरु नयाँ छन् तर चर्चा पुँजी बृद्धिले मात्र पायो ।
 
किन पुँजी बृद्धि ?
गभर्नर नेपालले जवाफ फर्काए– नेपाली बैंकहरु समस्याग्रस्त नहुने अवस्था बनाउन पुँजी बृद्धिको निर्णय गरिएको हो । एक अर्बको आयोजना पनि एक/दुई वटा बैंकले गर्न सम्भव छैन । पुँजीको आकार ठूलो भयो भने बैंकले ठूला परियोजनामा एक्लै/दुक्लै पनि हिम्मत गर्न सक्छन् ।
 
गभर्नरले दुई बर्षको अवधिमा पुँजी चार गुणाले बढाउनका लागि राष्ट्र बैंकले मर्जरको प्याकेजसमेत दिइरहेको बताए । गभर्नरले प्रस्ट संकेत गर्न भ्याए– अब देशमा १०/१२ वटा बाणिज्य बैंक  भए पुग्छ ।
 
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालमा बैंक तथा वित्तीय संस्था धेरै भएकाले यसलाई घटाउन दवाव दिइरहेका बेला गभर्नर नेपालले महोत्वकांक्षी पुँजी बृद्धिको योजना ल्याएका हुन् ।
 
डा. नेपालका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले पुँजी बृद्धि गर्ने बिकल्पहरु समेत दिए । ‘फ्रेस पुँजी थप्नु पर्छ भनिएको छैन, आठ अर्ब पुर्याउन विदेशी बैंक पनि वोलाउन सकिन्छ, मर्जरमा पनि जान सकिन्छ,’ पत्रकार माझ उनले भने, ‘विगतमा समय धेरै दिँदा मर्जरको उद्देश्प पुरा हुन सकेन । हामीले पुँजी बढाउन २०६३ देखि २०७१ सम्म समय पनि दिएका थियौं । तर प्रत्येक बर्ष वोनस सेयर जारी गरेर पुँजी बजारलाई प्रभावित गर्ने काम मात्र भयो ।’
 
जबकी गत बर्ष डेपुटी गभर्नर अधिकारीले पुँजी बृद्धि गर्ने योजना किन सफल भएन भन्ने प्रश्नमा भनेका थिए– पुँजी कति हुने त भन्ने सन्दर्भमा हाम्रो अवधारण स्पष्ट छ जसले बढी कारोबार गर्छ उसलाई वढी पुँजी चाहिन्छ । जसको कारोबार वढ्दै जान्छ उसले कमन इक्विटीका साथै अरु रिजर्भ पनि बढाउँदै लैजानु पर्यो । जसको सानो हुन्छ उसलाई अहिलेकैले पनि पुग्ला वा पछि बढाए पनि हुन्छ । व्यवसायलाई आधार मानेर इकोनोमिक क्यापिटलको अवधारणा वासेल–थ्रिले ल्याएको छ । जबकी एउटा नीति त्यहाँ आइसकेको छ भने ‘इन्ट्रि क्यापिटल’ वा सुरुवाती पुँजी सँधै थपिरहनु पर्छ भन्ने होइन ।  
 
दुई बर्षमा सम्भव छैन ?
नेपाल राष्ट्र बैंकले पुँजी बृद्धि गर्नु पर्ने पक्षमा तर्कहरु गरिरहँदा बैंकरहरु भने दुई बर्षमा त्यो सम्भव नहुने बताउँछन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने– दुई बर्षमा आठ अर्ब रुपैयाँ पुर्याउन सम्भवनै छैन । पुँजी कसले हाल्न सक्छ ? मर्जरको विकल्प दिएपनि त्यो त्यति सजिलो छैन ।
 
दुई बर्षभित्र पुँजी कसरी बृद्धि गर्ने बारेमा राष्ट्र बैंकले छिट्टै परिपत्र जारी गर्दैछ । स्रोतका अनुसार, विगतमा जस्तै दुई बर्षमा पुँजी बृद्धि गर्ने योजना राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग माग्ने छ । बैंकहरुले बुझाएको योजना अनुसारनै राष्ट्र बैंकले पुँजी बृद्धि गराउने छ ।
 
मर्जर र एक्विजिसनको नीति आइसकेको र विदेशी बैंक भित्राउने सम्बन्धि पर्याप्त नीति निर्देशनहरुको जोहो भइसकेका कारणले पनि दुई बर्षभित्र तोकिएको पुँजी बृद्धि गर्न हुने भरोसामा राष्ट्र बैंक छ । पैसा हालेर वा स्वस्फुर्त रुपमा मर्ज भएर तोकिएको आठ अर्ब नपुर्याएमा केन्द्रीय बैंक आफैले बैंकहरुको मर्जर गराउने योजनामा रहेको स्रोत बताउँछ ।
 
राष्ट्र बैंकका अधिकारीहरु दुई बर्षमा बैंकको पुँजी आठ अर्ब पुग्नेमा ढुक्क देखिन्छन् । डेपुटी गभर्नर अधिकारीले भने– पुँजी आफै बढाएर लैजान्छु भनेर जाँदा सम्भव नहोला तर मर्जरबाट जाँदा एकै बर्षमा सम्भव छ । हामीले संस्थापक सेयरधनीको मिश्रण खोजेका हौं । अहिले फलानो बैंक फलानोको भनेको सुनिन्छ, फलानोका कारण समस्यामा भयो भनिन्छ । अब दुई वा दुईभन्दा वढी संस्था नमिली आठ अर्बको बैंक बन्दैन, हामीले सञ्चालकको मिश्रण खोजेका हौं । जब मिश्रण हुन्छ त्यसपछि यस्ता खाले समस्या आउँदैन । 
 
पुँजी बजार वढाउने उपाय ?
राष्ट्र बैंकको महत्वोकांक्षी पुँजी बृद्धिको योजनालाई अधिकांसले सेयर बजारसँग जोडेर  हेरेका छन् । राष्ट्र बैंकका कर्मचारीहरुले सेयर किनेकाले मुल्य बढाउन योजना ल्याइएको आशंका धेरैले गरेका छन् ।
 
डेपुटी गभर्नर अधिकारी भने यसले सेयर बजारलाई प्रभावित नगर्ने बरु स्थायित्व दिने बताउँछन् । यता बजार भने राष्ट्र बैंकले पुँजी बृद्धि गर्ने घोषण गरेको ४० मिनेटमै ४० अंकले बढेको थियो ।
 
अधिकारीका अनुसार, पुँजी बढाएर मात्र पुँजीकरण हुने भए सेयर बजार दुई हजारसम्म पुग्न सक्थ्यो । यहाँ पूँजीकरण मात्र सम्भव छैन । 
 
उनले बाहिर हल्ला चलेजस्तो सेयर बजारमा राष्ट्र बैंकका कर्मचारीहरुको लगानी नरहेको स्ष्टीकरण दिँदै भने– हाम्रो उद्देश्य पुँजी बजारलाई प्रभावित गर्ने होइन । यसले पुँजी बजारलाई स्थिर बनाउन सहयोग पुर्याउँछ । आजको भोली नै रिजल्ट हेर्नु हुँदैन । नीति दीर्घकाललाई हेरर ल्याइएको हुन्छ । 

Tata
GBIME
NLIC