विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा ग¥र्यो । यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो ।
यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ ।
बाँसबाट निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइलेट घर बाहिर बनाउनु पर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझै सस्तो हुन्छ । आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ । मुलुकभित्रै बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।
‘दुई कोठाको घर डेढ लाखमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले बिजमान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले सस्तो भएको हो ।’
भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ ।
‘१५ दिनमा फाउन्डेसनको काम गर्नुपर्छ । अर्को १५ दिनमा बाँसबाट बनेका कच्चा पदार्थ ल्याएर जडान गर्छौ,’ उनले भने, ‘भूकम्प पीडितका धेरै घर ध्वस्त भएका छन् । त्यसका लागि यो घर सबैभन्दा उत्तम छ ।’ कम्पनीले दुई बेडरुम, किचेन र ट्वाइलेटसहितको घर पनि निर्माण गरिरहेको छ । यो घरको मूल्य भने साढे तीन लाख रुपैयाँ पर्छ ।
‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौ ।’ गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ । कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ ।
कसरी बन्छ घर ?
अरु घरजस्तै फाउन्डेस ढुंगा, सिमेन्ट र ईटाबाट तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै विम, चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ ।
३० वर्ष आयु
कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ । ‘यो घरको ग्यारेन्टी ३० वर्षको गरेका छौ । तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो ।’
घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा किरा लाग्ने समस्यानै हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने समस्या पनि कम हुन्छ ।
यस्तो हुन्छ घर
साढे तीन लाखमा दुई वटा कोठा, किचेन र ट्वाइलेट हुन्छ । घर ३ सय ६० स्क्वायर फिटको हुन्छ । कम्पनीले घर निर्माण गर्दा चारवटा एलईडी वल्व, ट्वाइलेटको प्यान, किचेनमा सिङ्क समेत दिन्छ । बस्न मिल्ने घर बनाएर ग्राहकलाई दिने दावी कम्पनीले गरेको छ ।
‘हामीले निर्माण गरेको घर ग्राहकले केही नगरी बस्न मिल्छ । घर निर्माण हुँदानै विद्युतका सबै सामाग्री जोडिसकेको हुन्छ,’ जोशीले भने, ‘एउटा पूर्ण घर ग्राहकले पाउँछन् ।’
कहाँ छन् यस्ता घर
कम्पनीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ । कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि यस्ता घर बनाएको हो ।
कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हललगायत निर्माण गरिसकेको छ ।
बाँसलाई समस्या छैन
कम्पनीका अनुसार अहिले तत्कालका लागि स्वदेशी बाँसलेनै घर निर्माण गर्न सकिन्छ ।
‘हामीलाई आवश्यक पर्ने बाँस स्वदेशमै छ । भूकम्प गएपछि हामीले तत्कालै यो घर निर्माणका लागि २० ट्रक बाँस अर्डर गरिसकेका छौ,’ उनले भने, ‘पूर्वी नेपालबाट आवश्यक बाँस ल्याउनसक्ने अवस्था छ ।’ नेपालबाट मात्रै आपुर्ति हुन सकेन भने भारतबाट बाँस ल्याउन सकिने कम्पनीले जनाएको छ ।
‘बाँसको लागि कुनै समस्या छैन । भारतका सिमावर्ती क्षेत्र सिलगुढी, दाजर्लिङ लगायतको क्षेत्रमा प्रशस्तै बाँस पाइन्छ,’ उनले भने, ‘ त्यहाँबाट सजिलै बाँस ल्याउन सक्छौ ।’ नेपालमा मात्रै ६३ हजार हेक्टरमा बाँस भएको अनुमान छ । यसमा ६० प्रतिशत बाँस जंगलमा छ ।
बाँस वातावरणमैत्री निर्माण सामाग्रीको रुपमा लिइन्छ । यो चाँडै उत्पादन हुने बनस्पतिमा पर्छ । संयुक्त राष्ट्रसंघको युएन हेबिट्याटले अल्पविकसित मुलुकमा बाँसबाट लाखौ घर बनाएको छ ।
विदेशमा पनि बाँसकै घर
युएन हेबिट्याटले अल्पविकसित मुलुकका गरिबहरुलाई बाँसबाट राम्रो घर बनाएको छ । पछिल्लो समयमा पुलदेखि विमानस्थलसम्ममा पनि बाँस प्रयोग भएको छ । सस्तो, टिकाउ र सजिलै बन्ने भएकोले गरिबको लागि मात्रै होइन अहिले अत्याधुनिक घरहरु पनि बाँसबाटै निर्माण भइरहेका छन् ।
युरोप, दक्षिण अमेरिका र केही एसियाली मुलुकमा बाँसकै पुल, विमानस्थल र घरहरु समेत निर्माण भएका छन् । यसले विस्तारै आधुनिक निर्माणका सामाग्रीलाई समेत विस्थापित गरिरहेको छ । पछिल्लो समयमा ल्यापटप, मोबाइल फोन र अरु सामग्री समेत बाँसबाट निर्माण भएका छन् ।
पछिल्लो समयमा बाँसका घरले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ सर्टिफिकेट समेत पाइसकेका छन् । बाँसको घर गरिब होइन धनीको पनि भइसकेको र बाँसप्रति आम उपभोक्ता आर्कषित हुन थालेको जोशी बताउँछन् ।
‘डेढ लाखदेखि डेढ करोडसम्मको घर बनाउन सकिन्छ । हामीले सस्तो मात्रै होइन कोही व्यक्तिलाई अत्याधुनिक घर चाहिएपनि बनाउन सक्छौ,’ उनले भने, ‘विदेशमा ठूल–ठूला घर, विश्वविद्यालय समेत बाँसबाट बनेका छन् ।
भूकम्पपछि बाँस सम्वन्धी काम गरिरहेको संस्था इन्टरनेसनल नेटवर्क फर ब्याम्बोले दश हजार घर बनाउन सकिने बारेमा अध्ययन गर्न एउटा टोली नेपाल पठाउन लागेको छ । यही संस्थाले इक्वेडर, कोलम्बिया, पेरु लगायतका मुलुकमा घर बनाइसकेको छ । यो संस्थाले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार घर निर्माण गरिदिने जोशीले जानकारी दिए ।