BIZMANDU
www.bizmandu.com

नस्डाक सूचिकृत युरोनेटको आईएमई मलेसियामा लगानी

२०७२ असार ८

नस्डाक सूचिकृत युरोनेटको आईएमई मलेसियामा लगानी
नस्डाक सूचिकृत युरोनेटको आईएमई मलेसियामा लगानी


काठमाडौं । आइएमई मलेसिया र विश्वको तेस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्सफरवीच मर्ज भएको छ । रिया मनी ट्रान्सफर अमेरिकी स्टक एक्सचेञ्ज नस्डाकमा सूचिकृत कम्पनी युरोनेटको सहायक कम्पनी हो ।

Tata
GBIME

नस्डाकमा सूचिकृत कम्पनीमा पुग्नु हाम्रा लागि दुर्लभ अवसर हो, हेमराज ढकालको अन्तर्वार्ता

आईएमई मलेसियाका प्रवन्ध निर्देशक हेमराज ढकालले आईएमई मलेसिया र रियावीच मर्ज भएको पुष्टि गरे । हो, अब रिया र मलेसियाको आईएमईले एकीकृत भएर कारोवार गर्छन्, उनले क्वालालम्पुरबाट टेलिफोनमा जानकारी दिए ।

रियासँग आईएमईको मर्ज गर्दा युरोनेटले केही नगद र बाँकी युरोनेटको सेयर दिएको छ । नस्डाक सूचिकृत कम्पनीमा सेयर लगानी हुनु हाम्रा लागि राम्रो हो, ढकालले जानकारी दिए ।

नस्डाकमा सूचीकृत युरोनेटको बजार पुँजीकरण तीन खर्ब २० अर्ब रुपैयाँ छ । नस्डाकमा यो कम्पनीको सेयर प्रतिकित्ता ६० डलरभन्दा बढीमा कारोवार भैरहेको छ ।

दुई कम्पनीको एकतापछि आइएमई मलेसिया युरोनेटको सहायक कम्पनी आईएमई (एम) एसडिएन बिएचडिकै रुपमा सञ्चालन हुनेछ । रियामा मलेसियाको आइएमई मात्रै मर्ज भएको हो, आईएमई नेपालको संरचना भने क’नै परिवर्तन आएको छैन्, उनले भने ।

आईएमईको मर्जसँगै रियालाई रेमिट्यान्स सेवाका लागि महत्वपूर्ण मानिएका  एशिया र मध्यपूर्वी मुलुकमा तुरुन्तै पहुँच हुनेछ । त्यसैगरी विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँगको साझेदारीपछि आइएमईको पनि पहुँच विश्वव्यापी हुने, सेवामा विस्तार हुने र नयाँ प्रविधिबाट रेमिट्यान्स सेवाको भुक्तानीलाई थप विश्वासिलो बनाउन मद्दत पुग्ने विश्वास आईएमईले लिएको छ ।

रियाका कारण आइएमईको रकम रेमिट्यान्स गर्ने क्षमतामा अझ बढी वृद्धि हुनेछ, दुई वटा कम्पनीको एकीकृत कारोवारले भैरहेका तथा नयाँ बजार विस्तारमा सहयोग पुग्ने विश्वास आईएमईले लिएको छ ।

रियाको युरोप र अमेरिकी मुलुकमा राम्रो र ठूलो सञ्जाल छ,  ती क्षेत्रमा रहने नेपालीले रियाको सञ्जाललाई प्रयोग गरेर अझ सहज ढंगबाट नेपालमा रेमिट्यान्स पठाउन सक्ने पनि प्रवन्ध निर्देशक ढकालले बताए ।

रेमिट्यान्स सेवामा रिया तिव्र सेवा, सुरक्षित भुक्तानी, कम खर्चिलो र विश्वासिलो नाम हो । हाम्रा ग्राहक रियाको दुई लाख ४६ हजार स्थानमा भएको वृहद सञ्जालबाट लाभान्वित हुनेछन्, आईएमई मलेसियाका प्रवन्ध निर्देशक ढकालले जानकारी दिए। युरोनेटको बलियो वित्तीय अवस्था र संयुक्त टिमले रेमिट्यान्स क्षेत्रमा आइएमईको वृद्धिलाई मद्दत गर्नेछ, उनले भने ।

सन् २००२ देखि मलेसियामा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको आईएमई मलेसियाले  विश्वका २५ देशमा रेमिट्यान्स भुक्तानी सेवा दिंदै आएको छ । कम्पनीले मलेसियाबाट नेपाल लगायत इन्डोनेशिया, फिलिपिन्स, बंगलादेश, श्रीलंका, चीन, अष्ट्रेलिया लगायतका  देशमा ७५ हजार भुक्तानी केन्द्रबाट रेमिट्यान्स सेवा दिन्छ । कम्पनीमा पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

रियासँग मर्ज भए पनि कम्पनीको नाम, सेवा र कर्मचारीमा अहिले कुनै परिवर्तन हुँदैन्, सबै व्यवस्थापन र सञ्चालन हामीले नै गर्ने हो, प्रवन्ध निर्देशक ढकालले भने । युरोनेटको विद्युतीय बैैकिंग प्रणालीमा ठूलो लगानी छ, उनीहरुबाट हामीले नयाँ प्रविधि ल्याउँछौं, त्यसबाट हाम्रो रेमिट्यान्स सेवा अझ भरपर्दो र विश्वसनीय हुनेछ, उनले भने । 

युरोप र अमेरिकामा रेमिट्यान्स सेवाको तिव्र विस्तार गरिरहेको रियाका लागि आइएमईसँगको मर्जले एशिया तथा खाडी मुलुकमा नयाँ ढोका खोलेको छ । युरोनेटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माइकल जे ब्राउनले तिव्र रेमिट्यान्स सेवा विस्तार भैरहेको एशियामा आईएमई रेमिट्यान्स सेवाका लागि प्रसिद्ध र विश्वासिलो नाम भएको बताए।

रियालाई रेमिट्यान्सको नयाँ बजारमा प्रवेश गर्न आईएमईले सञ्जाल, व्यापार र व्यवस्थापन दिने उनले जानकारी दिए । आईएमई र रियाको एकताले म निक्कै तरंगित छु, उनले  भने ।  मलेसियाको केएल प्लाजामा प्रधान कार्यालय रहेको आईएमई मलेसियाका ७० वटा शाखा सञ्जाल छ । 

रिया मनी ट्रान्सफरको मुख्य लगानीकर्ता युरोनेट भने वित्तीय सेवा पुर्याउने नस्दाकमा सूचिकृत कम्पनी हो ।  युरोनेट फब्र्सको लगातार दुई वर्षदेखि तिव्र विस्तार भैरहेका विश्वका ५० प्रविधि कम्पनी भित्र परेको छ ।
कम्पनीले वित्तीय सेवा अन्र्तगतका तीन क्षेत्र विद्युतीय वित्तीय कारोवार (इलेक्ट्रोनिकल फाइनान्सियल ट्रान्जेक्सन) इएफटि, प्रिपेड इपे र मनी ट्रान्सफर हुन् ।

इएफटि अन्र्तगत कम्पनीले विश्वभर २० हजार ८६३ वटा एटिएम सञ्जाल बनाएको छ । त्यसैगरी ७६ हजार इएफटि पिओएस टर्मिनल छन् । युरोनेटले विश्वका ४७ देशमा डेबिट तथा क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी कार्ड सफ्टवेयर, प्रिपेड प्रोसेसिङ अन्र्तगत छ लाख ७२ हजार पिओएस टर्मिनल र तीन लाख आठ हजार रिटेलरबाट सेवा प्रदान गर्दै आएको छ । युरोनेटमा बैंक अफ अमेरिका, बार्कलेज बैंक लगायतको लगानी पनि छ ।
उपभोक्तादेखि उपभोक्तासम्म रेमिट्यान्स सेवा पुर्याउन सन् १९८७ मा स्थापित रिया मनी ट्रान्सफर कम्पनी वेस्टर्न युनियन र मनीग्रामपछि विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी हो ।

रियाका अमेरिका, बेलायत र न्युनिल्याण्डमा ट्रान्जेक्सन प्रोसेसिङ सेन्टर छन् । कम्पनीले उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप तथा अष्ट्रेलियामा आफ्नै स्टोर तथा अमेरिकामा अनलाईनबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । कम्पनीका विश्वका १३८ देशमा दुई लाख ४६ हजार स्थानमा एजेन्सि र एजेन्टबाट सेवा दिइरहेको छ ।