BIZMANDU
www.bizmandu.com

३१% आर्थिक गतिविधि हुने राजधानीको बजार सुक्यो

२०७२ जेठ ६

३१% आर्थिक गतिविधि हुने राजधानीको बजार सुक्यो
३१% आर्थिक गतिविधि हुने राजधानीको बजार सुक्यो


सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । वैशाख १२ गतेअघि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ आठ घन्टामा झारेको थियो । भुकम्पले क्षति पुर्याएर विद्युत् गृहहरुले उत्पादन घटाउँदा समेत अहिले लोडसेडिङ वढीमा एक–दुई घन्टाभन्दा हुँदैन ।
 
विद्यूत् आपुर्ति उल्लेख्य घट्दासमेत लोडसेडिङ कम हुनुको अर्थ हो– उद्योगधन्दा, कलकारखाना सबै ठप्प छन् । स्कुल, कलेज, डिर्पाटमेन्ट स्टोर, कार्यालयलगायत विद्युत् वढी खपत गर्ने अधिकांस संस्थाहरु बन्द छन् ।
 
मूख्य औद्योगिक क्षेत्रहरु वीरगञ्ज, विराटनगर र भैरहवामा भुकम्पले क्षति नपुर्याए पनि उद्योगका कर्पोरेट हाउसहरु काठमाडौं केन्द्रीत छन्, जसलाई भुकम्पले प्रभावित गरेको छ । सानो पान पसलदेखि ठूला कर्पोरेट हाउसहरुसम्म प्रभावित भएपछि आर्थिक गतिविधि अहिले रोकिएको हो ।
 
‘व्यापार व्यवसाय, उपभोग बसैको केन्द्र काठमाडौं नै हो,’ बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भन्डारीले भने, ‘काठमाडौं प्रभावित भएपछि अर्थतन्त्रनै प्रभावित हुन्छ ।’


 
काठमाडौं उपत्यकाका मूख्य मूख्य ब्यापारिक केन्द्रका अधिकांस मल, डिपार्टमेन्ट स्टोर, पसल, रेष्टुरेन्ट तथा होटलहरु यतिखेर बन्दप्राय छन् । जति खुलेका छन् ती पनि सुनसान । 
 
न्युरोड, दरवारमार्ग, ठमेल, सातदोवाटो, लाजिम्पाट, महाराजगञ्ज, कोटेश्वरलगायत अधिकांस क्षेत्रको व्यापार व्यवसाय ठप्पजस्तै छ । बैशाख १२ गतेको विनासकारी भुकम्प र त्यसपछिका परकम्पनले जनधनको क्षति मात्र गरेन व्यापार व्यवासय पनि सुकाएको छ ।
 
उपत्यकामा रहेका ६ लाख १४ हजार सात सय ७७ घरमा २५ लाख १७ हजार जना वसोवास गर्छन् । यो गृह मन्त्रालयले जेठ ४ गते सार्वजनिक गरेको तथ्यांक हो । कुल घरमध्ये ७२ हजार दुई सय १७ वटा पूर्ण रुपमा भत्किएका छन् भने ६५ हजार  ६ सय ९४ वटा आंशिक रुपमा भत्किएका छन् ।
 
उपत्यकामा १७ सय २२ जनाको ज्यान लिने गरि भुकम्प गएपछि ठूलो संख्यामा सर्वसाधारणले राजधानी छाडिसकेका छन् । सर्वसाधारण वाहिरिएपछि राजधानीको उपभोग ह्वात्तै घटेको छ । भएकाहरु पनि भुकम्प फेरि आउने भयले गाँसमा भन्दा पनि सुरक्षित वासको प्रबन्धमा लागेका छन् ।
 
राजधानीमा सर्वसाधारणको चहलपहल घटेपछि बजारमा त्यसको सोझो असर देखिएको हो । अति आवश्यकीय बस्तु खरीद गर्न वाहेक सर्वसाधारण बजारमा उतिसारो जाँदैनन् ।
 
राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर देशकै सबैभन्दा वढी आर्थिक गतिविधि हुने क्षेत्र हो । राष्ट्र बैंकले गरेको एक अध्यनले कुल जिडिपीको ३१ प्रतिशत अर्थात पाँच खर्ब ९७ अर्ब रुपैयाँको आर्थिक कृयाकलाप राजधानीमा मात्रै हुने गरेको देखाएको छ । देशको कुल जिडिपी १९ खर्ब २९ अर्ब रुपैयाँ छ । 
 
देशमा जति खाद्यान्न खपत हुन्छ त्यसको १९.८ प्रतिशत राजधानीमा मात्रै हुने गरेको छ । नेपाल आयात हुने १२५ अर्बको पेट्रोलियम पदार्थमध्ये ३०.७ प्रतिशत राजधानीमै खपत हुन्छ । बिजुली पनि २९.२ प्रतिशत राजधानीमै प्रयोग हुन्छ ।
 
अर्थतन्त्रको ३१ प्रतिशत हिस्सा ओगट्ने राजधानी सुनसान भएपछि आर्थिक कृयाकलाप घटेर समग्र अर्थतन्त्रनै नराम्ररी प्रभावित भएको छ । राजधानीको खपत उच्च दरले घटेको संकेत दैनिक उपभोग हुने सागसाब्जीको मूल्यले देखाइसकेको छ । भुकम्प जानुअघिको तुलनामा अधिकांस सागसब्जीको मूल्य आधाले घटिसकेको छ । कुखुराको मासुदेखि अन्डासम्मको भाउ घटेको छ । 
 
होटल तथा रेष्टुरेन्टहरु एक त कम खुलेका छन्, जति खुलेका छन् त्यसमा पनि सर्वसाधारणको चहलपहल नगन्य छ । बस्तु तथा सेवाको आयात घटेको छ । आयातमूखी अर्थतन्त्र भएकाले राजश्व ३० अर्ब रुपैयाँले कम उठ्ने जानकारी राजश्व सचिव नवराज भन्डारीले गराइसकेका छन् । 
 
‘बस्तु तथा खाद्यान्न आयात गर्नका लागि खोलिने प्रतितपत्र अहिले खुल्नै छाडेको छ भन्दा हुन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘व्यापारिक गतिविधि घटेर कर्जाको माग पनि छैन ।’
 
अर्थतन्त्रको मुड बताउने सेयर बजार अहिलेसम्म खुल्न सकेको छैन भने भुकम्पपछि बैंकहरुले ‘टेन टु फाइव’ सेवा पनि दिन सकेका छैनन् । व्यवसायिक हिसाबले बनाइएका अधिकांस हाउजिङ तथा अपार्टमेन्टहरु चर्किएका छन् । पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । ठूलो क्षति भएका कारण गैरजीवन बिमा कम्पनीहरुमा क्षतिपुर्ति दावी गर्ने बढेका छन् । नयाँ बिमा गराउनेहरुको ‘इनक्वाइरी’ बढेको छ । 
 
हाउजिङ अपार्टमेन्ट
काठमाडौं उपत्यकाको अर्थतन्त्रको जोखिमका रुपमा हाउजिङ तथा अग्ला अपार्टमेन्टहरु देखिएका छन् । आवासिय घर (सिंगल होम) वाहेक अधिकांस हाउजिङ तथा अपार्टमेन्टहरु क्षतिग्रस्त भएका छन् ।
 
बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर बनाइएका यस्ता अपार्टमेन्टहरु चर्किएकाका कारण अर्थतन्त्रमा यसले जोखिम श्रृजना गरिदिएको छ । घरजग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले काठमाडौं उपत्यकामा १५ अर्ब रुपैयाँ बराबरको अपार्टमेन्टको क्षति भएको बताए ।
 
उनले दिएको तथ्यांकभित्र अग्ला अपार्टमेन्टका साथै व्यासायिक हिसावले बनाइएका व्यापारिक प्रतिस्ठान र मल तथा डिपार्टमेन्ट स्टोरहरु पनि पर्छन् । 
 
‘व्यवसायिक हिसावले बनाइएका आवासिय घरहरुमा समस्या छैन,’ उनले भने, ‘अग्ला अपार्टमेन्टहरु चर्किएर १५ अर्बको क्षति पुगेको हो ।’ संघमा ६४ वटा आवास निर्माण कम्पनीहरु सदस्य छन् । संघले ९५ प्रतिशत आवास निर्माण कम्पनीहरुको प्रतिनिधित्व वर्छ ।
 
अपार्टमेन्टको केही क्षति बिमा कम्पनीहरुले व्यहोर्ने छन्, तर त्यो पर्याप्त छैन । अधिकांस निर्माण कम्पनीहरुले पुरै सम्पतिको भन्दा पनि ऋण रकम बराबरको मात्र बिमा गराएका छन् । केहीको भने ऋण रकमभन्दा वढीको पनि बिमा छ ।
 
सर्वसाधारणलाई हस्तान्तरण गरिसकिएको अपार्टमेन्टहरुमध्ये अधिकांसको बिमा छैन । संघका अनुसार, अहिलेसम्म चार हजार आठ सय वटा अपार्टमेन्टहरु सर्वसाधारणलाई हस्तान्तरण गरिसकिएको छ । यसमध्ये जममा सात सयजति अपार्टमेन्टको मात्र बिमा छ, त्यो पनि ऋण रकम बराबरको मात्र ।
 
‘भएको क्षतिलाई पुर्ति गर्नका लागि बिमा रकमले मात्र भ्याउने देखिँदैन,’ श्रेष्ठले भने, ‘अधिकांस सर्वसाधारणले लिएका अपार्टमेन्टको बिमा नभएकाले क्षतिपुर्ति गर्न समस्या हुन्छ ।’ उनले अपार्टमेन्ट लिएर बस्नेहरुलाई पनि अरु घरमा बस्ने सरह राज्यले राहत दिनु पर्ने बताए । संघले यस्तो माग सरकारसँग गरिसकेको छ । 
 
बैंकहरुको पनि घरजग्गा तथा अपार्टमेन्टमा ठूलो लगानी छ । संरचना भत्किएर विक्री हुन छाडेपछि ऋण भुक्तानीमा समस्या आउने छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ८० लाख रुपैयाँभन्दा मुनिका आवासीय घरहरुमा एक खर्ब नौं अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ८० लाखभन्दा माथिका रियलस्टेट तथा अपार्टमेन्टहरुमा ८३ अर्ब ५७ करोड रुपैयाँ ऋण लगानी भएको छ । 
 
बैंक ऋण जोखिम
राष्ट्र बैंकको अध्ययनले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणसँग संकलन गर्ने कुल निक्षेपमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाबाटै गर्ने देखाएको छ । कुल ऋण लगानीमध्ये ४४ प्रतिशत पनि यहीँभित्र लगानी हुने गरेको छ ।
 
यहाँको अर्थतन्त्र खल्बलिएपछि ४४ प्रतिशत ऋण खाएको काठमाडौंबाट पैसा उठाउन समस्या भएको छ । ‘सोझै ऋण लगानी गरिएका जलविद्यूत्, हाउजिङ तथा अपार्टमेन्टलगायतबाट त बैंकलाई जोखिम छँदैछ,’ दाहालले भने, ‘यसवाहेका साइड इफेक्टहरु पनि बैंकिङमा देखिने छ ।’
 
अहिले निजी क्षेत्रले विकास गरेका दर्जनभन्दा वढी जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ । क्षति पुगेको र निर्माणको चरणमा रहेका आयोजनाका कामदार तथा कर्मचारीहरु पैरो जानसक्ने भयले काममा फर्किन सकेका छैनन् ।
 
हाउजिङ तथा अपार्टमेन्टमा १५ अर्बको क्षति भएको तथ्यांक आइसकेको छ । सर्वसाधारणले ऋण लिएर बनाएका घरहरुमा पनि क्षति पुगेको छ । सिनेमा हलहरु बन्द छन् । होटलहरु खाली छन् भने एयरलाइन्सहरुले धमाधम आफ्नो उडान कटौती गर्न थालेका छन् ।
 
गाडी तथा मोटर साइकलको विक्री मात्र घटेको छैन कस्मेटिक तथा विलाशितका बस्तु तथा सामानहरुको उपभोग लगभग शुन्यमा झरेको छ । 
 
‘अहिले अर्थतन्त्र ‘कोमा’ मा गएको छ भन्दा पनि हुन्छ,’ दाहालले भने, ‘अर्थतन्त्र चलायमान हुनका लागि दसैंसम्म कुर्नै पर्छ ।’
 
बैंकहरुले लगानी गरेको ऋण नउठेर आम्दानी घट्ने मात्र होइन शुल्क तथा कमिसनमा आधारित आम्दानी पनि घट्ने देखिन्छ । बैंकहरुले अहिले रेमिटेन्समा लिने शुल्क मिनाहा गरेका छन् । एक बैंकको कार्ड अर्कोमा प्रयोग गर्दा लाग्ने शुल्क पनि शुन्य छ । 
 
‘ऋण लगानीले मात्र होइन अन्य आम्दानीका स्रोतहरु घटेर पनि बैंकको आम्दानी प्रभावित हुने देखिन्छ,’ दाहालले भने, ‘सारा व्यवसायहरु सुकेका कारण बैंकको नियमित ब्याज नउठ्ने देखिन्छ । नयाँ व्यवसाय तथा उद्योगधन्दा तत्काल आउने सम्भावना टरेकोे छ । यसको सोझो असर असार मसान्तको वासलातमा देखिन्छ ।’
 
बैंकरहरुले निर्माण क्षेत्रबाट भने केही आश गरेका छन् । पुननिर्माणका लागि धमाधम काम हुने भएकाले त्यतातिर लगानी गर्न सकिने बैंकहरुको  भनाइ छ । ‘निर्माण क्षेत्रले केही आशावादी बनाएको छ,’ भन्डारीले भने, ‘काम धमाधम हुन थालेपछि बैंकको ऋण लगानी हुन्छ भने  त्यसबाट नियमित आम्दानी पनि हुन थाल्छ ।’ 
 
पर्यटनमा आहत
‘अर्थतन्त्रमा सबैबाट धेरै थोरै असर त पर्छ तर ठूलो असर पर्यटन क्षेत्रमा देखिन्छजस्तो लाग्छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने ।
 
अहिले अधिकांस तारे र ठूला होटलहरु खाली हुन थालेका छन् । पर्यटक आवागमन घटेपछि अधिकांस एयरलाइन्सहरुले आफ्नो उडान कटौती गर्न थालिसकेका छन् । रिसोर्टहरु पनि ग्राहकवीहिन छन् । कतिपय होटलका भौतिक संरचनाहरुमा क्षति पुगेको छ । भुकम्पछि कमजोर बनेको पुर्वाधार र पर्यटकको भयका कारण नेपाल आउने पर्यटकको संख्या घट्ने छ ।
 
गुणस्तरीय पर्यटक होटलको प्रमुख आम्दानी हो । पर्यटक घटेर आम्दानी सुक्न  थालेपछि आर्थिक कृयाकलाप घट्छ भने अर्कोतिर उनीहरुको ऋण तिर्ने क्षमतामा असर पर्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले साना ठूला होटलमा ४१ अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

Tata
GBIME
NLIC