काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ८ प्रतिशतमा कायम राख्ने लक्ष्यसहित बिहीबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। बुधवार तीन घन्टा चलेको संचालक समिति बैठकले मूल्यवृद्धि साढे ८ प्रतिशतमा राख्ने लक्ष्यसहित ठूलो नीतिगत परिवर्तन नगरी मौद्रिक नीतिलाई अन्तिम रुप दिएको हो । स्रोतका अनुसार बिहीबार विहान संचालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई अनुमोदन गर्नेछ ।
निजी क्षेत्रमैत्री मानिएका गर्भनर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ) तथा संचालकको कार्यकाल र स्प्रेडमा कुनै परिवर्तन नगरेको एक संचालकले बताए ।
पूर्व गभर्नर डा. युवराज खतिवडाले आफनो कार्यकालमा सिईओ र संचालकले दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्थाप्रति डा नेपालले आलोचना गर्दै आएका थिए ।
मौद्रिक नीतिमा बैंकको पुँजी वृद्धिको योजनालाई पनि समेटिएको छ । तर बैंक तथा वित्तिय संस्थाको पुँजी कति पुर्याउने भन्ने बारे भने उल्लेख नगरिएको स्रोतले बतायो ।
अहिले वाणिज्य बैंकको दुई अर्ब र विकास बैंकको ६४ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान छ । स्रोतका अनुसार अनिवार्य तरलता अनुपात(सिआरआर)लाई यथावत राखिएको छ । अहिले वाणिज्य बैंकहरुको सिआरआर ६ प्रतिशत छ ।
स्रोतका अनुसार चालु आर्थिक वर्षको बजेटमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने दिशामा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने योजना मौद्रिक नीतिमा आउनेछ ।