'निगम धारासायी छ, चर्को ब्याजमा ऋण लिएर ल्याइएको जहाजहरु थन्किएका छन्,' मन्त्री शेर्पाले बिजमाण्डूसँग भने, 'हाम्रो दायित्व निगमको पुनर्संरचनाको हो, त्यसका लागि पहिले हामी हाम्रै स्रोत र साधन प्रयोग गर्न चाहन्छौं ।' शेर्पाले यसअघि निगम व्यवस्थापनको जिम्मा दिन प्रक्रिया अगाडि बढेको भए पनि आफूले तत्काल त्यसलाई अगाडि नबढाउने बताए ।
'पुरानो, रिटायर्ड हुने बेला भएको र भुत्ते किसिमको जनशक्तिले अब यो संस्था चल्न गाह्रो छ,' शेर्पाले भने, 'अब यसलाई प्रशासनिक सुधार गर्नुपर्छ । हाम्रो राष्ट्रिय ध्वजाबाहकको अवस्थालाई उच्च बनाउन सबै लाग्नुपर्छ ।' उनले निगमलाई बलियो बनाउन नेपाली नै सक्षम भएको स्पष्ट पारे ।
'तत्काल हामीले व्यवस्थापन अरुलाई दिने विषयमा सोचेका छैनौं, मभन्दा अगाडिका मन्त्रीहरुले के कस्तो निर्णय गरेका छन् त्यो पनि म हेर्छु,' उनले भने, 'हामीले जे काम स्वार्थका लागि भन्दा पनि बेटरमेन्टका लागि काम गर्ने हो ।' उनले निगममा रहेका कर्मचारी युनियनका कारण व्यवस्थापन धरासायी हुने गरेको भन्दै अब व्यवस्थापनलाई बलियो बनाएर अगाडि बढाउने बताए ।
तत्कालीन पर्यटन मन्त्री दीपकचन्द्र अमात्यको पालामा निगम व्यवस्थापन लुफ्थान्सालाई दिने विषयमा छलफल अगाडि बढेको थियो । त्यसका विषयमा पर्यटन मन्त्रालयले अर्थमन्त्रालयलगायतसँग समेत छलफल गरेको थियो ।
शेर्पा मन्त्री भएपछि सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको छ । नेपाल नागरिक उड्डन प्राधिकरणको महानिर्देशकमा संजीव गौतम नियुक्त भएका छन् ।
पर्यटनमा १५ प्रतिशत मात्रै क्षति
मन्त्री शेर्पाले विनासकारी भूकम्पका कारण १५ प्रतिशत पर्यटकीय सम्पदामा क्षति पुगेको बताएका छन् । उनले अझै पनि धेरै सम्पदाहरु जीवित रहेको भन्दै तिनीहरुको मार्केटिङ गरेर अब आउने सिजनमा पर्यटक आवागमन बढाउन सकिने बताए ।
'भूकम्पका कारण धेरै सम्पदामा क्षति पुगेको भए पनि पर्यटन क्षेत्रमा १५ प्रतिशतमात्रै क्षति पुगेको छ,' मन्त्री शेर्पाले भने, 'हामीले बाँकी रहेका संरचनाको मार्केटिङ गर्नुपर्छ र आउने सिजनमा नेपालमा विदेशी पर्यटक धेरै भित्र्याउनु पर्छ ।' शेर्पाले ट्रेकिङ ट्रेलहरुमा धेरै क्षति पुगेको भन्दै तिनिहरुको पुनर्निर्माणमा लाग्ने बेला आएको पनि बताए ।
'टुरिजम डेस्टिनेसनका रुपमा नेपालमा खतरा छैन, हामी नेपाल जान सक्छौं भन्ने छाप विदेशीलाई पार्न सक्नुपर्छ,' उनले भने, 'त्यसका लागि मार्केटिङ जरुरी हुन्छ, जसलाई हामीले प्राथमिकतामा राख्नुपर्छ ।'