BIZMANDU
www.bizmandu.com

नेपालमा स्थापना भयो क्रेडिट रेटिङ एजेन्सी, भारतीय संयुक्त लगानीको कम्पनीले कारोवार सुरु

२०६९ असोज १८

काठमाडौं । नेपाल धितोपत्र वोर्डले सेयर जारी गर्ने कम्पनीहरुको मूल्यांकनका लागि क्रेडिट रेटिङ एजेन्सी सञ्चालन अनुमति दिएको छ । वोर्डले क्रेडिट रेटिङको काम गर्न भारतीय संयुक्त लगानीको कम्पनी इक्रा नेपाललाई अनुमति दिएको हो । कम्पनीले आगामी दुई सातापछि कारोबार सञ्चालन गर्ने छ । वोर्डबाट सञ्चालन अनुमति पाएपछि इक्रा नेपालका प्रबन्ध निर्देशक दिपकराज काफ्लेले पहिलो कारोबार सेयर र ऋणपत्रकै रेटिङबट सुरु गर्ने बताए । उनले अन्तराष्ट्रिय रेटिङका अभ्यासहरु अनुसरण गरेर अगाडि वढ्ने जानकारी दिए ।
इक्रालाई अनुमति पत्र दिदै धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले कम्पनी सञ्चालनमा आएपछि सबै संस्थाहरुले सेयर जारी गर्नु अघि क्रेडिट रेटिङ गराउनु पर्ने बताए । क्रेडिट रेटिङ एजेन्सी सञ्चालन आएपछि ३ करोडभन्दा माथिको सेयरको सार्वजनिक तथा हकप्रद निस्काशनअघि अनिवार्य रुपमा आफ्नो रेटिङ गराउनु पर्ने हुन्छ ।
अग्राधिकार सेयर, डिवेञ्चर तथा अन्य ऋणपत्र निष्काशन, अङ्कित मूल्यमा प्रिमियम थप गरेर गरिने प्राथमिक निष्काशन, फर्दर पब्लिक इस्यू गर्नुअघि पनि यस्तो रेटिङ गराउनु पर्ने हुन्छ । नियमावली अनुसार प्रत्येक क्रेडिट रेटिङ संस्थाले ग्राहकले स्वीकार गरेको रेटिङ्ग कम्तीमा तीन बर्षसम्म निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ । यसरी रेटिङ्ग गर्दा पहिला गरेको रेटिङ्गमा परिवर्तन भए यथाशिघ्र सार्वजनिक गर्नुपर्ने हुन्छ ।  
इक्रा नेपालमा भारतीय क्रेडिट रेटिङ् एजेन्सी कम्पनीको ५१ प्रतिशत लगानी रहेको छ । नियमावलीले कम्पनी स्थापनाका लागि ५ बर्षदेखि क्रेडिट रेटिङ एजेन्सीको रुपमा काम गरेको बिदेशी कम्पनीको संलग्नता अनिवार्य गरेको छ । विदेशी कम्पनीले न्युनतम २५ देखि अधिकतम ७५ प्रतिशत लगानी अनिवार्य गरेको छ । इक्रा नेपालको बाँकी ४९ प्रतिशतमा कर्जा सुचना केन्द्र, केही वाणिज्य बैङ्कहरुको लगानी रहेको छ । कम्पनीमा कर्जा सुचना केन्द्रको भने ५ प्रतिशत लगानी छ । बोर्डका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको स्टक एक्सचेन्ज प्राथमिकतामा नरहेको बताए ।  उनले अहिलेको नेपाल स्टक एक्सचेन्जलाई पूर्ण स्वचालित प्रक्रियामा जाने तयारी भइरहेकाले केही महिना नयाँ एक्सचेन्जको बारेमा सोच्न नसकिने बताए ।

Tata
GBIME
Nepal Life