सविन मिश्र/बिजमाण्डू
काठमाडौं । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) र पिज्जाहटले नेपालमा खोलेको चेन सधैंका लागि बन्द गर्ने भएको छ । केएफसीको व्यवस्थापक देवयानी इन्टरनेशनलले वैशाख ३० गतेबाट अनिश्चितकालका लागि बन्द गरेको कम्पनी अब सधैंका लागि बन्द गर्न कानुनी प्रक्रिया थालेको हो ।
'कम्पनी बन्द गर्न हामी कानुनी बाटोमा अगाडि बढ्दैछौं, देवयानी इन्टरनेशनलका निर्देशक रोहित कोलीले बिजमाण्डूसँग भने, 'अब केएफसी सधैंका लागि बन्द हुन्छ ।' उनले कम्पनी बन्द गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
देवयानी इन्टरनेशनलले नेपालमा केएफसी छिट्टै नै बन्द गर्ने तयारी गरिरहेको उनले बताए । 'हाम्रा रेष्टुरेण्ट अहिले बन्द छन्, यी अब खुल्दैनन्,' उनले भने, 'हामी अहिले सधैंका लागि केएफसी र पिज्जाहट बन्द गर्ने गरी अगाडि बढिरहेका छौं ।'
कर्मचारीकै कारण कम्पनी बन्द गर्नु परेको भन्दै कोलीले अब उनीहरुसँग वार्ता पनि नुहुने बताए । 'यो बीचमा उनीहरुले निकै नराम्रो काम गरे,' उनले भने, 'अब युनियनसँग कुरा गरिरहनुपर्ने आवश्यकता छैन ।'
केएफसी व्यवस्थापनले कम्पनी बन्द गर्न लागेको जानकारी आफ्ना कर्मचारीहरुलाई औपचारिक रुपमा दिएको छैन । केएफसीका एचआर म्यानेजर सन्तोष झाले अहिलेसम्म कम्पनी खुल्ने वा बन्द हुने भन्ने टुंगो नलागिसकेको बताए । 'अहिलेसम्म औपचारिक वार्ता वा कुराकानी भएको छैन, के हुन्छ भनेर अझै भन्न सकिने अवस्था छैन,' उनले भने ।
केएफसीले दरवारमार्ग र थापाथलीमा दुई वटा चेन सञ्चालन गरेको छ । यी दुई मध्ये थापाथलीको रेष्टुरेन्ट तुलनात्मक रुपमा कम चलेको छ । यी रेष्टुरेन्टमा मजदूर र व्यवस्थापनबीच विगतमा पनि विवाद देखिएको थियो
मजदूरको आशा कायमै
व्यवस्थापनले केएफसी बन्द गर्ने तयारी गरेपनि केएफसीमा कार्यरत मजदूरहरु भने फेरि संचालनमा आउने आशामै छन् । केएफसीमा सक्रिय कर्मचारी युनियनले अहिलेसम्म केही कुरा नआएको र व्यवस्थापनले यसअघि निकालेको सूचनामा 'नो वर्क नो पे' लागू हुने बताएकाले अझै खुल्ने आशा रहेको बताएको हो ।
'उनीहरुले अहिलेसम्म बन्द भन्ने कुरा गरेका छन्, तर नो वर्क नो पे पनि सँगै भनिरहेका छन्,' युनियनका अध्यक्ष सिताराम बिकले भने, 'यदि कम्पनी बन्द हुन्थ्यो भने त किने नयाँ कुरा गर्नुपर्थ्यो र ?'
युनियनले श्रम कार्यालयमा देवयानी इन्टरनेशनल विरुद्ध उजुरी पनि गरेको छ । यो उजुरीमाथि आउँदो असार २ गते दुई पक्षबीच वार्ता हुँदैछ । वार्ताको मिति तोकिए पनि व्यवस्थापनले भने कम्पनी बन्दको प्रक्रिया अगाडि बढाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
भूकम्पपछि कति समय रेष्टुरेन्ट खोल्ने भन्ने विवादका कारण बन्द भएको केएफसीले अन्तत: सम्पूर्ण सेवा नै बन्द गर्ने भएको हो । भूकम्पका कारण कर्मचारी काठमाडौं बाहिर गएको भन्दै मजदूर युनियनले लामो समय रेष्टुरेन्ट खोल्न नसकिने भन्दै युनियनले विरोध गरेपछि दुई पक्षबीच विवाद बढ्दै जाँदा रेष्टुरेन्ट बन्द भएको थियो ।
मजदूर युनियनले वार्ता गरी समस्या समाधान गर्न माग गरेपनि व्यवस्थापनले भने अब कम्पनी नचलाउने निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुहोस: वैशाख ३० गतेदेखि अनिश्चितकालका लागि केएफसी रेष्टुरेन्ट बन्द, युनियन र व्यवस्थापनबीच दोषारोपण
यस्ताे छ व्यवस्थापनले जारी गरेको सूचना :